Comments Add Comment

चाखलाग्दो कुरा : किन बनाइन्थ्यो गढ र किल्लाहरु ?

धेरै लामो समय द्वेध राज्य चलेको मध्यकालीन राज्य व्यवस्थामा एउटाले गरेको काम अर्काेलाई चित्त नबुझ्दा सधैं आन्तरिक मनमुटाव बढ्दै गएको थियो । आपसी बेमेलका कारण मध्यकालीन समयमा स-साना राज्यहरुबीच झै-झगडाका घटनाहरु धेरै घटेको पाइन्छ । एउटा राज्यमा दुई जनाको शासन हुँदा एउटाको काम अर्काेलाई मन नपर्दा खेताला बोलाएर आफ्नै घरमा आगो लगाउने चलन समेत मध्यकालीन राजनीतिमा धेरै पटक देखिन्छ । त्यसैले त कहिले तिरहुते त कहिले खसहरुले पटक पटक आक्रमण गरे ।

आफ्नै सहयोगीसँग चित्त नबुझेर धेरै पटक यहीका शासकले सिम्रौनगढबाट लडाकू झिकाएर उपत्यकामा आक्रमण गर्न लगाएको इतिहासमा स्पष्ट देखिन्छ । उत्तर मध्यकालसम्म पुग्दा बाइसे र चौबिसे राज्यहरुबीचको बेमेल, राज्य एकीकरणको असफल प्रयास आदिका कारण पनि धेरै समस्याहरु सिर्जना भयो । एकीकरणको सिलसिलापछि झनै नेपालमा युद्धको माहोल चुलियो । पछि अँग्रेजहरुसँगको युद्ध र त्यसपछि भोटसँगको युद्धले नेपालमा युद्धको परिपाटी लामो समयसम्म चलेको देखिन्छ ।

माथि उल्लेखित यी सबै युद्धहरुको एउटै नतिजा हामीहरु किल्ला एवं गढीहरुको भने धनी भयौं । हामीसँग यस्तै दर्जनौं किल्ला एवं गढीहरु छन् ।  जुन मध्यकाल र एकीकरणपछि बनेका छन् । पुरातत्व विभागका प्रवक्त रामबहादुर कुँवरका अनुसार अहिले किल्लाहरु आफैंमा संरचना देखिनेगरी रहेकोले मध्यकाल र शाहकालका किल्लाहरुको उत्खनन् र खोजी आवश्यक छैन । लिच्छविकालका किल्लाहरुको बारेमा भने खासै उल्लेख नपाइएकोलले अहिलेसम्म यसबारे खासै जानकारी संकलन नगरिएको उनले बताए ।

गढ एवं किल्ला

गढ एवं किल्लाहरु सुरक्षाका दृष्टिकोणले बनाइएका संरचनाहरु हुन् । जहाँ लडाकू सैनिकहरुलाई राख्ने गरिन्थ्यो । जुन ठाउँ चारैतिर अग्ला पर्खालहरुले घेरेर राखिएका हुन्थे । बीचमा सेनाहरुको बसोबास हुन्थ्यो । त्यसको छेउछाउमा चारै तिर सेनाको चौकीहरु राखिएका हुन्थे । टाढाबाट आएका शत्रूपक्षका सेनाहरु हेर्नको लागि छुट्टै बन्दोबस्ती हुन्थ्यो । त्यस्ता सैनिकहरु आक्रमणको लागि आएको देख्नेबित्तिकै प्रत्याक्रमणको लागि तयार हुन समय मिल्थ्यो । जसले ती किल्लाहरुबाट दरबारसम्म आक्रमणकारीहरु प्रवेश गर्न सक्दैनथे ।

प्राचीनकालमा सानाठूला सबै सहरहरूलाई सर्वप्रथम गढ (किल्ला) का रूपमा परिणत गर्ने परिपाटीको सुरुवात भयो । ती सबै गढीहरु पर्खालले घेरेर सुरक्षित बनाइएका हुन्थे । त्यसको बाहिर ठूला ठूला नहरहरुको निर्माण गरिएको हुन्थ्यो । त्यसमा विभिन्न हिंस्रक जनावरहरु समेत छाड्ने गरिएको विभिन्न स्रोतहरुमा उल्लेख पाइन्छ ।

कस्ता हुन्थे किल्लाहरु ?

त्यस युगका सहरहरू चारैतिर अग्ला-अग्ला पर्खालले घेरेर सुरक्षित बनाइएका हुन्थे । सुरक्षा पर्खालहरु एवं किल्लाहरु एउटा दरबारको बाहिरी भागमा हुन्थ्यो भने अर्काे शहरको बाहिरी भागमा । मध्यकालमा आक्रमण गर्दा सैनिकहरुले बस्तीमा खासै आक्रमण गर्ने गरेका थिएनन् । उनीहरुको ध्यान सिधै दरबारमाथिको आक्रमणमा जाने गरेको थियो । त्यसैले पनि शहरलाई भन्दापनि दरवारको सुरक्षा पर्खाल धेरै बलियो बनाउने चलन थियो ।

सहरबाट बाहिर जाने ठाउँहरुमा मजबुत ढोका बनाइएका हुन्थे । बाहिरबाट शत्रुको आक्रमण हुने अवस्था सिर्जना हुनेबित्तिकै सहरबाट बाहिर जाने-आउने सबै ढोकाहरू बन्द गरिन्थे । ठूलो बल नपुर्‍याई सहरभित्र पस्न सकिंदैनथ्यो । काठमाडौँ, भक्तपुर र ललितपुर मात्र नभएर कीर्तिपुर, थानकोट, लुभु, फर्पिङ्गजस्ता सहरहरू पनि किल्लाको रूपमा विकसित गरिएका थिए । वि.सं. १३५० मा खस राजा जितारी मल्लले काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए । सो समयमा एक महिनासम्म किल्लाको बाहिर कुरेर बस्दा पनि पाटन सहरभित्र पस्न नसकेको गोपाल वंशावलीमा उल्लेख गरिएको छ ।

नेपालका मुख्य गढीहरु सिन्धुपाल्चोकको दुगुना गढी, रसुवाको रसुवा गढी, मकवानपुरको चिसापानी एवं मकवानपुर गढी, हरिहरपुर गढी, सिन्धुली गढी, चितवनको उपरदाङ गढी र अमरगढी जस्ता गढीहरुलाई महत्वपूर्ण मानेका छन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले गढी एवं किल्लाहरुको संख्या र त्यसको महत्वको विषयलाई समेटेर प्रतिवेदन समेत तयार पारिएको छ । त्यसमा मन्त्रालयले समेत महत्वपूर्ण सूचीमा राखेका चर्चित १० गढीहरुको उल्लेख गरिएको छ ।

मूल दरबारको सुरक्षाको लागि बनेका विभिन्न किल्ला एवं गढीहरुको अहिले खासै आवश्यकता त छैन । अहिले विशेषगरी मध्यकाल र शाहकाल पछिका सैन्य गतिविधिहरु बढ्दै गएपछि किल्ला एवं गढीहरुको संख्या समेत तीब्र रुपमा बढ्न थाले । नेपाल-अँग्रेज युद्धको समयताका बुटवलबाट अँग्रेज फौज अघि बढेपछि त्यसको सुरक्षाको लागि निर्माण गरिएको शिवगढी किल्ला होस् या त सिन्धुलीगढीदेखि मकवानपुरगढी र चिसापानी गढीहरु यी सबै सैन्य आक्रमणबाट बच्नको लागि बनाइएका गढीहरु हुन् ।

सुगौली सन्धिपछि दक्षिण तर्फको विवाद साम्य भएपछि किल्लाहरुको निर्माण उत्तर तिर सुरु भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको समयमा सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसमा एउटा किल्ला तयार पारियो । तिब्बतसँगको सीमा विवादको समयमा शत्रू पक्षसँग बच्नको लागि ऐतिहासिक दुगुनागढीको विकास भयो । अधिकांश गढी एवं किल्लाहरु यतिबेला नेपाली सेनाको सुरक्षामा रहेका छन् भने धेरै किल्लाहरुमा सैनिकहरुले आफ्ना गतिविधिहरु समेत सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment