९ माघ, बुटवल । न्यू होराइजन क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा तिरुपति क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै न्यू होराइजन सेमिफाइनल प्रवेश गरेको हो ।
१०६ रनको लक्ष्य न्यू होराइजनले २१ दशमलब ४ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
टस जितेर व्याटिङ गरेको तिरुपतिले निर्धारित २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । उसका लागि विराट भण्डारीले ४१, महेन्द्र सुवेदीले ३२ (नटआउट), र माधव बस्नेतले १४ रनको योगदान गरे । बलिङतर्फ न्यू होराइजनका प्रदीप ऐरीले २ र कृष्ण पराजुलीले १ विकेट लिए ।
न्यू होराइजनका शक्ति गौचनले नटआउट २६, प्रदीप ऐरीले २२, गोविन्द केसीले नटआउट १३, विशाल खत्रीले १३ र निर्मल थापाले ११ रनको योगदान गरे । बलिङमा तिरुपतिका तुलबहादुर थापा, पदम ज्ञवाली र इस्तिकार आलमले २÷२ तथा हेमन्त थापाले १ विकेट लिए ।
खेलमा न्यू होराइजनका प्रदीप ऐरी म्यान अफ द म्याच घोषित भए । शुक्रबार गु्रप सी अन्तर्गतको खेल जितगढी क्रिकेट क्लब बेलबास र साई ग्लोबल क्रिकेट क्लब भैरहवाबीच हुनेछ ।
रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
प्रतियोगितामा पहिलो हुनेलाई ८० हजार, दोस्रो हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।
त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैयाँ पुरस्कार सौजन्य गरेका छन् ।
प्रतिक्रिया 4