Comments Add Comment

विराटनगर–रंगेली–उर्लाबारी चार लेन सडक विस्तारको काम धमाधम

कानेपोखरी–रंगेली सडकको काम ९६ प्रतिशत सकियो

२२ माघ, विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा चार लेन सडक विस्तारको काम सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले पहिलो चरणमा रंगेलीको बजार क्षेत्रमा सडक विस्तारको काम थालेको हो ।

हुलाकी राजमार्गको मोरङ खण्डअन्तर्गत रंगेली हुँदै झापाको भद्रपुर जोड्ने सडक चार लेनमा विस्तार गर्ने योजना तीन वर्षभित्र सक्ने लक्ष्य छ । यही योजनाअनुसार रंगेली नगरपालिकाकोे कोल्डस्टोरदेखि मधुवनी चोकसम्मको ४.९ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाउने काम सुरु गरिएको हुलाकी सडक आयोजना इटहरीका प्रमुख रमेश सिंहले जानकारी दिए ।

सडक विस्तारको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभीले ७९ करोड २५ लाख ८६ हजार रुपैयाँमा पाएको छ ।

२०३४ साल असार २० गते राजपत्रमा छापिएको सूचनाअनुसार विराटनगर–रंगेली–उर्लाबारी (झापा) सडकलाई सहायक राजमार्ग बनाएर राजमार्गको मध्यबिन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर कायम गरिएको थियो । राजपत्रमा प्रकाशित यही सूचनाका आधारमा रंगेली नगरपालिकाको सडक सीमा क्षेत्रभित्र रहेका संरचनाहरु हटाइएको छ । डिभिजन सडक कार्यालय बिराटनगरले गत वर्ष नै सडक सीमा निर्धारण गरी बिराटनगर–रंगेली–उर्लाबारी क्षेत्रलाई सहायक मार्गको रुपमा फराकिलो पार्न आवश्यक भएकाले संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

मेचीको बीच भागमा पर्ने ठाउँ भएकाले १९४५ मा मोरङको सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यस बेलादेखि रंगेली चर्चामा आयो । १९७२ देखि रंगेली सामान्य बजार र खरिद बिक्रीको केन्द्र बन्यो । १९४६ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेरले सरदार कालिदास कोइरालालाई प्रथम बडाहाकिमको रुपमा रंगेली पठाउँदा रंगेलीको विकासको थालनी भएको जानकारहरु बताउँछन् ।

१९४७ मा रंगेली अस्पताल स्थापनासँगै काठ महल, वन जाँच, अमिनि, माल, कचहरी, गोश्वारा, जेललगायत स्थापना गरियो । बिक्रम सम्वत १९७१ सालमा चन्द्रशमशेरले रंगेलीबाट सम्पूर्ण सरकारी कार्यालय बिराटनगर सार्ने निर्णय गरेपछि विराटनगर सदरमुकाम बन्यो ।

कानेपोखरी–रंगेली सडक धमाधम कालोपत्रे

यता हुलाकी सडक जोड्ने सहायक मार्गको रुपमा रहेको कानेपोखरी–रंगेली सडकको कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ । हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख रमेश सिंहले कानेपोखरी—रंगेली सडकमा आयोजनाले गर्ने ९६ प्रतिशत काम सकिएको जानकारी दिए ।

महेन्द्र राजमार्गसँग हुलाकी सडकलाई जोड्ने कानेपोखरी–रंगेली खण्ड भित्री सडक हो । कुल २५ दशमलव ४ किलोमिटर लम्बाइको यो सडकमा कुल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयाँमा लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

यो सडकमा सुरुमा भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लिमिटेड चेन्नइसँग ठेक्का सम्झौता भएको थियो । २०११ को मार्चमा काम सुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि भारतीय कम्पनी १८ महिनापछि काम अलपत्र पारेर सम्पर्कविहीन भएको थियो । त्यसपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी डाँफे द कन्चनजंघा कन्सट्रक्सन प्रालिले सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियोे ।

डाँफेसँग ०७६ असार ५ गतेभित्रै सडक कालोपत्रे गरिसकेर सरकारलाई जिम्मा लगाउने सम्झौता भएको छ । २५ किलोमिटरमा लामो उक्त सडकमा ६० वटा कल्भर्टहरु निर्माण गरिसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment