Comments Add Comment

जीवन जिउने कला : मानिस बन्न भुलेका त छैनौँ ?

हामीले आफूलाई बाहेक अरू कसैलाई बदल्न सक्दैनौं

दिनमा सबैभन्दा सजिलो चिज छ भने त्यो होला अरूलाई दिने अर्ति र उपदेश । हामीले देखेको विश्वमा धेरै परिवर्तन आइसक्यो । तर, हामीले दिने सुझाव र सल्लाहमा परिवर्तन आएको छैन ।

सुझाव आफूले पालना गर्न गाह्रो हुन्छ, तर दिन सजिलो हुन्छ । त्यसैले होला, महात्मा गान्धीको एउटा सुन्दर भनाइले हामीलाई बार–बार याद दिलाउँछ, ‘संसार सुध्रिएजस्तो देख्न चाहन्छौ, त्यो आफैंबाट सुरु गर ।’

यसको अर्थ, जीवनलाई परमात्माको र अस्तित्वको उपहार मानेर उत्सवपूर्ण जीवन जिउन छोडी, जीवनलाई एउटा आकांक्षामा राख्ने र जीवनलाई सधैं अभाव र अपूर्ण ठान्ने मानिसप्रति सिधा सूत्र हो यो महात्मा गान्धीको ।

जीवनका सफलताका सूत्रहरू, धन कसरी कमाउने, असल नेतृत्व कसरी लिने, शान्ति र सुखी कसरी बन्ने, शरीर स्वस्थ कसरी राख्ने आदि आदि अरूले लेखेका किताब पढेर त्यस्तै बन्ने कोसिस गर्छौं हामी ।

आफूलाई बाहेक हामीले अरू कसैलाई बदल्न सक्दैनौं । आफूबाहेक कसैलाई प्रेरित र रूपान्तरण गर्न पनि सक्दैनौं । तर, हाम्रो जीवनको एक चौथाइ समय सारा व्यक्तिहरू र अरूलाई नै बदल्नमा व्यथित गरिरहेका हुन्छौं । श्रीमती श्रीमानलाई बदल्न लागिपरेकी हुन्छिन् । श्रीमान् श्रीमतीलाई बदल्ने चेष्टा जीवनभरि गरिरहन्छन् । आमाबुबाले छोराछोरीलाई, प्रेमीले प्रेमिकालाई एवं प्रेमिकाले प्रेमीलाई ।

राजनीति त अरूलाई बदल्ने प्रयासको व्यावहारिक रूप हो । राजनीतिको मर्म नै अरूमा दोष देख्नु र उसलाई बदल्ने प्रयास गर्नुमा छ । त्यसैकारणले त राजनीति कहिल्यै पनि जीवन विकासको उचित मार्ग बन्न सकेको पाइँदैन ।

चाणक्यले भन्नुभएजस्तै ‘परमात्मा चित्रमा होइन, चरित्रमा बसेको हुन्छ ।’ त्यसैले आफ्नै आत्मालाई मन्दिर बनाउने चरित्र निर्माण स्वयंले गर्नु जरुरी छ ।

हामी बाहिर देख्दा जति सुन्दर छौँ, जति सुन्दर पहिरन र सुन्दर पद, सम्पत्ति प्राप्त गरे पनि भित्रको चरित्र कस्तो छ, स्वयंलाई मात्र थाहा हुन्छ । स्वयंको त्यो चरित्र थाहा पाउन पनि आफ्नै किताब आफैंले पढ्नु जरुरी हुन्छ ।

हामी चित्र परिवर्तन गर्न लागिपर्छौं । तर, चरित्र परिवर्तन गर्न भुल्छौँ । ती किताबका पाना, जसमा हाम्रा चरित्रहरूले कुन–कुन ठाउँमा कस्ता भूमिका निभाए र हाम्रै चरित्रका कारण कस्ता–कस्ता असल या खराब कर्म गर्न हामीले स्वयंलाई प्रेरित गर्‍र्यौं ? एकपटक आँखा चिम्लेर आफैंले आफैंलाई प्रश्न गर्यौं भने थाहा लाग्छ, जुन चरित्रको प्रस्तुत नगर्दा पनि बेश हुन्थ्यो । तर, हामीले गरिसक्यौं ।

केही धैर्यता र कुशलता अनि होशपूर्ण अवस्था अपनाएर द्वैध चरित्रको प्रस्तुति नदिएको भए त्यो कर्मले मलाई पश्चातापमा लग्ने थिएन कि भन्ने विगतका कर्मप्रतिको परिणामले वर्तमानमा पिरोलेको पाइन्छ ।

सद्गुरु ओशो सिद्धार्थ बताउनुहुन्छ, जुन दिन हाम्रो सोचाइ महान् हुन्छ, त्यही दिनदेखि महान् व्यक्तिको संगत आफूसँग रहेको अनुभूति हुन थाल्छ । सोचले आफूलाई महान् बनाएको अनुभूति हुन सकेमात्र बाहिरी भौतिकताले पनि महानताको अनुभूति मिल्छ । अन्यथा के चिज प्राप्त गर्‍यो भने व्यक्ति महान हुन्छ भन्ने भौतिक सम्पन्नताको मापदण्ड अझैसम्म भेटिएको पाइँदैन ।

राजनीतिमा सफल उच्च ओहोदामा पुगेको व्यक्ति होस् या भौतिक सम्पत्ति र व्यापार व्यवसायमा सम्पन्नता हासिल गरेको व्यक्ति होस्, धार्मिक गुरु भएर ख्याति बटुलेको व्यक्ति होस् या राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको नोकरी गरेर बाहिरी प्रशन्नता हासिल गरेको व्यक्ति होस्, भित्रबाट सन्तुष्ट छैन भने उसले आर्जन गरेका सबै समृद्धि उसलाई नै कौडी बराबरको खोक्रो लाग्ने गरेको पाइएको छ ।

एन–मौकामा विशिष्ट व्यक्ति पनि जीवनभरको मरिमेटी भौतिक सम्पन्नताले खाली, खोक्रो र पछुताऊमा लगेको व्यक्त गर्छन् । उनीहरूका आफ्नै किताबका पानाले यी बताइरहेका हुन् ।

जीवनमा महान् बन्ने उद्देश्यले मानिस बन्न भूलेका त छैनौँ हामी ? आफैंले आफैंलाई गर्ने प्रश्न हो यो । एक मिनेटले जीवन बदलिन सक्दैन । तर, एक मिनेट सोचेर लिएको निर्णयले पूरा जीवन बदल्न सक्छ । हतारको निर्णय र फुर्सदको पछुताउले कुनै शान्ति मिल्नेवाला छैन ।

एउटा फक्रेको फूल देख्नासाथ त्यसको सुन्दरताले हामीलाई आकर्षित गर्छ । त्यसको रंग र सुन्दरताले खिचेर एकछिन एक सेकेन्डका लागि हामी आफूलाई सुन्दर फूल नै अनुभूति गर्दछौं । हामीले झट्ट देख्ने त्यो बाहिरी सुन्दरताले त हामीलाई आकर्षित गर्छ भने त्यसको नदेखिने लुकेको पक्ष वासना (सुगन्ध) गहिराइमा गएर मात्र अनुभूति गर्न सकिन्छ ।

एकक्षण आकर्षण गर्ने सुगन्ध र यसभित्र सुगन्ध छ भन्ने बोध गर्न सक्नु विल्कुल फरक कुरा हुन् । जीवनलाई पनि बाहिर झट्ट देख्दा गरिने मूल्याङ्कन र गहिराइमा जीवनको रस, जिउनु, हुनुको बोध गर्नु र जीवन लयमा रमाउन सक्नु नै समग्रतामा जीवन जिउने कला जान्नु हो । हामीले जीवनप्रति लगाउने बाहिरी अर्थभन्दा लयवद्ध र सन्तुलित छ जीवन । कुनै एक चिजमा सफलता देख्नु र त्यसका लागि मरिमेट्नुभन्दा पनि जीवनका सबै पक्ष– धन, परिवार, प्रेम, सम्बन्ध, नोकरी, अध्यात्म, शान्ति र आनन्द सँगसँगै प्राप्त गर्न सक्नु नै समग्रतामा जीवनको अर्थ खुल्छ ।

एउटा कुरा प्राप्त गर्‍यो, अर्को बिग्रिरहेको छ भने, त्यो सफलताले सुख दिँदैन भने एकपछि अर्को गर्दै खोजिने सफलता पनि मृगतृष्णासरह हुन्छन्, जसले कहिल्यै पूर्णता दिँदैनन् ।

हाम्रो समाज, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरमा र स्वयं घरमा सोध्ने र उनीहरूलाई भित्रबाट बुझ्न कोसिस गर्ने हो भने सबैले जीवनलाई दुःख भनेर परिभाषा गर्ने र जीवनमा पाउनुपर्ने थुप्रै कुरा बाँकी रहेको, जीवन अझै संघर्षमै गुज्रिरहेको र अरूले जति आफूले अझै अर्थात् सुगन्ध जुन देखिँदैन । तर, अनुभूति सफलता हासिल नगरिसकेको गुनासो र आफ्नै जीवनप्रति गर्न सकिन्छ ।

सामान्य मानिस गुनासाहरुले भरिएको पाइन्छ । मानिस बहिर्मुखी मात्रै हुने, पाएको सफलता र सुन्दर जीवन, सुन्दर परिवार, आफू र आफ्नो परिवारलाई जाउलो खान पुग्ने नोकरी र कमाइ, मिहिनेत अनुसारको शिक्षा, पद, गाडी, बंगला आदि–आदि जति पनि भौतिक सफलता छन्, त्यसप्रति चित्त नबुझ्ने र जीवन नै अभाव र अपूर्णतामा बितिरहेको अनुभव सुनाउनेहरूको कमी हुँदैन ।

हामी यति बहिर्मुखी हुनुमा आनन्द र केही प्राप्त गरेजस्तो अनुभव गर्छौं । आफूभित्र हेर्ने र आफ्नो किताब पढ्ने फुर्सद कहिल्यै भेट्दैनौं । त्यही अन्तर्मुखी हुने कला नजान्दा नै जीवनलाई आकांक्षाको विशेषण दिन पुगेका छौं । साथीभाइसँग सञ्चो–बिसञ्चो हालखबर सोध्दै जाँदा कुरा निस्कन्छन्– आजकल मैले जीवनमा कसरी आनन्द प्राप्त गर्ने भनेर फलानाको किताब पढ्दै छु । जीवनलाई कसरी तनावरहित बनाउने भनेर फलानाको किताब पढ्दैछु ।

अन्तर्मुखी हुने कला आत्म रूपान्तरणको विज्ञान हो भने राजनीति अरूलाई बदल्ने दुष्प्रयासको एउटा नाम हो भन्दा अनुपयुक्त नहोला । अरूलाई बदल्ने कोशिसबाट नै अरूलाई होच्याउने, अरूमा दोष देख्ने, अरूमाथि विजय हासिल गर्ने खेलको शुरुवात हुन्छ । शोषण, दमन, कलह, वैमनश्य एवं अहंकारका सारा खेलहरू अरूलाई सुधार्ने प्रयासका नतिजा हुन् ।

शान्ति, प्रिति, भक्ति, मुक्ति, आनन्द, सुख र उमंग हामीभित्र छ । यिनीहरू सबैको अभाव नै दुःख, अशान्ति र सिकायत हो । त्यसैले बहिर्मुखी स्वभावको सामान्य मानिसले बाहिरी सम्पन्नता गुमाउन चाहँदैन भने अन्तर्मुखी, चेतना जागरण भएको मानिसले भित्रको सम्पन्नता गुमाउन चाहँदैन ।

यही भित्री बोधको, भित्री ज्ञानको, भित्रको दृष्टिको, सही दृष्टिको ज्ञान हुनु महत्वपूर्ण पक्ष रहेछ, जुन हरेक व्यक्तिले जन्मँदै साथमै लिएर आएको छ ।

आफूभित्र नियाल्नासाथ आफ्नो किताबका पाना पल्टाउनासाथ सही दृष्टि खुल्छ, जसले बाहिरको सृष्टि पनि सुन्दर देख्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment