Comments Add Comment

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली सहभागी छैनन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए । ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो । तत्कालीन जनयुद्धको बलमा भएको २०६२/६३को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेको थियो । माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् ।

यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।

यसैगरी नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।

अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ । यसैक्रममा बिहीबार बिहान आरआर क्याम्पसमा २५ औं जनयुद्ध दिवस जिन्दाबाद लेखिएको ब्यानरसहित बेलुन उडाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment