
९ माघ, विराटनगर । नेपाली कांग्रेसले आफ्नो नेतृत्वको स्थानीय तहलाई केन्द्र र प्रदेश सरकारले विभेद गरेको गुनासो गरेको छ ।
कांग्रेसले जितेका स्थानीय तहमा संघ र प्रदेश सरकारले कम बजेट पठाउने र कार्य सञ्चालनमा पनि समस्या सिर्जना गरिदिने गरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गुनासो गरेका छन् ।
प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलद्वारा विराटगरमा आयोजित प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयक कार्यक्रममा कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखले आफूहरुलाई काम गर्न समस्या भएको बताएका हुन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश १ मा नेपाली कांग्रेस समर्थित स्थानीय तहका प्रमुख र उपप्रमुखको अब छुट्टै फोरम गठन गरेर दबाब दिनुपर्ने बताए ।
स्थानीय तहको छुट्टै महासंघ भए पनि त्यहाँ नेकपाकै बहुमत भएकाले आफ्ना एजेन्डा उठाउन र माग राख्न छुट्टै फोरम चाहिने धारणा राखे ।
मेयर पराजुलीले विराटनगर महानगरपालिकामा कांग्रेसले जितेका कारण केन्द्र सरकारले उपमहानगरपालिकालाई भन्दा पनि कम बजेट दिएको गुनासो गरे ।
कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले कांग्रेसले जितेको स्थानीय तहमा प्रदेशबाट जाने बजेट सम्बन्धित स्थानीय सरकारको प्रमुखलाई थाहा नदिई नेकपाका स्थानीय कार्याकर्तामार्फत खर्च गरिएको गुनासो गरे ।
एैसेलुखंर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले कांग्रेसले जितेका स्थानीय तहबाट कर्मचारी, डाक्टर, अहेब र प्राविधिक कर्मचारीको सरुवा २–२ महिनामा गरेर काम गर्नै असहज अवस्था सिर्जना गरिदिएको बताए ।
दुहबी नगरपालिकाकी उपाध्यक्ष सुनिता दाहाल शाहले पार्टी नेतृत्वले महिला नेतृलाई अवसर दिन कन्जुस्याईं गरेको बताइन् ।
कार्यक्रममा नेपाली काग्रेसका नेता मीनेन्द्र रिजालले जनतालाई लाभ पुग्ने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिए ।
उनले केन्द्र र प्रदेश सरकारले गरेको विभेदका विषयमा केन्द्रीय तहमा कुरा गरी समस्याको हल गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4