Comments Add Comment

क्वारेन्टाइनस्थलमा सीडीओ र मन्त्री, विद्यार्थी र अभिभावक ढुक्क

नबुझेका कारण स्थानीयमा त्रास फैलियो : स्वास्थ्य मन्त्री

६ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा पनि त्यसको व्यापक चर्चा भयो । नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिला गरेको भन्दै सरकारको व्यापक आलोचना भयो । यतिसम्म कि चीनमा रहेका नेपाली विद्यार्थीका अविभावकहरु मन्त्रालय घेराउ गर्नसम्म पुगे ।

सरकारले ढिलै भए पनि चीनमा रहेका १७५ जनालाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा राखेको छ । उद्धार भएर आएका नेपाली विद्यार्थीले मंगलबारसम्म आइपुग्दा क्वारेनटाइनमा चौथो दिन बिताएका छन् ।

चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थीहरु खरिपाटीमा राख्ने निर्णय भएसँगै स्थानीयले त्यसको विरोध गरे । स्थानीय सरकार (चाँगुनारायण नगरपालिका) ले पनि जिल्ला प्रशासन कार्यालयलाई औपचारिक पत्र लेख्दै खरिपाटीमा नराख्न आग्रह गरेको थियो । यद्यपि, आइतबार राति सरकारले खरिपाटीमै उनीहरुलाई राख्यो ।

यो पनि पढ्नुहोस खरीपाटीको दृश्य : वुहानबाट आएका क्वारेन्टाइनमा, स्थानीयका घरमा ताला

उद्धार गरेर ल्याएकाहरु निरोगी हुन् भन्ने कुरा नबुझ्दा केही स्थानीय डराए । १४ दिनसम्म संक्रमण फैलन सक्ने विश्वव्यापी मान्यता अनुसार क्वारेनटाइनमा राखिएको भन्ने कुरा सरकारले बुझाउन नसक्दा पनि यो समस्या देखियो ।

मंगलबार यही विषयबारे बुझ्न घरदैलो गरेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग भने स्थानीयले आपत्ति जनाएनन् । बरु यहाँ ल्याएर राखिएकोमा दुःखेसो नरहेको बताए ।

उनीहरुले उल्टै प्रजिअ पाण्डेसँग आफूहरुले घर छाडेर हिँडेको भनेर अफवाह फैलाइएको बताए । उनीहरुले चीनबाट नेपालीलाई उद्धार गरेकोमा आफूहरु खुसी रहेको सिडियो समक्ष प्रतिक्रिया दिए । एक समय सरकारविरुद्ध आन्दोलनमै उत्रिएका खरीपाटीबासीले सिडियोका अगाडि ‘मिडियाले अफवाह फैलाएको’ भन्नसम्म भ्याए ।

सीडीओपछि मन्त्रीको अवलोकन

मंगलबार बिहानै सीडीओले स्थानीयहरुसँग भेटिन् । स्थानीयवासी आत्तिएको विषयमा जानकारी लिन घरदैलो कार्यक्रम गरेकी सिडीओ पाण्डेले आत्तिनुपर्ने विषय नै नरहेको बताइन् ।

त्यसपछि दिउँसो पुनः स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकालले क्वारेनटाइन क्षेत्रको अवलोकन गरे । उनले क्वारेनटाइनमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरुलाई असहज महसुस हुन नदिन निर्देशनसमेत दिए ।

मन्त्री ढकाललाई सीडीओ पाण्डेले केही समस्या नरहेको ब्रिफिङ गरिन् । र, उद्धार गरेर ल्याइएकाहरु ढुक्कसँग क्वारेनटाइनमा बसेको उनले जानकारी गराइन् ।

आफूले विशेष ध्यान दिएर यसबारे जानकारी लिइरहेको बताउँदै पाण्डेले सबै विद्यार्थीहरु खुसीसाथ भित्र बसेको मन्त्रीलाई जानकारी गराइन् । स्थानीयमा पनि त्यस्तो कुनै किसिमको त्रास नरहेको उनले सुनाइन् ।

मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सकहरुले पनि उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराए ।

मन्त्री भन्छन्- नबुझेका कारण त्रास फैलियो

मन्त्री ढकालले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए पनि नेपाल फर्किएपछि उनीहरुमा त्रास हराएको बताए । ‘यहाँको स्वच्छ वातावरणले पनि मनोबलमा राम्रो प्रभाव पारेको छ, थप केही समस्या छन् भने राज्यका तर्फबाट संयोजन गर्न तयार छौं ।’

सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएको पनि ढकालले बताए । उनले बुझाइको कमीका कारण केही दिन स्थानीयमा त्रास फैलिएको बताए । यद्यपि, अहिले वातावरण शान्त बनिसकेको मन्त्री ढकालले दाबी गरे ।

‘यहाँ बुझाइको कमी देखियो, संक्रमण नभएका विद्यार्थी भाइबहिनीहरुलाई ल्याउन लागिएको भन्ने कुरा पनि बुझिएन’ मन्त्री ढकालले भने, ‘यथार्थ कुरा नबुझ्दा अफवाह फैलिएको हो, अहिले ठीक छ, सबै राम्रो छ ।’

मन्त्री ढकालले विश्वासिलो वातावरण सिर्जना गर्न सञ्चार माध्यमहरुले ठूलो भूमिका खेलेको भन्दै मिडियालाई धन्यवाद दिए ।

शारीरिक र मानसिक हिसाबले ठीक छन् : चिकित्सक

चिकित्सकका अनुसार क्वारेन्टाइनस्थलभित्र ७ जना चिकित्सकको टोलि परिचालन गरिएको छ । बाहिर कन्ट्रोल रुम राखिएको छ । भित्रका गतिविधिबारे कन्ट्रोल रुपले बेलाबेलामा जानकारी लिने गरेको छ ।

त्यहाँ खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले सबैजना शारीरिक तथा मानसिक दुबै किसिमले स्वस्थ रहेको जानकारी दिए । उनले भने ‘उहाँहरु फिजिकल्ली, मेन्टल्ली र सोसियल्ली फिट हुनुहुन्छ ।’

चीनमा कोरोना भाइरसको त्रासमा रहेका नेपाली आफ्नै देशमा फर्किन पाएको र क्वारेन्टाइनमा दिइएको सुविधाका कारण अहिले सामान्य अवस्थामा रहेका डा. फुयालले बताए ।

नेपाली सेनाका सेनानी डा. नवीन फुयाँल

उनका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ४० जना महिला र २ जना बालबालिकासहित १७५ जना नेपाली छन् ।

‘उहाँहरुको स्वास्थ्य राम्रो छ, हामीले आउनेवित्तिकै परीक्षण गरेका थियौं, सबैलाई ज्वरो नाप्न थमोमिटर र कागज दिएका छौं । तापक्रम बढ्यो भने खबर गर्नुहुन्छ’ उनले भने ‘यहाँ मेडिकल डाक्टरसहित ७ जनाको स्वास्थ्यकर्मीको टोली उहाँहरुलाई हेर्न बसिरहेको छ ।’

डा. फुयालका अनुसार अहिलेसम्म उनीहरुलाई उपचारको आवश्यकता परेको छैन । क्वारेन्टाइनमा मानसिक रोग विशेषज्ञ पनि खटाइएको छ ।

‘केही स्वास्थ्य समस्या परेमा एम्बुलेन्स स्ट्याण्डबाइ राखेका छौं, कुन अस्पताल लैजाने भन्ने पनि निश्चित भइसकेको छ’ उनले भने ।

ढुक्क छन् अभिभावक

उद्धार भएर आएका विद्यार्थीहरु प्रत्यक्ष भेट्न नपाए पनि भिडियो कल तथा फोनमार्फत आफ्ना परिवारसँग दिनहुँ सम्पर्कमा छन् । उनीहरुले आफूलाई चाहिएका सामानहरु गेटसम्म ल्याइदिन आफन्तलाई भन्ने गरेका छन् ।

चिकित्सक फुयाँलका अनुसार धेरैजनासँग नेपालको सिमकार्ड छैन । उनीहरुले आफन्तलाई सिमकार्ड ल्याइदिन आग्रह गर्ने गरेका छन् । ‘आफूलाई चाहिने सामानहरु डिमान्ड गर्नुहुन्छ, आफन्तहरुले पनि ल्याइदिने गर्नुभएको छ’ डा. फुयाँलले भने, ‘धेरैजसो सिमकार्डको डिमान्ड छ, २ जना बच्चाहरुका लागि पनि कपडा तथा खानेकुरा डिमान्ड हुने गरेको छ ।’

बच्चाबाहेक अरुलाई भने खानेकुरा बाहिरको प्रतिवन्ध लगाइएको उनले बताए । भित्र रहेका विद्यार्थीका अभिभावकहरु पनि निकै खुसी छन् । उद्धार नहुँदा धेरै चिन्तामा परे पनि अहिले निकै खुसी भएको भन्दै एक अविभावकले सरकारलाई धन्यवाद समेत दिइन् ।

मंगलबार केही सामान लिएर क्वारेन्टाईनस्थल पुगेकी ललिता बस्नेत निकै खुसी देखिन्थिन् ।

उनकी छोरी तीन महिनाअघि स्नातकोत्तर अध्ययनका लागि चीन गएकी थिइन् । उतै रहँदा धेरै चिन्ता भएको तर उद्धार भएपछि भने आफूहरु धेरै खुसी रहेको उनले अनलाइनखबरलाई बताइन् ।

‘भित्रको कपडा अलि पातलो भयो भनेर छोरीले भनेपछि अहिले म सिरक लिएर आएकी’ बस्नेतले भनिन्, ‘भिडियो कल हुन्छ, फोनमा कुरा हुन्छ, सरकारले उद्धार गरेर ल्याइदियो, हामी धेरै खुसी छौं ।’

तस्वीर तथा भिडियोः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment