Comments Add Comment
हिमपहिरोमा बेपत्ताको अवस्थाः :

हिउँ पग्लिएपछि मात्रै भन्न सकिन्छ !

५ माघ, पोखरा । २५ वर्षदेखि अन्नपूर्ण पदमार्गमा गाइडको काम गरिरहेका शेषकान्त शर्माको अनुभव छ, हिमालयदेखि हिंकु केभ र देउरालीसम्म सधैंभरि उच्च जोखिम हुने क्षेत्र हो । हिउँद र बर्षा दुबै याममा हिंकु केभ आसपासमा पहिरो खस्छ र बर्सेनी मानवीय क्षति हुँदै आएको छ । शर्माकाअनुसार दशैंताका मात्रै एक जना नेपाली हिंकु केभ क्षेत्रमै पहिरोमा परेका थिए ।

कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिंकु केभ वरपर शुक्रबार ठाउँठाउँमा पहिरो खस्दा तीन नेपाली गाइड र चार कोरियाली नागरिक हराइरहेका छन् । हिमालयभन्दा माथि करिब ३ हजार मिटर उचाइमा रहेको हिंकु केभ वरपर ७ जना हिमपहिरोमा परेको यकिन भएको छ ।

हिंकुको पहिरोमा परेर बाँच्न सफल भएका जगदीश खत्रीका अनुसार पदमार्गमा हिँडिरहेका मानिसहरुको लस्करमा हिमपहिरो खसेको थियो । ट्रेकिङ एजेन्सीमार्फत गएका पर्यटकबाहेक आफ्नै हिसाबले पदमार्गमा जाने अन्य नेपाली पर्यटक पनि हिमपहिरोमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

तर यसबारे यकिन सूचना छैन । ट्रेकिङ एजेन्सिज एसोसिएन (टान) पोखराबाट सोमबारमात्र पहिरो गएको स्थानमा पुगेका टोलीका विजय केसीकाअनुसार हिमालय क्षेत्रमा ३ वटा पहिरो गएका छन् ।

माथिबाट खसेको ठूलो एउटा पहिरो तल आइपुग्दा ३ तिर छुट्टिएका छन् । हिंकु केभ आसपास हिमालय र देउराली क्षेत्रमा साना ठूला गरी यस्ता ६ वटा हिम पहिरो खसेको उनले जानकारी दिए । हिमपहिरोमा दक्षिण कोरियाली नागरिक जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक, नेपाली गाइड सरोज परियार, मीनबहादुर लामा र टिरिङ भोटे हराइरहेका छन् ।

हिंकु केभ आसपासको अलि सानो पहिरामो नेपाली गाइड सरोज, ठूलो पहिरोमा ४ कोरियाली नागरिक र २ नेपाली गाइड परेको प्रत्येक्षदर्शी र स्थानीयले बताएको घटनास्थल पुगेका केसीले जानकारी दिए । तर अहिले पनि हिउँ परिरहेका कारण तत्काल उद्धारको सम्भावना नरहेको उनले बताए । ‘पहिरो गएको क्षेत्रमा पुगेर छोम्रुङ गाउँ फर्किएका छौं । अहिले पनि त्यो क्षेत्रमा हिँउ परिरहेको छ,’ केसीले भने, ‘तत्काल उद्धार गर्न सक्ने उपाय छैन ।’

सरोज परियार सानो हिमपहिरोमा परेका कारण खोजी गर्न सकिने सम्भावना देखिएपनि अन्न दुई नेपाली र चार कोरियन ठूलो पहिरोमा पुरिएको अनुमान गरिएको छ ।उनीअरुलाई खोज्न समय लाग्छ ।

हिउँ नपग्लिएसम्म यसै भन्न सकिन्न

हिउँमा पुरिएकाहरुको तत्काल उद्धार गर्ने विकल्प नभएकाले अवस्थाबारे यसै भन्न नसकिने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । ‘हिंकु केभको परिवरी हिमपहिरो गएको हो । हिउँ नपग्लिएसम्म केही भन्न सक्ने अवस्था छैन,’ अध्यक्ष गुरुङले बताए ।

हिउँ पग्लिन केही समय लाग्ने भएकाले अहिले नै हिमपहिरोमा हराइरहेकाहरुको अवस्था यसै भन्न नसकिने टान पोखराका अध्यक्ष हरि भुजेलले बताए । पहिरो गएको क्षेत्रको भौगोलिक अवस्था पनि जोखिमयुक्त रहेकाले पनि समस्या रहेको उनको भनाइ छ । ‘ट्रेकिङ एजेन्सी र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) काटेर गएका पर्यटकको एकिन भएपनि व्यक्तिगत हिसाबले गएका पर्यटकबारे एकिन छैन,’ भुजेलले भने, ‘पहिरोमा पर्नेको संख्या बढ्नसक्छ ।’

विगतमा हिउँमा परेका पर्यटकको अवस्थामा असारमा पुगेरमात्रै पत्ता लागेको टान पोखराका निवर्तमान अध्यक्ष दीपक अधिकारीले सुनाए । ‘अहिले पनि न पर्यटकको एकिन तथ्याङ्क छ, न यस्तै अवस्थामा छन् भनेर पत्ता लगाउन सक्ने प्रविधि छ,’ अधिकारीले भने, ‘ट्रेकिङ कम्पनीबाट गएकाहरु सम्पर्कमा आएका छन् । आफैं गएकाहरुको अवस्था के छ भन्न सकिँदैन ।’

अन्नपूर्ण सर्किट र उच्च हिमाली क्षेत्रमा पूर्वानुमान उपकरण नहुँदा पनि सतर्क गराउन नसकिएको अध्यक्ष भुजेलले बताए । अन्नपूर्ण सर्किटमै ६ वर्षअघि हुदहुद आँधीका कारण ४७ जनाले ज्यान गुमाएका थिए । वातावरणसम्बन्धी एप्सबाट पूर्वानुमान हेरेर पदमार्गमा पठाउन सकिने भएपनि तत्कालको जानकारी दिने र उद्धारमा सहयोग पुग्ने उपकरण जडान हुनुपर्ने उनीहरुको भनाइ थियो ।

मेटल डिटेक्टरले हिमपहिरोमा परेका मानिसहरु कति गहिराइमा छन् भन्ने पत्तना लगाउने प्रविधि नेपालमा भएपनि अझैसम्म प्रयोग गरिएको छैन । ‘मेटल डिटेक्टरमार्फत हिमपहिरोमा परेका मानिसको अवस्था पत्ता लगाउने प्रविधि हामीसँग छ, तर घटनास्थलमा पुग्नै समस्या भएकाले प्रयोगमा ल्याउन सकेनौं’ पर्वातरोहण संघका अध्यक्ष सन्तवीर लामाले भने ।

सिम्रिक एयरलाइन्ससँग पनि त्यस्तो प्रविधि भएकाले बुधबार फेरि नेपाली सेनासहित टोली घटनास्थलतिर जाने सल्लाह भइरहेको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।

उद्दारमा उदासिन सरकार

शुक्रबार हिमपहिरो गएको भए पनि आइतबारसम्म सरकारी तथा गैरसरकारी नियम पनि अनुमान मात्रमा सीमित थिए । कति पर्यटक हिमपहिरोमा परेका छन्, कति अन्नपूर्ण बेसक्याम्पतर्फ गएका छन् र अहिले उनीहरुको अवस्था के छ भन्ने कसैलाई पत्तो थिएन ।

घटनास्थल आसपासका ठाउँ सञ्चार सम्पर्क विच्छेद थियो । अन्नपूर्ण संरक्षण आयोजना एक्याबको चेक पोस्ट, स्थानीय होटल सञ्चालक र वडा नम्बर ११ का जनप्रतिनिधिले अवस्था बताइरहेका थिए । शनिबारसम्म ट्रेकिङ एजिन्सीबाट त्यो क्षेत्रमा गएर सम्पर्कबाहिर रहेका पर्यटकको जानकारी आउन थाल्यो । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबले त्यस क्षेत्रका पर्यटकसँग सम्पर्क र समन्वय गरिरहेको थियो ।

शनिबार रातीसम्म हिमपहिरोमा परेका ७ जनाको पहिचान खुलेको थियो । आफ्ना पर्यटक हिमपहिरोमा परेको जानकारी पाउनसाथ आइतबार बिहानै कोरियन दूतावासले हेलिकप्टर पठायो ।

तर नेपालका सरकारी निकायले पर्यटकको अवस्था बुझ्ने र उद्दारमा बेवास्ता गरेको निजी क्षेत्रका व्यवसायीले गुनासो गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सरकार भने उद्धार र पर्यटकको खोजीमा उदासिन बनेको टान पोखराका अध्यक्ष भुजेलले गुनासो गरे । ‘कोरियन दूतावासले आफ्ना पर्यटक खोज्न हेलिकप्टर पठाएको छ । निजी कम्पनीले हेलिकप्टर उडाएर उद्धार गरिरहेका छन् तर नेपाल पर्यटन बोर्ड र सरकारले केही गर्नु पर्दैन ?’ भुजेलले प्रश्न गरे, ‘राज्यले चाहेको भए उद्धारका कार्यक्रम मात्रै नभएर २/३ वटा हेलिकप्टर आफैं उडाउन सक्थ्यो ।’

नेपालमा सरकारले धेरैभन्दा धेरै पर्यटक बोलाइरहेका बेला उद्धार, अवस्था बुझ्ने र यथार्थ सार्वजनिक गर्नेतिर ध्यान नदिनु दुर्भाग्यपूर्ण भएको व्यवसायीको भनाइ छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघ सरकार, स्थानीय तह र प्रहरीसँग समन्वय गरेको बताए ।

तर घटनाबारे यथार्थ बुझ्ने र अवस्था सार्वजनिक गर्ने काम संघीय सरकार तथा सरकारी निकायले गरेका छैनन् ।

जबकी आइतबार मात्र तीन निजी कम्पनीका हेलिकप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ«े बेसक्याम्प र देउराली क्षेत्रबाट गाइड र पर्यटक गरी १४० लाई पोखरा र छोम्रुङमा पुर्‍याइएको थियो । ६४ जनालाई पोखरा र बाँकीलाई छोम्रुङमा लगिएको अध्यक्ष गुरुङले बताए । नेपाली पर्यटकलाई निःशुल्क र विदेशी पर्यटकबाट थोरै शुल्क लिएर उद्धार गरिएको उनको भनाइ छ ।

यो पनि पढ्नुस् 

‘मान्छेको लस्करमाथि हिमपहिरो खस्यो, खोलामा पुगेर बाँचें’

अन्नपूर्ण सर्किटको ८ ठाउँमा हिमपहिरो, ७३ जनाको उद्दार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment