काठमाडौं । थाइल्याण्डमा फागुन तेस्रो साता आयोजना हुने एसीसी इस्टनर्न रिजन टी२० क्रिकेट प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।
टोलीमा रहेका युवा खेलाडीहरु शेर मल्ल, किशोर महतो र लोकेश बमले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् । शेर स्पिनर हुन् भने किशोर फास्ट बलर हुन् ।
यस्तै लोकेश ब्याट्सम्यान हुन् । यसैगरी अर्का स्पिनर भुवन कार्कीले पनि पुनरागमन गरेका छन् । यही माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि टिममा नपरेका सोमपाल कामी इस्टर्न रिजनका लागि पनि टिममा परेका छैनन् ।
इस्टर्न रिजन टी २० फागुन १५ देखि २३ गतेसम्म हुनेछ । एसिया कप टी२० को लागि अगष्टमा हुने क्वालिफायरका लागि एसीसीले इस्टर्न र वेस्टर्न रिजनबाट टोली छनोट गर्नेछ । त्यसका लागि इस्टर्न र वेस्टर्न प्रतियोगिता हुनेछ ।
इस्टर्न रिजनमा नेपालसहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डलेप्रतिस्पर्धा गर्नेछन् । यस्तै फागुन ९ देखि १६ सम्म ओमनमा हुने वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई छन् ।
दुवै रिजनबाट शीर्ष दुई टोली एसिया कप क्वालिफायरमा छनोट हुनेछ । क्वालिफायर अगष्टमा मलेसियामा हुनेछ । क्वालिफायरमा चार टीमबीच प्रतिस्पर्धा हुनेछ र विजेता टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ ।
एसिया कपमा टेष्ट खेल्ने पाँच टिम भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित छनोटको विजेता गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछ ।
नेपाली १८ सदस्य टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमल सिंह ऐरी र रोहित कुमार पौडेल ।
प्रतिक्रिया 4