Comments Add Comment

सातौं महिनामा पनि सुध्रियो व्यापार घाटा, उकासिँदै निर्यात

१२ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनाबाट ओरालो लागेको वस्तु आयात सातौं महिनासम्म आइपुग्दा समेत जारी रह्यो । अर्कोतर्फ वस्तु निर्यात उत्साहजक रुपमा वृद्धि हुँदा त्यसको सकारात्मक प्रभाव व्यापार घाटामा देखिएको छ । चालु आवको सात महिना (साउन-माघ)सम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार व्यापार घाटा अघिल्लो वर्ष समिक्षा अवधिको तुलनामा घटेको हो ।

तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यसै महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनासम्म आइपुग्दा ३.५६ प्रतिशतले आयात घटेको छ ।

सात महिनामा ६४ अर्ब ९७ करोड ७१ लाख रुपैया बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ५३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यसअवधिमा निर्यात व्यापार २२.४१ प्रतिशतले बढेको छ ।

नियार्तमा वृद्धि र आयात घट्दा त्यसले समग्र वैदेशिक व्यापारमा सुधार देखिएको हो । पछिल्दो समय वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको हिस्सा समेत निरन्तर बढिरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार अहिले वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.४८ प्रतिशत पुगेको छ ।

गत वर्ष यसै समयमा ५.९९ प्रतिशत मात्र हिस्सा थियो । यो वर्ष निर्यातको हिस्सामा २४.८८ प्रतिशतले वृद्धि भएको छ । आयातको हिस्सा भने खस्किएको छ । यसवर्ष आयातको हिस्सा ९२.५२ प्रतिशत रहेको छ । गत वर्ष यस्तो हिस्सा ९४.०१ प्रतिशत रहेको थियो ।

७ महिनाको अवधिमा अवधिमा ७ खर्ब ३८ अर्ब ६३ करोड घाटा भएको छ । गत वर्ष यसै अवधिमा ७ खर्ब ८० अर्ब १८ करोडको घाटा थियो । यो वर्ष ५.३३ प्रतिशत ब्यापार घाटा कम भएको छ ।

समग्र वैदेशिक व्यापारमा कमी

आयातमा कमी आएको प्रभाव भने समग्र वैदेशिक व्यापारमा समेत देखिएको छ । तथ्यांक अनुसार सात महिनामा मुलुकको समग्र वैदेशिक व्यापार ८ खर्ब ६८ अर्ब ५७ करोड पुगेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा ८ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा २.०१ प्रतिशतले वैदेशिक व्यापारमा कमी आएको छ ।

नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा दुई छिमेकी मुलुक भारत र चीनमा निर्भर छ । त्यसमध्ये भारतमा नेपालको निर्यात बजारसमेत राम्रो छ । तर, चीनबाट भने आयातमात्र अधिक छ ।

तथ्यांकअनुसार सात महिनामा भारतबाट ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

चीनबाट १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने मात्र १ अर्ब ६ करोड ५१ लाख रुपैयाँ बराबरको भएको छ ।

निर्यात बजारमा सबैभन्दा राम्रो मुलुक अमेरिका हो । त्यहाँबाट १२ अर्ब ४७ करोडको सामान आयात हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात समेत भएको छ ।

चालु आवको पहिलो ७ महिना (माघसम्म) बैदेशिक व्यापारको अवस्था

आयात : ८०३ अर्व ६० करोड (गत वर्ष सोही अवधिमा ८३३ अर्ब २६ करोड)

निर्यात : ६४ अर्व ९७ करोड (गत वर्ष सोही अवधिमा ५३ अर्व ७ करोड)

आयात र निर्यात अनुपात : १२.४

ब्यापार घाटा : ७ खर्ब ३८ अर्ब ६३ करोड घाटा (गत वर्ष सोही अवधिमा ७ खर्ब ८० अर्ब १८ करोड)

कूल वैदेशिक व्यापार : ८६८ अर्ब ५७ करोड (गत वर्ष सोही अवधिमा ८८६ अर्ब ३४ करोड)

कूल वैदेशिक व्यापारमा आयातको हिस्सा : ९२.५२ (गत आवको सोही अवधिमा ९४.०१)

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ७.४८ (गत आवको सोही अवधिमा ५.९९)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment