
६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन् । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भएका कारण राष्ट्र बैंकको काम कारबाहीबाट भने उनी फागुनमै बाहिरिन सक्छन् ।
त्यस अवधिमा सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति गर्नु पर्नेछ । गभर्नरको कार्यकाल बाँकी ३ महिना पनि नरहेको अवस्थामा यतिबेला गभर्नर नियुक्तिका लागि राजनीतिक दौडधुपहरु तीव्र भएको छ ।
गभर्नरको आकांक्षीका रुपमा देखिएकाहरु यतिबेला शक्तिकेन्द्रको शरणमा पुगेका छन् । यही बेला अनियमितताको आरोप लागेका डेपुटी भगर्नर शिवराज श्रेष्ठको पुनर्वहालीले नयाँ परिस्थिति विकास भएको छ ।
श्रेष्ठले अनियमितता गरेको भन्दै छानबिन भएकोमा मन्त्रिपरिषद्ले निर्णय नै गरेर उनलाई सफाइ दिएको छ । श्रेष्ठको पुनर्वहालीसँगै गभर्नर बन्ने रेसमा सामेल भएका छन् ।
गभर्नरको प्रवल दाबेदार भनेको बहालवाला डेपुटी गभर्नरहरु नै हुन्छन् । गभर्नर नियुक्तिका लागि अर्थमन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नु पर्ने र त्यसमा एकजना बहालवाला डेपुटी गभर्नर हुनै पर्ने बाध्यकारी व्यवस्था छ ।
डेपुटी गभर्नर श्रेष्ठको पुनर्वहाली नभएको भए चिन्तामणि शिवाकोटी स्वतः सिफारिस हुने थिए । तर श्रेष्ठको पुनर्वहालीसँगै सिफारिसमा को पर्लान् भन्ने द्विविधा देखिएको छ । चिन्तामणि नेकपा त्यसमा पनि पूर्वएमाले निकट व्यक्ति हुन् भने शिवराज नेपाली कांग्रेस निकट ।
तर शिवराज प्रधानमन्त्री केपी ओलीकी श्रीमती राधिका शाक्यसँग नजिक रहेको श्रोत बताउँछ । त्यसैले उनको दावेदारी कमजोर छैन । एक हिसाबले श्रेष्ठको पुनर्वहालीसँगै ‘गेम चेन्ज’ भएको छ ।
नयाँ गभर्नरमा कसको सम्भावना ?
अहिले गभर्नरको मुख्य दाबेदारको रुपमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी देखिएका छन् । उनीसहित राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशकद्वय मीनबहादुर श्रेष्ठ, भाष्करमणि ज्ञवालीलगायत छन् ।
उता पुनर्वहाली भएसँगै डेपुटी गभर्नर श्रेष्ठले अब आफू गभर्नर बन्ने सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । आफूविपरुद्ध छानबिन समिति गठन हुनुपूर्व नै उनलेउ आफू गभर्नरको दाबेदार भएको बताएका थिए । गभर्नर हुनबाट रोक्नकै लागि आफूलाई फसाउन खोजिएको उनको दाबी थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडा भने बहालबाला अर्थसचिव डा. राजन खनाललाई गभर्नर बनाउने पक्षमा रहेको स्रोतले बताएको छ ।
कांग्रेसनिकट गभर्नर नेपालसँग राम्रो सम्बन्ध नभएका अर्थमन्त्री अब आफ्नो अनुकुल व्यक्तिलाई सो पदमा ल्याउन चाहन्छन् ।
स्रोतका अनुसार आफूलाई धेरै सहयोग गरेका कारण खनाललाई उनले गभर्नर बनाउने आश्वासनसमेत दिएका छन् । तर खनाल आफैले चाहिँ आफू गभर्नरको दाबेदार नभएको बताएका छन् ।
उता लगानी बोर्डका सीईओ अधिकारी अघिल्लोपटक पनि गभर्नरको बन्ने लाइनमा थिए । यसपाली पनि उनी आशावादी बनेका छन् ।
अर्का प्रवल दाबेदार मिनबहादुर श्रेष्ठ हुन् । उनी पूर्वमाओवादी निकट मानिन्छन् । यदि गभर्नर पूर्वमाओवादीको कोटामा परे मिनबहादुरकै भाग्य चम्कने श्रोत बताउँछ ।
गभर्नरको आकांक्षीका रुपमा हेरिएका भाष्करमणि नेताहरुको नजिक छैनन् । यसकारण उनको सम्भावना अत्यन्तै कम रहेको अर्थका अधिकारीहरु बताउँछन् ।
‘सिफारिसमा केही समस्या हुने त देखियो तर सिवाकोटीजी कोसम्भावना अधिक छ’ नेकपाका एक नेताले भने, ‘यदि पूर्वमाओवादीको कोटामा पर्यो वा ठूलै चलखेल भएन भने अबको गभर्नर सिवाकोटी नै हुन् ।’
प्रतिक्रिया 4