Comments Add Comment

रुपन्देहीको शंकरनगरमा वनस्पति उद्यान बन्ने

२८ माघ, बुटवल । रुपन्देहीको प्रमुख पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा प्रदेश सरकारले वनस्पति उद्यान (बोटानिकल गार्डेन) बनाउने भएको छ ।

वनबाटिका संघीय सरकारले घोषणा गरेका एक सय पर्यटकीय स्थल मध्येको एक हो । बोटानिकल गार्डेनको गुरुयोजना प्रदेश वन निर्देशनालयले बनाइसकेको र आगामी आर्थिक वर्षमा बजेट विनियोजनको काम सुरु गरिने छ ।

शंकरनगर सामुदायिक वन अन्तर्गतको वनबाटिकाको १७ हेक्टर क्षेत्रफलमा बोटानिकल गार्डेन बनाइने उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । ‘उद्यान बनाउन अघिल्लो वर्ष नै प्रदेश सरकारले २ करोड वजेट छुट्याइ सकेको छ, गुरुयोजना बनाउन ढिलाई हुँदा काम भएन,’  शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको तेस्रो अधिवेशन उद्घाटनमा मन्त्री गिरीले भने, ‘यो वर्ष गुरुयोजना तयार भइसकेको छ,अब आउँदो आर्थिक वर्षको वजेटमा रकम विनियोजन गरी काम सुरु हुन्छ ।’ वनबाटिका रुपन्देहीको मात्र नभई प्रदेश ५ कै सुविधासम्पन्न र राम्रो पर्यटकीय स्थलका रुपमा स्थापित भइसकेकाले प्रदेश सरकारले यहाँ लगानी गर्न खोजेको उनले बताए । वनबाटिकमा वनस्पति उद्यानसँगै प्राणी उद्यान (चिडियाखाना),स्वीमिङ पुल र होम स्टे सञ्चालनमा पनि प्रदेश सरकारले आगामी वर्ष लगानी गर्न सक्ने मन्त्री गिरीले बताए । नीजि क्षेत्रलाई तारे होटेल र रिसोर्टमा लगानी गरेर लाभ लिन पनि उनले सुझाए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वनबाटिका पर्यटकीय स्थल मात्र नभई नगरपालिकाको प्रमुख सम्पदा भएकाले यसको थप पर्यटन प्रवर्द्धनका लागि १३ करोड लगानीमा १० तले भ्यू टावर बनाइएको बताए । अन्तिम चरणमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएपछि पर्यटक आगमनले गुणात्मक फड्को मारी नगरपालिकाको विकास र समृद्धिमा टेवा पुग्ने घिमिरेले बताए । वनबाटिकाभित्र तीन बिघा क्षेत्रफलमा पार्किङ स्थलसहित नेपालकै नमुना र रमणीय पर्यटकीय स्थल बनाउने नगरपालिकाको लक्ष्य रहेको उनले बताए ।

वनबाटिकाका अध्यक्ष बाबुराम अर्यालले सामुदायिक वनको उजाड क्षेत्रलाई २०६२ सालदेखि वनबाटिकाको रुपमा विकास गर्न थालेको र अहिले आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको थलो बनेको बताए ।

सामुदायिक वनको १ सय ५३ हेक्टर क्षेत्रफलमा पर्यटकीय पुर्वाधारहरु बनाउंदै जिल्लाकै प्रमुख गन्तव्य स्थल बनेको वन वाटिकामा वार्षिक करिब तीन लाख आन्तरिक र वाह्य पर्यटक आउने गरेका कोषाध्यक्ष गोपाल थापाले बताए ।

वनबाटिकाभित्र रहेको वीपी वाटिकामा जलाशययुक्त ताल बनाई डुंगा शयर गराउने योजना रहेको सचिव खिम पाण्डेले बताए । हाल वनबाटिकामा विभिन्न दलनिकट व्यक्तित्वका नाममा सात वटा पार्क, म्याङगो गार्डेन, बाल रेल, दुई दर्जन पिकनिक सेड,चमेना गृह, पुस्तकालय लगायतका पूर्वाधार छन् । वनबाटिकाभित्र रहेको चिडियाघरमा डेढ दर्जन प्रजातिका वन्यजन्तु पशुपंक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment