Comments Add Comment

क्रिकेट रंगशालाले जगाएको भरतपुर

नेपालले जब एकदिवसीय क्रिकेट खेल खेल्ने मान्यता प्राप्त गर्‍यो, नेपाली खेलप्रेमीहरुको एउटा आवाज थियो, खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला चाहियो ।

आम नेपालीको उत्साहसँगै आवश्यकताको आवाज बुलन्द हुँदै थियो । सामाजिक सञ्जालहरुमा बहसका ब्यानरहरू देखिन थाले । सामाजिक अभियन्ताहरू रंगशाला निर्माण गर्छौं भन्दै स्टाटसहरू राख्थे ।

यही उत्साहका बीच धुर्मस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको अगुवाई गर्न उद्घोष गर्‍यो । धुर्मस सुन्तलीको सोच, परिकल्पना र अभियानसहित जग्गा खोज्दै देशैभरि दौडिरहेको कुरा सञ्चारकर्मी तथा सामाजिक सञ्जाल मार्फत थाहा हुन आयो ।

देशको मध्य भाग र विकासले गति समात्दै गरेको भरतपुर महानगरपालिकाभित्र नै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने र त्यसका लागि सचेततापूर्वक पहल लिँदै धुर्मस सुन्तली फाउण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा महानगर प्रमुख रेनु दाहालले गरिन् ।

‘जग्गा देऊ हामी रंगशाला बनाउँछौं भन्ने धुर्मस सुन्तली फाउण्डेशनको प्रस्तावमा, हामी जग्गा दिन्छौं रंगशाला बनाउने भए भरतपुर आउनु भन्ने जवाफसहितको महानगरप्रमुखको प्रस्ताव पछि शुरु भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण अभियान । यो प्रस्ताव र प्रकृया शुरुवातसँगै ठाँउ, विषय र योजनाप्रति विविध टिप्पणी हुन थाल्यो ।

आर.सी. अधिकारी

धुर्मस सुन्तली फाउण्डेशनलाई बनाउन दिने भए सरकारको के काम ? सरकार नै काफी छ नि ! धुर्मस सुन्तली फाउण्डेशन जस्तो एउटा एनजीओलाई किन दिने ? भन्ने प्रश्नसहितको मनोविज्ञान एकातिर थियो भने, अर्कोतिर सरकारको सहभागीता र संलग्नतामा भए दाताहरूले पैसा दिदैनन् भन्ने मनोबैज्ञानिक त्रासहितको धुर्मस सुन्तलीको अवस्था थियो ।

तर्क, विर्तक, विचार र विर्मश, पक्ष विपक्ष अन्र्तक्रिया छलफलपछि धुर्मस सुन्तली फाउण्डेशनलाई निर्माण कार्यको नेतृत्व गर्ने समझदारीमा सबै पक्षको साझा अभियान घोषणा भयो । जग्गा खोजीको अभियान सुरु भयो ।

जग्गा खोज्ने क्रममा त्रिभुवन विश्वविद्यालयको श्रेष्ता कायम भएको, कृषि तथा वनविज्ञान विश्वविद्यालयको भोगचलनमा रहेको महानगरले सट्टा भर्ना दिने गरी प्रस्ताव अघि बढेपछि त्रिविका तत्कालिन उपकुलपति तीर्थ खनियाँको प्रस्ताव, कानुनी परामर्श र प्रशासनिक समन्वयबाट त्रिपक्षिय सम्झौता गरी २० विगाहा ६ कठ्ठा जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको निम्ती उपलब्ध गराउने निर्णय भयो ।

करीव एक बर्ष अगाडि भरतपुर महानगरपालिका र धुर्मस सुन्तली फाउण्डेशन बीच ११ बुँदे सझदारीमा हस्ताक्षर भयो । भब्य समारोहका वीचमा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथैं विभागिय मन्त्री, निजी क्षेत्र, केन्द्र, प्रदेश, स्थानीय सरकारका प्रतिनिधी, विभिन्न राजनीतिक दलहरुको समेत उपस्थितीमा सम्झौता भयो ।

सम्झौतामा स्पष्ट थियो कि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने र धुर्मस सुन्तली फाउण्डेशनले जनसहभागीता जुटाएर निर्माण कार्यको नेतृत्व गरी सम्पन्न गर्ने । त्यही स्पीरिटमा विभिन्न छलफल हुँदै गयो । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्र तयार गर्ने, ६ महिनामा नै निर्माण कार्य शुरु गर्ने सहमतिअनुसार अगाडि बढ्दा केही स्थानीयहरूले बाटोसम्बन्धी विवाद निकालेर विश्वविद्यालयको बारसहित रंगशालाको जस्ता बारिएको ठाउँमा डोजर चलाउने काम भयो ।

डोजर काण्डले ठूलो रुप पनि लियो । डोजर काण्डले आशंका र अविश्वासहरु जन्माउनु स्वाभाविक पनि थियो । यस घटनाले पहिलो गाँसमा नै ढुंगा लाग्यो । पछि बिस्तारै वातावरण बन्दै गयो । राजनीतिक दलहरूको पहलकदमी, माननीय विजय सुवेदी र महानगरपालिका प्रमुख रेनु दाहालको समन्वयमा समस्याको समाधान निकाल्ने काम भयो ।

एक जना राष्ट्रियस्तरको कलाकार आफ्नो छदाखाँदाको पेशालाई छाडेर देशका लागि केही गर्छु भनेर आउँदा उत्पन्न भएको घटनाले छाडेको नमिठो छापलाई हामीले गहिरोगरी अनभूति गर्न सक्थ्यौं । धेरै मेहनत पछि फाउण्डेशन काममा फर्किन तयार भयो । जिल्ला समन्वय समिति प्रमुखको नेतृत्वमा सहयोग समिति घोषणा भयो । केही आर्थिक सहयोगहरू समेत जुटाउने गरियो । जसले वातावरण बन्न सहज बनायो ।

तोकिएको अवधिभित्रै रंगशाला निर्माण भएर तीन करोड नेपालीको साझा सपना भरतपुरमा खडा हुने विश्वास थप बलियो बनेको छ ।

जिल्लाका ७ वटै स्थानीय तहमा रंगशालाका लागि सहयोग गर्ने समितिहरू गठन गर्ने काम समेत भए । तर सोच अनुरुप रंगशालाका लागि ठोस आर्थिक सहयोग जुटाउन सकिएन । यसले केही उदासिनता पक्कै देखियो । थालिएको काममा ढिलाइ हुने आशंका बलियो बन्दै गयो । धुर्मस हरेक पटक गुनासो गर्दथे, ‘चितवन तात्दै तातेन, माहौल बनेन, एकाथरीको तर्क हुन्थ्यो धुर्मसले रंगशालाका लागि पैसा उठाउन सकेको खै ?’ त्यतिबेला मेरो सुझाव रहन्थ्यो, ‘चितवनमा नै जमेर फिल्डमै देखिने काम गरे मात्रैं चितवनका सचेत जनता उठ्ने छन् ।’

जग्गा त दिइयो तर पैसा उठाएर बनाउने काम त फाउण्डेशनकै हो भन्ने बुझाई एकातिर थियो । यो अविश्वासलाई पुर्न र दूरीलाई कम गराउने योजनाका बारेमा छलफल हुन थाले । अविश्वासको भूमरीबाट विश्वासको शिखर खडा गर्ने कुरा सामान्य थिएन । प्रारम्भमा योजना जन्मिदैमा विभिन्न टीका टिप्पणीको सामना गर्नुपर्ने अवस्था थियो । विश्वास, एकता र सहकार्यको लागि महानगर प्रमुख रेनु दाहालको तत्परता र प्रयास, जिल्ला समवन्य समिति प्रमुख कृष्ण डल्लाकोटीको समन्वयकारी भूमिका, धुर्मसको लगनशिलता, प्रतिवद्धता, लक्ष्यप्रति दृढ र सहजीकरण गर्ने क्षमताका कारण यो परियोजना अगाडि बढेको हो ।

जनसहभागीता र सरकारको प्रत्यक्ष सहयोग साथैं सहकार्यमा निर्माण कार्यको नेतृत्व एउटा संस्थालाई विश्वास गरेर दिने कुरा संसारभरीकै नयाँ प्रयोग नै हो । जनताको सहभागीतामा, विभिन्न तहका सरकार र नीजि क्षेत्रको सहयोग एवम् साथमा यो रंगशाला बन्दैछ । वास्तविकता र आवश्यकताको जगमा खडा हुँदैछ गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । यस आयोजनाका सम्पूर्ण जस् अपजस महानगर प्रमुख रेनु दाहाल र सिताराम कट्टेल धुर्मसलाई हुनेछ ।

रंगशाला र धनधान्याञ्चल महोत्सव

जनसमुदायको सामूहिक भावना साथैं व्यक्तिगत मनोभावना व्यक्त हुने, मन फुकाउने ठाँउ, मूख्यतः धार्मिक सभा, यज्ञ, महायज्ञ अनुष्ठान हुने गर्दछ । यही निष्र्कषसहित चितवन जगाउन, उठाउन र हरेक नागरिकको घरघरमा अभियान पुर्‍याउने र सहयोग जुटाउने योजना बन्यो । त्यही योजना मुताविक पण्डित दीनवन्धु पोखरेल प्रमुख वाचक रहेन गरी तथा अन्य धर्मका गुरू र प्रवचकहरुको उपस्थितीमा धनधान्याचल महोत्सव गर्ने निर्णय सहयोग समितिले गर्‍यो ।

प्रदेश सभाका सांसद विजय सुवेदीलाई संयोजक तोकेर यसलाई कार्यान्वयन गर्ने र लक्ष्य निर्धारण गर्ने काम भयो । करीव ५० करोड रकम उठाउने लक्ष्य धनधान्याचल महोत्सवमा राखियो । यो अभियानकै रुपमा अघि बढ्यो । परम्परागत महायज्ञ, कोटीहोम गर्ने, पैसा संकलन गर्ने उद्धेश्यबाट मात्रैं यो प्रेरित थिएन ।

यसबाट एकता, सहकार्य, सामूहिकताको भावनाको केन्द्रीकरण धनधान्याचल महोत्वमा देखियो । सबै आलोचना, टिकाटिप्पणी र असफलता कामना गर्नेलाई धनधान्याचलको सफलताले गतिलो जवाफ दिएको छ । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एजेण्डा धान्याचलबाट जनअनुमोदन समेत भएको छ । महोत्सवले निम्न कुराको स्पष्ट सन्देश दिएको छ ।

१, उद्घाटन समारोहमा सबै धार्मिक समुदाय, सम्प्रदाय र संस्कृती झल्कने झाँकीसहित शोभा यात्राले धार्मिक एकता र सामूहिकताको सन्देश दिन सफल भयो । धार्मिक सहिष्णुता कायम गराउन यसले भूमिका खेल्यो ।

२, जिल्लाका सम्पूर्ण ९ वटै राजनीतिक दल एक ठाँउमा ल्याउने, विश्वासको वातावरण पैदा गर्ने र दलहरूको प्राथमिकता र लक्ष्य के हो भन्ने सन्देश यसले दियो । यो कार्यक्रम अवधि भरी जिल्लाका प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चितवनले यो अवधि भरी कुनै पनि राजनीतिक कार्यक्रम नगर्ने घोषणा नै गरी धनधान्याचल महोत्सवलाई प्राथमिकतामा राखे । जसको सकारात्मक प्रभाव लाखौं जनताको सहभागीताबाट देखियो ।

३, सामाजिक संघसंस्था, सामाजिक प्रतिष्ठान, व्यक्तित्व र सामाजिक अभियन्तालाई एक ठाउँमा जोड्ने र जसरी पनि रंगशालालाई सहयोग गर्नुपर्दछ भन्ने भावनाको विकास तल्लो तहसम्म गर्‍यो ।

४, जनसहभागिता, जनपरिचालनको दृष्टिकोणले महोत्सव अभूतपूर्व र ऐतिहासिक बन्यो । महोत्सवका एकपटक नटेक्ने व्यक्ति चितवनका कमै भए होलान् ।

५, महोत्सवले कुनै राष्ट्रिय गौरव र विकासका आयोजनामा जनताको रूची र सहभागीता रहन्छ भन्ने सन्देश दियो ।

६, नीजि क्षेत्र र दाताहरुको महानगरपालिका प्रतिको विश्वास, धुर्मस सुन्तली फाउण्डेशनको कामको प्रंशसा र आवश्यकताको सम्बोधन गर्न कुनै कन्जुस्याई गरेनन् ।

७, न्यून भौतिक पूर्वाधार तथा खेलमैत्री वातावरण अभावलाई जनसहभागीताबाट पूरा गर्न सकिन्छ भन्ने देखियो ।

८, महानगर प्रमुख रेनु दाहाल र धुर्मस सुन्तलीको काम गर्ने तरिकाको समुच्च अभिब्यक्ति नै रंगशालामा देखिएको जनसहभागीता र सहयोग एवम् केन्द्रकरण देख्न सकिन्छ ।

९, सरकारको काम गर्ने विधी, कानुन र प्रक्रियाको पट्यारलाग्दो मनोविज्ञानबाट पारदर्शीताको गम्भीर प्रश्नसँगै अगाडि बढेको परिप्रेक्षमा जनतामा सामूहिक अभियान प्रतिको प्रतिवद्धता र छिटोको विकासप्रतिको भोकलाई यसले जगाएको देखिन्छ ।

र, अन्त्यमा नेपाली क्रिकेटरहरूको लागि अब अभ्यास वा अन्तर्राष्ट्रिय खेल खेल्न पाउने रंगशाला बन्नेछ । न्यून भौतिक पूर्वाधार तथा खेलमैत्री वातावरणको अभावमा पनि विगतदेखि नै नेपाली खेल प्रतिभाहरुले गरेको मेहनत र प्राप्त उपलब्धी प्रंशसनीय छ । यसलाई कायम राख्न निरन्तर लाग्नुपर्नेछ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणसँगै खास गरी युवाहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा शानदार जित्न सक्ने बनाउन रंगशालाले महत्वर्पूण भूमिका खेल्ने छ । इमान्दारिताका साथ रंगशाला निर्माणले गति पक्डिने छ । तोकिएको अवधिभित्रै रंगशाला निर्माण भएर तीन करोड नेपालीको साझा सपना भरतपुरमा खडा हुने विश्वास थप बलियो बनेको छ । सबै प्रश्नहरुको जवाफ यसको सफलताले मात्रैं दिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment