+
+
Shares

उनले आफु चिकित्सक भएको कुरा पितालाई सुनाउनै पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १०:४५

राजेन्द्र कोजु खासमा ‘मुटुका डाक्टर’ । उनी सेवाग्राहीको मुटु हेर्छन्, छाम्छन्, सुम्सुम्याउँछन् । मुटुको कार्यसम्पादनमा अवरोध पुर्‍याउने तत्व भए त्यसलाई हटाउने, उखेल्ने, मिल्काउने विधी अपनाउँछन् । डा. कोजुको सदीक्षा छ, ‘हरेकको मुटुले स्वभाविक ढंगले काम गर्न सकोस् ।’

यही अनुसार उनले अनगिन्ती मुटु खोतलेका छन्, शल्यक्रिया गरेका छन् ।

अक्सर अरुको मुटु सुम्सुम्याउने डा. कोजुको ‘मुटु’ चाँहि कस्तो होला ?

उनको स्पन्दन छाम्न धुलिखेल अस्पताल चाहनुपर्छ, जहाँ उनी यन्त्रवत् रोगीको उपचार र उपकारमा खटिएका हुन्छन् । दिनभर उनी बिरामीको मुटु जाँच्छन्, साँझ-बिहान आफ्नो मुटुको ढुकढुकी सुन्छन् । त्यो ढुकढुकी कहिले गीत बनेर गुञ्जन्छ, कहिले चित्रमा प्रकट हुन्छ ।

‘बुई मात्र होइन

काँध, काख, पिठ्युँ, पेट

जहाँ नि चढ्थे, बुवा सानोमा

हजुरको न्यानो स्पर्श, संसारकै सबभन्दा प्यारो थियो

आज हजुरलाई यो अवस्थामा बोक्न पाउँदा

संसारै हलुको महसुष हुन्छ बुबा ।’

कसैले आफ्ना पाको बुवालाई पिँठ्युमा बोकेको देखेपछि डा. कोजुको मनमा स्वतस्फूर्त यी हरफहरु फुर्छन् । संभवत उक्त दृश्यले डा. कोजुको हृदय यसरी स्पर्श गरे होलान्, जसले उनलाई बाल्यकालको स्मृति ताजा गराइदियो ।

उनै पिताजी, जसले कान्छो छोरोलाई भन्ने गर्थे, ‘बाबु, तिमी स्वास्थ्यकर्मी बन्नु ।’

अरु छोराछोरीले आ-आफ्नै मेलोमेसो मिलाइसकेका थिए । कान्छो छोरो राजेन्द्र कोजु भने स्वास्थ्य साहयक भएको हेर्ने पिताजीको रहर थियो । यो रहर भन्दा बढी विवशता थियो । किनभने पिताजी रोगी थिए । उनलाई मिर्गौलाको रोगले प्रतिदिन गलाउँदै लगेको थियो ।

त्यसबेला मिर्गौला रोगको उपचार संभव थिएन । एउटै मात्र अस्पताल ‘बीर अस्पताल’मा पनि मिर्गौला रोगको उपचार गर्ने पद्धती, प्रणाली एवं जनशक्ति तयार भइसकेको थिएन । त्यस्तो विषम अवस्थामा पिताजी मिर्गौलाको रोगसँग जुध्दै थिए ।

रोगले थलिएपछि पिताजीले स्वास्थ्य-उपचारको खोजी गरे होलान्, जुन त्यस बखत सहज र सुलभ थिएन । धामी-झांक्रीको भर पर्नुपर्ने । उपचार अभावकै कारण मर्नुपर्ने त्यो बाध्यतामा पिताजीलाई लागेको हुनसक्छ, ‘मेरो छोरो स्वास्थ्यकर्मी बनोस् । म जस्ता थलिएकालाई रोगमुक्त गरोस् ।’

छोरो के बन्न चाहन्छन् ? उनले सोधीखोजी गरेनन् । वा गर्न आवश्यक ठानेनन् । बरु, छोरो स्वास्थ्य साहयकसम्म भइदियोस् भन्ने चाहे ।

पिताजीकै रुचीलाई राजेन्द्र कोजुले आफ्नो लक्ष्य बनाए । भइदियो के भने, राजेन्द्र कोजु ‘स्वास्थ्य साहयक’ मात्र भएनन् । चिकित्सक भए । मुटु रोग विशेषज्ञ ।

उमेरको हिसाब-किताब गर्दा अहिले डा. राजेन्द्र कोजु ५२ बर्षका भए । उनको अनुहारमा उस्तै आभा छ, पाखुरीमा उस्तै जोश छ । दैनिकी गतिशिल छ । जबकी उनका पिताजी रोगसँग हारेर ५२ बर्षको उमेरमै बिते ।

छोरो चिकित्सक भएको देख्नै पाएनन् ।

सेवाका पर्याय

डा. राजेन्द्र कोजुको पछाडि जोडिने विशेषण हो, कहलिएका मुटु रोग विशेषज्ञ । तर, आज यो चिनारी बनाइरहँदा उनी एक पेशाकर्मीको हैसियतमा मात्र सीमित छैनन् । त्यसो नहुँदो हो त, उनी आफ्नो प्रतिष्ठामा गमक्क पर्थे होलान् । धन-ऐश्वर्यका खातिर दौडधूप गर्थे होलान् । मौका मिलेसम्म अकुत सम्पति कुम्ल्याउने थिए होलान् । किनभने स्वास्थ्य क्षेत्र विकारमुक्त छैन ।

उपचार खर्च तिर्न नसकेर कति रोगीले अस्पतालको छतबाट हाम फालेर आफुलाई सिध्याएका छन् । कतिको घर-खेत रित्तिएको छ । सरकारी अस्पतालका चिकित्सकहरु निजी क्लिनिकमार्फत रोगीसँग मोलमोलाई गरिरहेका छन् । निजी अस्पताल फेक रेस्क्यु गर्नेसम्मको धन्दामा सामेल छन् ।

यो कुरुप पृष्टभूमीमा आफुलाई सग्लो र अलग राख्न सहज छैन । तर, डा. कोजुले त्यही असहज बाटो रोजेका छन् । किनभने चिकित्सक बन्नुको पछाडि उनलाई एउटै कुराले छोएको छ, सेवा-भाव । पिताजीको रहर होइन, ‘छोरोले चिकित्सक बनेर मान-प्रतिष्ठा आर्जन गरोस् । धन-दौलतले पुगीसरी होस् । ऐश-आरमको जिन्दगी बिताओस् ।’

पिताजीको इच्छा थियो, ‘छोरोले चिकित्सक बनेर म जस्ता रोगीहरुको सेवा गरुन् ।’

उनले पिताजीको इच्छा सिरोपर गरे ।

त्यसैले त सेवाग्राहीहरु उपचारपछि प्रफुल्ल हुँदै कृतज्ञता पोख्छन्, ‘डा. कोजुको साथ र मायाले पूनर्जीवन पाएँ ।’ यस्तो अवस्थामा डा. कोजुको मन सन्तोषले हराभरा हुन्छ,  पिताजीको सायद यस्तै देख्न र सुन्न चाहन्थे ।

डाक्टर बन्ने सोचेकै थिएनन्

पितापूर्खाले आर्शिवाद यसरी दिन्थे, ‘भविष्यमा डाक्टर बन्नु, इन्जिनियर बन्नु, पाइलट बन्नु ।’ डाक्टर, पाइलट, इन्जिनियर सफलताको मानक थियो ।

त्यसैले बालबच्चालाई ‘तिमी के बन्छौं’ भनेर सोधिएको प्रश्नमा रेडिमेड जवाफ आउथ्यो, ‘डाक्टर बन्छु । पाइलट बन्छु । इन्जिनियर बन्छु ।’ तर, १० कक्षामा पुग्दासम्म राजेन्द्र कोजुलाई ‘डाक्टर बन्छु’ भन्ने नै थिएन । पढेर के बन्ने ? उनीसँग कुनै लक्ष्य थिएन । पढ्नुपर्छ भन्ने मात्र थियो । वस् ।

घर नजिक सरकारी विद्यालय थियो, २००६ मा स्थापना भएको । त्यही पढे । गजब के भने, उनी शिशु कक्षा वा एकमा भर्ना भएनन् । सोझै दुई कक्षामा भर्ना भए । र, फटाफट उत्तिर्ण हुँदै गए । घरमा पढन्ते दाजु र दिदीहरुको संगतले गर्दा उनलाई एकैपटक कक्षा २ मा भर्ना गरियो ।

त्यसबेला धुलिखेल अहिलेजस्तो कहाँ थियो ?

काठमाडौंबाट ३० किलोमिटर टाढा भएपनि धुलिखेल गाउँ थियो । गोरेटो थियो । खेतै खेत थियो ।

साथीसंगीसँग लुकामारी खेल्थे, डन्डिबियो खेल्थे । खान-लाउन पुग्ने परिवार थियो । धुलो माटोमा गुच्चा खेल्थे । बारीमा गएर मुला उखेल्दै खान्थे । बर्षे झरीमा बेपर्वाह भिज्थे । बाटोमा आउने भेलमा छलाङ मार्थे । यसरी हिलो-माटोमा लडिबुडी खेलेपछि ज्वरो नआउने कुरै भएन । तर, ज्वरो आउँदा दुध र बिस्कुट खान पाइने । रमाइलो हुन्थ्यो । फल्यासब्याकमा पुगेर डा. कोजुले आफ्नो भावना यसरी नै पोखेका छन् ।

विद्यालय तह पुरा गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं ओर्लिए ।

काठमाडौं आएपछि उनले अंग्रेजी माध्याममा पढ्नुपर्ने भयो । त्यो पनि ऐच्छिक विषय विज्ञान । किनभने पिताले भनेथे, ‘स्वास्थ्यकर्मी बन्नु ।’ यसका खातिर विज्ञान नपढी सुखै थिएन ।

यद्यपि काठमाडौंको बसाई उनको लागि निकै रंगिन भइदियो । कहिले अंग्रेजी सिनेमा हेर्ने, कहिले अंग्रेजी गीत सुन्ने, कहिले अंग्रेजी उपन्यास पढ्ने । आफुलाई अंग्रेजीमा अभ्यस्त जो गर्नुथियो ।

पिताले औंल्याएको लक्ष्य पहिल्याउँदै उनी स्वास्थ्य साहयक भए । तर, यतिबेला बुवा बितिसकेका थिए ।

स्वास्थ्य साहयक भइसकेपछि राजेन्द्र कोजुको पहिलो कर्मथलो थियो, बाग्लुङ । काठमाडौं-धुलिखेलको परिधी नकाटेका नेवारको छोरो बाग्लुङको गाउँ-गाउँ चाहर्न थाले । त्यहाँको समाज, परिवेश अध्ययन गरे । गरिबी, अभाव, दुःख, समस्याको भूँमरीमा कसरी ग्रामिण जीवन रुमल्लिएको छ ? उनले नजिकबाट नियाले ।

बाग्लुङबाट फर्केपछि उनले स्वास्थ्य साहयकमै चित्त बुझाएनन् । चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट थप अध्ययन सुरु गरे, एमबिबिएसको ।

यता उनले आफ्नो स्तरबृद्धि गर्दै थिए । उता आफ्नो गाउँ धुलिखेलको कायकल्प पनि बद्लिदै थियो । बाटो, पानी, बिजुली जस्ता पूर्वाधारले हराभरा हुँदै थियो ।

त्यही बखत डा. रामकण्ठ मकाजु, डा. सुरेशराज शर्माहरु धुलिखेलको स्वास्थ्य र शिक्षामा आफुलाई समर्पित गर्दै थिए । पूर्व नगरप्रमुख बेलप्रसाद श्रेष्ठले यी सबैमा काँध थापेकै थिए ।

त्यहीबेला एउटा पाखोमा काठमाडौं विश्वविद्यालय र अर्कोमा धुलिखेल अस्पताल बनाउने खाका तयार भयो । यो खाकाभित्र डा. राजेन्द्र कोजुको सपना पनि समेटियो । धुलिखेल अस्पतालकै खातिर उनले मुटु रोग विशेषज्ञता हासिल गरे । अस्पताल निर्माण भएसँगै उनी पूर्णकालिन मुटु रोगीको सेवामा अहोरात्र खटिए ।

चिहान डाँडामाथि एउटा भवनबाट सुरु भएको धुलिखेल अस्पताल अहिले २ सय रोपनीको विशाल क्षेत्रमा फैलिएको छैन । यही अस्पताल अन्र्तगत विभिन्न जिल्लामा स्वास्थ्य शाखा सञ्चालनमा छन् । यो अस्पतालले आफ्नो फैलावट भूगोलमा मात्र सीमित गरेको छैन, दूर-दराजका रोगी, सेवाग्राहीसम्म यसको सेवा फैलिएको छ । यो मुनाफारहित अस्पतालले सस्तो शुल्कमा उपचार सेवा दिइरहेको छ । अशक्त, निमुखाका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ । साथसाथै भौतिक पूर्वाधार, उपकरण, सेवा-सुविधामा यसले आफुलाई अरु उन्नत र सहज बनाउँदै लगेको छ ।

अस्पतालको छतमाथि उक्लिएर यसको सेरोफेरो नियाल्दै गर्दा डा. राजेन्द्र कोजुको छाती अरु चौडा हुन्छ । उनी यति मात्र भन्छन्, ‘इमान्दारिताको जगमा उभिएको अस्पताल हो यो ।’

तस्वीर तथा भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?