Comments Add Comment

प्रधानमन्त्रीले बोलेर भ्रष्टाचार रोक्न सकिँदो रहेनछ

‘पार्टीमा इमान्दारहरु पछि परे’

हामीकहाँ सबैभन्दा ठूलो दुःखको कुरो भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्यो । यसलाई अपेक्षाकृत नियन्त्रण गर्न सकेनौं । राजनीतिक दलभित्रै कतिपय मानिस भ्रष्ट छन् । जसका कारण प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, नीति निर्माणको क्षेत्रमा ठूलो असर गरेको छ । भ्रष्टाचारको विरुद्ध परिणामुखी उपलब्धी पनि हासिल गर्न सकेनौं ।

के गर्ने, इमान्दार मान्छेहरु दलभित्र अल्पमतमा परिसके । बेइमानी गर्ने, ठगठाग गरेर के–के गरेर यताउता गर्ने, काठमाडौंमा घुमघाम गर्ने, सरुवा गर्दे भनेर जीविका चलाउनेहरुको संख्या बढ्दो छ ।

आफ्नो व्यवसाय, क्षमता, निष्ठा र योग्यतामा भर परेर आर्जन गरौं अनि सामाजिक राजनीतिक क्षेत्रमा अगाडि बढौं भन्ने भावना कमजोर छ । अब जनता र पार्टीका कार्यकर्ताहरुमा नै भ्रष्टीकरणका विरुद्ध विशाल आवाज उठ्न जरुरी छ । चेतना जगाउन जरुरी छ ।

होइन भने कानुन बनाएर, पार्टी अध्यक्षले बोलेर, प्रधानमन्त्रीले मात्रै चाहेर पनि रोक्न सकिँदो रहेन छ । यसका लागि हाम्रा कानुनी व्यवस्थाहरु पनि कमजोर छन् तीनलाई सच्याउँदै, अघि बढ्नुपर्छ ।

हाम्रो राजनीतिक प्रणालीमा को इमान्दार र सक्षम छ भनेर मापन गर्ने प्रणालीलाई राज्यको कानूनभित्र राख्न सकेका छैनौं । भ्रष्टाचार नियन्त्रणका लागि केही व्यक्तिले प्रयास गर्नु भएको छ । तर, प्रशासन र राजनीतिभित्र भएको भ्रष्टीकरणलाई नियन्त्रण गर्न सकिएको छैन ।

प्रदेश सरकार गठन भएको दुई वर्ष भयो । यो अवधिमा संघीयताको राम्रो अभ्यास भएको छ । तर, कानून निर्माणको तहमा केही समस्या छ । हामीकहाँ ऐन बने, तर तत्काल नियमावली बनाउनुपर्छ भन्ने बुझाइ कम छ । ऐन नबनी सिधै कार्यविधि बनाएर काम गर्ने परिपाटी पनि छ । सामान्यतया ऐन बन्नुपर्छ । ऐनपछि नियमावली बन्नुपर्छ ।

हाम्रोमा क्षमता र तयारी कमजोर छ । नियमावलीमा धेरै कुरा समेटिनुपर्छ । कार्यविधि भनेको सरकारको आन्तरिक व्यावस्थापकीय काम हो । ऐन र नियमावली भनेको कानूनगत र प्रकृयागत हो । यहाँ बुझाइ, कार्यक्षमता र जनशक्तिको समस्या छ । यी सबै कुरा बुझ्ने मान्छे कम छन् । १/२ जनाले सबै काम गर्न भ्याउँदैनन् ।

तर, जनता निराश भइहाल्नुपर्ने अवस्था छैन् । केही न केही काम भइरहेको छ । हामी नयाँ अभ्यासमा छौं । हामी हाम्रो देशमा तीन तहको संघीयता कार्यान्वयन गर्ने अभ्यास गर्दैछौं । यसलाई धान्ने, यसका सबै आयाम बुझ्ने, प्रदेश र स्थानीयले नयाँ सिजना गर्ने हाम्रो देशको क्षमता नै कति छ र ?

हाम्रो क्षमताअनुसार यो अभ्यास धेरै माथि छ । राज्यसँग क्षमता कम हुँदा हुँदै यत्तिको काम हुनु चाहिँ सन्तोषजनक हो । मानिसको अपेक्षा धेरै छ । हामीले सिंहदरबार घर–घरमा पुग्यो भन्दै भाषण गर्‍यौं । आम सर्वसाधारणमा सिंहदरबार घर आँगनमा आउँदा सबै परिवर्तन हुन्छ भन्ने बुझाइ थियो ।

जनताको अपेक्षा र हाम्रो अभ्यासबीचको दुरी बढी भयो । जनताको बुझाइ धेरै भयो । हाम्रो काम गर्ने क्षमता साधनस्रोत कम भयो । हामीले जति गरे पनि मुलुकको बजेट १५ खर्ब कै हो । ठूलो बनाउन सक्दैनौं ।

अर्काे कुरा हाम्रो काम गर्ने शैली पनि ढीलो छ । तर, पनि केही न केही संघीयता कार्यान्यन गरेका छौं । हिजो मानिस सानो सानो कामका लागि काठमाडौं जान्थे, आज मानिस स्थानीय तह र प्रदेशमा आउँछन् । काठमाडौं जान बिर्सिसके । यसलाई राम्रो अभ्यास मान्न सकिन्छ । तर, आम जनताको अपेक्षा रातारात भइहाल्छ भन्ने थियो ।

(नेकपाका पूर्वसांसद एवं प्रदेश सरकारका सल्लाहकार भण्डारीसँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment