Comments Add Comment

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो ओमानी टोली

२० माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न ओमानको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।

यही बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

ओमान घरेलु मैदानमा प्रशिक्षणपछि आइतबार नेपाल आइपुगेको हो ।

सिरिज खेल्ने अमेरिकी टोली पनि भारतको मुम्बईमा प्रशिक्षण गरेर आइतबार नै नेपाल आइसकेको छ  । सिरिजमा तीन टोलीबीच एकआपसमा दुई-दुई खेल हुनेछ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो ।

सन् २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ ।

यस्तै सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो एकदिवसीय सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment