Comments Add Comment

नेताज्यू, नमस्कार !

चुनावका बेला १० औंला जोड्दै भोट माग्न आउनुभएको थियो । चुनावी सभामा अनेक वाचा गर्नुभएको थियो । मतदाता सामु गिड्गिढाउनुभएको थियो । तपाईंले मन्द मुस्कान छर्दै भीडतर्फ हात हल्लाएको दृश्य म कहाँ बिर्सन सक्छु ? अझ तपाईंले भीडमा अगाडि बढ्दै दरिलो हात मिलाएको दृश्य त कम रोमाञ्चक थिएन ।

चुनाव सम्पन्न भयो । तपाईंले चुनाव जित्नुभयो । हो, साँच्चै मैले तपाईंलाई भोट दिएको थिएँ । जसले तपाईंलाई भोट दिएका थिएनन्, तिनले पनि सन्तोषको सास फेरेका थिए । आखिर चुनाव शान्तिपूर्वक सम्पन्न

भएको थियो । विपक्षी उम्मेदवारले पनि तपाईंलाई बधाई दिएका थिए । अंकमाल गरेको फोटो पनि पत्रिकामा छापिएको थियो ।

चुनावपछि तपाईं काठमाण्डौं जानुभयो । हो, तपाईंलाई राजधानी पठाउन जिताएको हो, त्यहीँ जानुभयो । तर, त्यहाँ गएर चाँहि के गर्दै हुनुहुन्छ ? तपाईंको शुभचिन्तकको नाताले मेरो चासो मात्र हो ।

त्यसो त म पनि यही काठमाडौं खाल्डोभित्रै छु । सर्वसाधारण नेपालीका छोराछोरीले उच्च शिक्षा हासिल गर्न यही काठमाडौं आउनैपर्‍यो । उच्च शिक्षा पश्चात अलिअलि भएको अवसर यही काठमाडौं मै छ । कि त विदेश भासिनुपर्‍यो । मलाई काठमाडौंको भीडभाड, धूलो, धूँवामा निस्सासिनु पर्दा काठमाडौं वरिपरिका हरिया पहाड पनि जेलको भित्ताजस्तै लाग्छ । म र मजस्ता धेरै मानिसहरुलाई आफ्नो गाउँघर प्यारो भए पनि काठमाडौं खाल्डोमा जाकिनुपरेको छ ।

नेपालले २०६२ सालमा लोकतान्त्रिक छलाङ्ग मारेपछि संसदले ६०१ जना सदस्यको जम्बो आकार लियो । त्यो जम्बो संसद सिंहदरबारभित्र चन्द्र शमसेरको नाचघरमा अटाएन । धन्य, चीनले दानमा बनाई दिएको अन्तराष्ट्रिय सम्मेलन भवनमा जम्बो संसद अटायो ।

आफूले भोट दिएर जिताएको साँसद भनेपछि मतदातालाई केही आशा त भैहाल्दोरहेछ । आफू यता काठमाडौंमा, गाउँघरतिर के छ भनेर हालखबर बुझ्यो- के हुनु जस्ताको तस्तै । म झापा जिल्ला निर्वाचन क्षेत्र नं. १ को मतदाता हुँ । २००८ सालमा नगरपालिका बनेको भद्रपुर, कालान्तरमा मृत शहरमा परिणत भयो । मेची पुल बनेपछि भद्रपुर बौरिने आशा थियो । हाल भद्रपुरमा मेची नदीमाथि पुल निर्माण सम्पन्न भएको छ । दशकौंपछि भद्रपुरवासीको सपना साकार भयो । तर, मेची पुलबाट सवारीसाधन चलेको छैन ।

बरु नवनिर्मित मेचीपुल सेल्फी खिच्ने ठाउँ बनेको छ । हात्ती आयो, हात्ती आयो फुस्सा भन्ने नेपाली उखान छ । तर, हाम्रो गाउँघरतिर हात्ती आएर उत्पात मच्चाएको खबर आइरहन्छ । विद्युतीय तारबार लगाए पनि जंगली हात्ती गाउँघर, खेतबालीमा आउन छोडेको छैन ।

लोकतान्त्रिक व्यवस्थामा आफूले भोट दिएर जिताएको साँसद आफ्नो प्रतिनिधी हो । त्यसैले साँसद जस्तो व्यक्ति आफ्नो लागि पि्रय हुने नै भयोे । शायद, उहाँ अति व्यस्त हुनुहुन्छ होला । देश विकास र जनताको भलाईमा गम्भिर चिन्तन मनन्मा हुनुहुन्छ होला । त्यसैले मैले साँसदज्यूको मोबाइल नम्बर पत्ता लगाएँ । फोन गरेँ, सम्पर्क भए त मरीजाउँ ।

म पनि लागेपछि, एकोहोरो लाग्ने मान्छे परेँ । बारम्बारको प्रयासपछि उताबाट साँसदज्यूको वाणी सुन्न पाएँ- के थियो होला, अहिले व्यस्त छु, पछि कल गर्छु है । पछि भनेको कहिले कुन्नि ? अहिलेसम्म कल गर्नु भाको छैन । त्यसो त जागिर, सरुवा आदि इत्यादि भनसूनको लागि नेतालाई फोन आएर धुरुक्कै पार्छ होला । तर, पनि मतदाताले आफ्ना जनप्रतिनिधिसँग भेटन किन यति सारै गाह्रो ? आफ्ना मतदातासँग संवाद अन्तरक्रिया गर्ने नियमित कार्यक्रम नै राख्न मिल्दैन र ? आजकल संचारका सर्वसुलभ माध्यम पनि छन् । कि जनतासँग भेटघाट अर्को चुनावमा मात्र हो ?

बानेश्वरतिर काम परेर कहिलेकाँही जाँदा आफ्नो पि्रय साँसदसँग भेट भैहाल्छ कि भनेर यसो आँखा घुमाउँछु । म अभागी रहेछु । बरु द्वन्द्वकालमा नै चिनजान भएका दुई माओवादी कार्यकर्ताहरुसँग बानेश्वर चौकमा जम्काभेट भयो, जो दौरासुरुवालमा ठाँटिएका थिए । आफ्नो सांसद नभेटे पनि कुनै न कुनै सांसदलाई भेटेँ भनेर म उत्साहित भएँ । अदब साथ नमस्कार गरेँ, अनि माननीयज्यू, के छ हालखबर भनेर सोधेँ । तर, मेरो अनुमान फेल खाएछ । संसद भवनलाई देखाउँदै हामी त त्यहाँभित्र छैनौं पो भन्छन् । हो र ? म अक्कमकिएँ । हाम्रो नम्बर अलि पुगेन भन्दै उनीहरु लस्किए ।

आफ्नो सांँसदलाई भेट्ने प्रयास असफल भएपछि, अर्का एक झापाली साँसदलाई मैले निशाना बनाएँ । उनी सानो पार्टीका नेता भए पनि चुनावी तालमेल गरेर साँसद जितेका छन् । एकदिन अपरान्ह बानेश्वरको कफीसपमा उनी लगायत पाँच/छ जनाको समूहमा भलाकुसारी गर्ने मौका मिल्यो । नेपालको सुदूरपूर्वी दक्षिण कुनामा अवस्थित जलथल जंगललाई वन्यजन्तु आरक्ष बनाउन सकिन्छ कि भन्ने छलफलको विषय थियो । अचम्मको जैविक विविधता बोकेको ६४ सय हेक्टरमा फैलिएको जलथल जंगल साँच्चै वन्यजन्तु आरक्ष बनाउन लायक ठाउँ छ । कुनै जंगललाई आरक्ष बनाउने विषय सजिलो छैन । जेहोस् साँसदले कुरा चाँहि राम्ररी सुनिदिए । अनि म र मेरा साथीहरुलाई के लाग्यो भने मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भने जस्तै नेता ठूलो विचार/व्यवहारले हुन्छ, पार्टीले हुँदैन ।

त्यसपछि साँसदका पराजित उम्मेदवारलाई पनि भेटौं न त भन्ने मेरो मनसुवा भयो । आखिर उनी प्रतिपक्षी दलका प्रवक्ता पनि हुन् । म साथीहरुसँग बल्खु पुगेँ । नेपाली काँग्रेस पार्टीको मुख्यालय सुनसान थियो । पार्टी सत्तामा नहुँदा पद, पैसा, पावरका आँकाक्षीहरुको भीड नलाग्नु अनौठो होइन । जेहोस् विश्वप्रकाश शर्मासँग सजिलै भेट भयो । उनीसँग कालो चिया खाँदै भलाकुसारी गरियो । विषय उही जलथलको जंगल । छलफलअनुसार काम अघि बढोस् वा नबढोस् । हामीले आफ्ना कुरा राख्ने अवसरचाँहि पायौं ।

मेरो यो गन्थनको आशय के हो भने लोकतन्त्रमा नेता र जनताबीच संवाद हुनु जरुरी छ । निर्वाचित जनप्रतिनिधि होस् वा पार्टीका जिम्मेवार नेता जनसाधारणसँग सम्पर्कमा रहनु पर्छ । जनप्रतिनिधी/नेता स्थानीय, क्षेत्रीय वा राष्ट्रियस्तरका जेसुकै हुन्, आफ्नो कार्यक्षेत्रमा समय दिनु, जनताको राय लिनु, पीरमर्का सुन्नु, छलफल चलाउनु जस्ता गतिविधिले लोकतन्त्रलाई बलियो बनाउँछ । के लोकतन्त्र भनेको ५ वर्षमा एकपटक भोट हाल्नु, जित्नेले शासन चलाउनु मात्र हो र ? त्यसैगरी, ५ वर्ष हार्नेहरु खुम्चिएर बस्नु मात्र हो र ?

नेपालस्थित विदेशी राजदूतहरु सर्वसाधारण नेपालीहरुसँग संवाद अन्तरक्रिया गर्न थालेका छन् । अमेरिकी राजदूत महोदयले फरर्र नेपालीमा बोलेको भिडियो फेसबुकमा पाइन्छ । उता चिनियाँ राजदूत महोदया सार्वजनिक कार्यक्रममा नाचेर, फोटोशेसन गरेर नेपाली जनताको मन जित्दैछिन् । हाम्रा नेताहरु चाँहि आफ्नै कार्यकर्ताबाट घेरिएर बस्न रुचाउँछन् ।

मेरो अनुभवमा नेता भेटन पनि त्यही कार्यकर्ताको घेरोले नदिने रहेछ । दशैंतिहार -छठ, ल्होसार सहित) को शुभकामना आदानप्रदान कार्यक्रम राखिन्छ । एकतर्फी भाषण मात्र सुनाउँछन् । यो त उही सामन्ती पारा भएन र ? अहिलेका जनतालाई नेताले भेडा नै ठानेका छन् क्या हो ? मलाई मात्र यस्तो लागेको हो कि, अरुलाई चाँहि कस्तो लाग्छ कुन्नि ?

जेहोस् हाम्रा नेताज्यूहरु साना, ठूला, जितुवा, हरुवा, पार्टीका, युनियनका, माओवादी, समाजवादी, राजावादी आदि-इत्यादि सबैलाई मेरो जनही एक-एक थान नमस्कार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment