Comments Add Comment

बानेश्वरमा नेकपा जिल्ला नेता गिरीको शंकास्पद मृत्यु, ४ जना नियन्त्रणमा

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो ।

राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेको डीएसपी रेग्मीले अनलाइनखबरलाई बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । ‘त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी छ ।’

उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ ।

गिरी निकटस्थका अनुसार उनी मंगलबार बिहान ९ बजेदेखि नै उक्त होटलमा बसेका थिए । दिनभर मदिरा सेवन गरेका कारण उनी राति घर फर्किन सक्ने अवस्थामा पनि नरहेको उनी निकट स्रोतले बतायो ।

तर, गिरीकी बहिनी माया गिरीले भने आफ्नो दाजु होटलमा बसेको नभई १० मिनेटमा फर्कने भनेर घरबाट निस्किएकोमा नफर्किएको भन्दै हत्या नै भएकोदाबी गरिन् । उनले भनिन्, ‘त्यहाँका सीसी फुटेजहरु पनि गायव पारिएका छन्, टाउकोमा र ओठमा चोटसमेत लागेको छ ।’

गिरी दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment