+
+

डिल्लीबजार कारागारमा महराको १०३ दिन

गौरव पोखरेल गौरव पोखरेल
२०७६ फागुन ५ गते २१:०९

५ फागुन, काठमाडौं । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा १८ कात्तिकमै जिल्ला अदालतबाट सफाइ पाउनेमा निवर्तमान सभामुख कृष्णबहादुर महरा ढुक्क देखिन्थे ।

आफूले प्रहरी र अदालतमा दिएको बयानलाई पुष्टि गर्दै पीडित भनिएकी महिलाले आफूमाथि कुनै किसिमको दुर्व्यवहार नभएको बकपत्र गरेकाले छुट्ने उनको आशा थियो । तर, महराले सोचे जस्तो भएन ।

बयान, तत्काल प्राप्त क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतका आधारमा महरालाई कसूरदार होइन भनेर भन्न नसकिने न्यायाधीश सुदर्शनराज पाण्डेले ठहर गरे । महरा पुर्पक्षका लागि कारागार चलान भए ।

जिल्लाको आदेशविरुद्ध मंसिर पहिलो साता उनी उच्च अदालत पनि गए । यो पटक पक्कै छुट्छु भन्दै उनले डिल्लीबजार कारागारको ‘क–१’ ब्लकका केही साथीसँग खुशी साटे । तर, त्यो खुशी पनि धेरैवेर टिक्न पाएन ।

अदालतबाट दुई पटक निराशा हात पारेका महरा आइतबार अन्तिम फैसलाका लागि जिल्ला अदालत, बबरमहल उपस्थित भए । यो पटक उनको मुहारमा त्यति उत्साह देखिँदैनथ्यो । उनी थकित लाग्थे । अदालतको ब्रेकमा बाहिर निस्किएका वेला अनौपचारिक कुराकानीमा उनी भन्थे, ‘अब कारागार नै घर जस्तो भइसक्यो ।’

न्यायाधीश अम्बरराज पौडेलले आइतबार साँझ उनको मुद्दा ‘हेर्दा हेर्दै’मा राखिदिएपछि नछुट्न सक्ने आशंका झनै बढ्यो । महरासँगै बसेका एक कैदीबन्दी भन्छन्, ‘हिजो पनि मुद्दा पेन्डिङमा जाँदा उहाँ त्यति होपफुल हुनुहुन्न थियो ।’

तर सोमबार दिउँसो पौडेलले जब अभियोग दाबी नपुग्ने आदेश गरिदिए, तब प्रफुल्लित मुद्रामा हात हल्लाउँदै महरा बाहिरिए ।

अदालतबाट निस्किँद कुनै प्रतिक्रिया नदिएका उनी प्रहरी भ्यानको अन्तिम सिटमा बसेर डिल्लीबजार कारागार पुगे । त्यतिवेलासम्म कारागार प्रशासनका सुरक्षा अधिकारीले महराको मुद्दामा सफाइको आदेश आएको सबै कैदीबन्दीलाई सुनाइसकेका थिए । कारागारमा प्रवेश गर्ने वित्तिकै उनको विदाइ सुरु भयो ।

कारागारभित्रै भव्य विदाइ !

महरा कारागारभित्र प्रवेश गर्ने वित्तिकै ब्लक ‘क’ को १ नं. हलमा प्रवेश गरेका थिए, जहाँ सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी, जन्मदैन सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालासहित ५० कैदीबन्दी थिए ।

महरा छुटेको सन्देश पाएलगत्तै उनीहरुले खादाको व्यवस्था गरिसकेका थिए । ‘एउटै हलमा बसेकाले कैदीबन्दीबीच एक किसिमको आत्मियता हुँदोरहेछ’, कारागारका जेलर अरुण पोखरेल भन्छन्, ‘त्यसैले कारागारका जो कोही छुट्दा विदाइ गर्ने प्रचलन हुन्छ ।’

तर डिल्लीबजार कारागार प्रशासनको नेतृत्वमा दुई वर्षे जिम्मेवारीको अनुभवका संगालेको आधारमा महराको रिहाइमा यसअघिभन्दा फरक र भव्य विदाइ भएको पोखरेल सम्झन्छन् ।

प्रशासनकाअनुसार महरा बसेको ब्लकमा ४ सय ७३ जना कैदीबन्दी थिए । आफू बसेको हलबाट विदाइ भएर निस्किने वित्तिकै उनको भेट टीकापुर घटनामा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीसँग भयो ।

चौधरीले पनि महरालाई खादा लगाइदिँदै बधाई थिए ।

कारागारमा संक्षिप्त मन्तव्य

कैदीबन्दीले खादा लगाएपछि संक्षिप्त रुपमा महराले आफ्ना भनाइ पनि राखे । कारागारमा हुने ५० प्रतिशत कैदीबन्दी निर्दोष छन्’ भनेका उनले बेलाबेलामा कारागारका साथीहरुलाई भेट्न आउने बचन समेत दिएका छन् ।

कारागार प्रशासनका अधिकारीहरुकाअनुसार जेलबाट छुट्ने अधिकांशले महराको जस्तै अभिव्यक्ति दिनेका गरेका छन् । डिल्लीबजार कारागारबाटै ६ पुसमा छुटेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद एवं गुण्डा नाइके दिपक मनाङ्गेले पनि यस्तै अभिव्यक्ति दिएका थिए । कैदीबन्दी भेला पारेर उनले अधिकांश निर्दोष भएको दाबी गरेका थिए ।

अधिकारीहरुका अनुसार कारागारका छुट्ने हरेक व्यक्तिको विदाइमा खुशी साटासाट गरिन्छ । छुट्नेले मुद्दाको थप प्रक्रियामा सहयोग गर्ने पनि प्रतिबद्धता जनाउँछन् । कतिपयले विदा हुँदै गर्दा आँशु पनि खसाल्छन् ।

‘खासमा हरेक व्यक्तिको राम्रो र नराम्रो दुवै पाटो हुँदोरहेछ’, कारागार सुरक्षामा खटिएका प्रहरीका एक अधिकारीले सुनाए, ‘सबै जना एकैठाउँमा बसेर समय विताउँदा कसैले पनि आफू दोषी छु भन्ने नै सोच्दैन रहेछ ।’

फेरि अधिकांश व्यक्ति आवेशबाट प्रेरित अपराधमा संलग्न भएर आउने हुँदा पनि अन्य वेला सामान्य झैँ व्यवहार गर्ने भएकाले पनि यस किसिमको अभिव्यक्ति आउने गरेको उनी टिप्पणी गर्छन् । यतिसम्मकी कर्तव्य ज्यान मुद्दाका कतिपय कसूरदारले पनि आफूलाई निर्दोष भन्ने गरेको उनी स्मरण गर्छन् । जेलर पोखरेल पनि भन्छन्, ‘कारागारमा बस्ने प्रायः सबैले आफूलाई निर्दोष ठान्छन् । गल्ती स्वकार्ने त कमै मात्र हुन्छन् ।’

करिब आधा घन्टामा महराको विदाइ सकियो । त्यसपछि कारागारका आन्तरिक प्रशासन प्रमुख चौकीदार गोकुल गिरीले उनलाई जेलर पोखरेलको कोठामा पुर्‍याए । पोखरेलले कान्छा छोरा निर्मललाई महराको जिम्मा लगाए ।

जेलरको कार्यकक्षमा छोटो कुरा गरेका उनले कारागारमा रहुञ्जेल प्रशासनबाट राम्रो साथ पाएको भन्दै पोखरेललाई धन्यवाद दिए ।

दिनभर भेटघाटमा व्यस्त हुन्थे महरा

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेशपछि १८ कात्तिकको दिन साँझ ६ः१० बजे महरा डिल्लीबजार कारागार चलान गरिएका थिए । कारागारमा रहुञ्जेल उनी बिहान साढे ६ बजे उठिसक्थे भने साँझ १० बजे सुतिसक्थे । महरा मात्र होइन, सबै कैदीबन्दीका लागि प्रशासनले यही नियम लगाएको थियो ।

सुरुवाती दिनमा प्रायः मौन बस्ने महरा महिना दिनपछि अन्य कैदीबन्दीसँग खुल्न थालेका थिए । हरेक दिन बिहान महरा कारागारको पुस्तकालयमा जान्थे र पत्रिका पढ्थे । भेट्न आउनले उपहार स्वरुप ल्याइदिएका किताब पनि पढ्थे । राजनीतिक विषयका पुस्तक नै उनको रुचीमा पर्ने गरेको अधिकारीहरु बताउँछन् ।

सुरुवाती दिनमा महरालाई भेट्न आउनको संख्या न्यूनभए पनि पछिल्ला दिन भेटघाट बाक्लिएको थियो । देव गुरुङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत महरालाई भेट्न गएपछि उनलाई खोज्दै जानेको संख्या झन् बढ्यो ।

दिनभर जसो महरा शुभेच्छुकसँग गफिन्थे । ‘पछिल्लो समय दैनिक ९ देखि १० जना उहाँलाई भेट्न आउने गरेका थिए’, प्रशासनका एक अधिकारीले सुनाए, ‘करिब हजार जनाले उहाँलाई भेटिसक्नु भएको रेकर्ड छ ।’

डिल्लीबजार कारागार ।

सामान्य व्यवहारका भीआईपी !

डिल्लीबजार कारागार प्रायः हाई–प्रोफाइलको रोजाइमा पर्छ । पायक स्थान, अन्यत्रभन्दा कम कैदीबन्दी, सञ्चारका सुविधा जस्ता कारण डिल्लीबजार सबैको रोजाइमा परेको अधिकारीहरु दाबी गर्छन् ।

यसअघि पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, पूर्वसांसद बालकृष्ण ढुंगेल, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ लगायत डिल्लीबजार कारागारमा जेल सजाय काटिसकेका छन् ।

अधिकारीहरुको भनाइमा कारागारमा बस्ने भीआईपीले ‘अन्यभन्दा फरक व्यवहार गरिदिउन्’ भन्ने अपेक्षा राख्ने गर्छन् । जुन कुरा प्रशासनका लागि टाउको दुखाइको विषय बन्ने गरेको अधिकारीहरु बताउँछन् । भीआईपीलाई भेट्न आउने अन्य विशिष्ट व्यक्तिले पनि विशेष सम्मान खोज्ने गरेको उनीहरु बताउँछन् ।

तर महराको हकमा त्यस्तो नभएको जेलर पोखरेल सम्झन्छन् । ‘कारागारमा बसुञ्जेल उहाँले सामान्य व्यवहार देखाउनुभयो’, उनले अनलाइनखबरसँग भने, ‘उहाँको व्यवहार साधारण र अनुशासित रह्यो । उहाँले कहिल्यै यो चाहियो भनेर पनि भन्नु भएन ।’

कारागारमा एक सय ३ दिनको बसाइपछि सोमबार अपरान्ह ४ः१५ बजे निस्किँदै गर्दा उनले कैदीबन्दीसँग यति सामिप्यता कायम गरिसकेका रहेछन् कि बाहिर निस्किँदै गर्दा पनि कैदीबन्दीहरुले हात हल्लाएर विदा गरे ।

चौकीदार गिरी त महरालाई छाड्न गेटैसम्म आइपुगे । फर्किँदै गर्दा उनले महरा राम्रो व्यक्ति भएको भन्दै प्रशंसा पनि गरे ।

तस्वीरहरूः गौरव/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?