Comments Add Comment
छापामा आज :

सभामुखमा ओली लचक हुने संकेत, डेपुटी गभर्नरको सफाइले अर्थमन्त्रीलाई नैतिक संकट

३ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबारे मुख्य समाचार बनाएका छन् भने केहीले राष्ट्र बैंकका डेपुटी गभर्नरलाई मन्त्रिपरिषद्ले दिएको सफाइ, सफाइ दिने निर्णयले अर्थमन्त्रीमाथि परेको नैतिक संकटबारे चर्चा गरेका छन् । सभामुख चयनमा ओली लचक देखिएको खबर पनि आजका अखबारहरूले छापेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान तर्साउने अस्त्र बनेको भन्दै कान्तिपुरले चिन्ता व्यक्त गरेको छ । गैरकानूनी आर्जनलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउने, त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यको अनुसन्धान गर्न स्थापना गरिएको सम्पत्ति शुदीकरण अनुसन्धान विभागलाई सरकारले राजनीतिक–प्रशासनिक कार्डका रूपमा प्रयोग गर्न खोज्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष कान्तिपुरको छ ।

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री केपी शर्मा ओली लचक देखिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । स्रोतको हवाला दिँदै लेखिएको समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नुभएको छ,’ एक नेतालाई कोट गर्दै कान्तिपुरले लेखेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठे मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको खबर अन्नपूर्णमा छ ।

कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकालेको छ ।

मन्त्रिपरिषदको यस्तो निर्णयसँगै अन्नपूर्णले अर्थमन्त्रीमाथि नैतिक संकट आइलागेको निष्कर्ष निकालेको छ । ‘यो छानबिन प्रकरणमा कि अर्थमन्त्री सही छन् कि डेपुटी गभर्नर श्रेष्ठ’, अन्नपूर्णले लेखेको छ ।

सरकारी मुखपत्र गोरखापत्रमा सडकको स्वीकृतिसँगै बिजुलीको तार भूमिगत हुने भएको खबर छ भने राजधानीले स्थानीय तहको भ्रष्टाचारबारे केलाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment