Comments Add Comment
विद्या भट्टराईको स्मृति :

रवीन्द्रले छाडेपछिको एक वर्ष…

चलचित्रको कथा जस्तै अपत्यारिलो र कहिलै कल्पना नगरिएको पीडादायी घटना घटेको आज ठीक वर्षदिन पुगेछ । यो केवल मेरा लागि मात्रै नभएर सिंगो देशको लागि दुःखद् घटना थियो । यस्तो घटना जो कोहीका लागि पनि दुःखद् नै हुन्छ । यही बज्रपातको जंजीरबाट बाहिरिन लागि मलाई करिब ६ महिना लाग्यो ।

विक्षिप्त अवस्थाबाट बाहिर निस्कन निकै कष्ट भयो । कहिले उहाँकै तस्वीर हेरेर त कहिले उहाँले गरेका भाषणहरुको रेकर्ड सुनेर पछिल्ला एक वर्षको समय गुजारेकी छु । मैले अहिलेसम्म आफैंले आफैंलाई ढाँट्दै आएकी छु । अब उहाँ मेरो साथमा कहिलै पनि हुनुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि यो सोचाईलाई मनमा आउनबाट जबर्जस्त रोकिरहेकी छु ।

मानिस जो कोही होस् कसैलाई पनि गुमाएको क्षण सुखद् हुन सक्दैन । म दुःखद् घटनाको एउटी पात्र हुँ । हरेक योजना बनाइसकेपछि त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि गहन बहस गर्ने सारथि गुमाउँदा मेरा हरेक निष्कर्षहरु आलकाँचो बन्ने भय मनमा अझै पनि छ । अब त्यो साथ र सहयोगको अभावलाई कसरी पूरा गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ आजको दिनसम्म ।

जतिबेला उहाँको याद आउँथ्यो बच्चाहरुसँग भुलेर हुन्छ या त परिवारसँग भुलेर बिर्सने कोसिस गर्छु । वास्तवमा भन्दा उहाँलाई बिर्सन पनि सकेको छैन र सम्झन पनि ।

पलपलमा आउने सम्झनाहरुले आँखाबाट अश्रुधारा बगेर जान्छन् । म एउटा प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्ति । मेरो हरेक पाइलाको प्रेरणाको स्रोत हुनुहुन्थ्यो रवीन्द्र । जतिबेला आत्मविश्वासको कमी हुन्थो, ‘तिमी सक्छौ’ भन्ने विश्वास उहाँले नै जगाइदिनुहुन्थ्यो । मैले मलाई जति चिनेकी थिएँ, त्योभन्दा बढी उहाँले मलाई चिन्नुभएको थियो ।

म आफ्नो करिअर यही प्राज्ञिक क्षेत्रबाट अघि बढाउन चाहन्थेँ । उहाँ पनि यसमा सन्तुष्ट हुनुहुन्थ्यो । यस्तो सारथि गुमाउँदा अहिले पनि आफूले आफैंलाई रित्तो महसुस गरिरहेकी छु ।

दुर्घटनाको सुरुवाती ६ महिना पीडा र आँशुकै साथमा गुज्रियो । यो समयमा परिवार, समाज र साथीभाइहरुले दिएको स्नेहको म सधैं ऋणी छु । धेरैले भन्थे, ‘एक्लो भएपछि समाजले पनि राम्रो नजरले हेर्दैन’ । तर मैले अहिलेसम्म त्यस्तो महसुस गर्नुपरेको छैन । यो उहाँले समाजमा छाड्नुभएको राम्रो छविको परिणाम पनि हुनसक्छ । यो बीचमा परिवारले दिएको साथ र साथीहरुले दिएको हौसलाले नै मैले आफूलाई एक्लोपनबाट बाहिर निकालेकी छु ।

मैले जुन दिन पोखरा क्षेत्र नं २ मा उम्मेदवारी दिने निर्णय गरेँ । त्यो दिन धित मरुन्जेल रोएँ । जतिबेला उहाँ मसँग हुनुहुन्न भन्ने हुन्छ, त्यतिबेला मलाई अत्याधिक पीडा हुन्छ । सुरुमा त उम्मेदवारी पनि दिन्न कि भन्ने सोचाई थियो । तर, साथीहरुले निरन्तर दिएको सुझाव र पार्टीले समेत सर्वसम्मत निर्णय गरेपछि म उम्मेदवारी दिन तयार भएँ ।

यो उहाँको एउटा निशानी पनि थियो । उहाँको एजेण्डालाई संसदमा बुलन्द गराउनु पर्ने जिम्मेवारी मसम्म सरेको थियो । सुन्दर र विकसित पोखराको परिकल्पनालाई पूरा गर्नुपर्ने थियो । यही कुरा साथीहरुले बारम्बार सम्झाउँदै आएका थिए । त्यही जिम्मेवारी र सुझावहरुलाई आत्मसाथ गर्दै उम्मेदवारी दिने निर्णयमा पुगेँ ।

उम्मेदवारी दिने दिन साँझ घर फर्किएपछि एक्कासी उहाँकै यादले भक्कानो फुटेर आयो । त्यो दिनसम्म आफैंले आफैंलाई ढाँटिरहेकी थिएँ । उहाँ अझैसम्म पनि मेरै साथमा हुनुहुन्छ भन्ने भ्रममा म आफैं बाँचिरहेकी थिएँ । घरका फोटाहरुले पनि झक्झक्याइरहन्थ्यो । तर पनि मेरो सोचाइमा उहाँ अझै पनि मेरै साथमा हुनुहुन्छ ।

स्वाभाविक रुपमा एकल भइसकेपछि आफ्ना मनमा पनि कतिपय विचारहरु आउँछन् । समाजबाट मैले त्यस्तो धेरै ठूलो अप्ठ्यारो अहिलेसम्म ब्यहोरिसकेको छैन । अहिलेसम्म अग्रजहरुले पनि एउटा कुशल अभिभावकत्व प्रस्तुत गरिरहनुभएको छ ।

जतिबेला उहाँको याद आउँथ्यो बच्चाहरुसँग भुलेर हुन्छ या त परिवारसँग भुलेर बिर्सने कोसिस गर्छु । वास्तवमा भन्दा उहाँलाई बिर्सन पनि सकेको छैन र सम्झन पनि । यो एक वर्षमा धेरै पटक उहाँका भाषणहरु सुनेँ । अहिले पनि सुन्छु बेला बेलामा ।

उहाँको भाषण मात्रै सुनेँ भने पनि आफूलाई आफैंले कमजोर ठान्नुपर्ने छैन जस्तो लाग्छ । उहाँले दिने हौसलाले मलाई अझै पनि उत्प्रेरणा दिने गरेको छ । त्यसैले मसँगै हुनुहुन्छ भन्ने बनाउनको लागि मैले आफैंलाई अझै पनि ढाँटिरहेकी छु ।

रवीन्द्रको उत्तराधिकारी बन्दा

मैले एउटा पति गुमाएको, मुलुकले एउटा समृद्ध नेपालको परिकल्पनाकार गुमाएको झण्डै नौ महिनापछि गत मंसिर ६ गते उपनिर्वाचन भयो । मेरो मनले त्यही क्षेत्रमा उम्मेदवारी दिएर आफ्नो पीडालाई झनै बुलन्द गराउन मानिरहेकै थिएन । साथीभाइहरुले रवीन्द्रको सपना पूरा गर्न उत्तराधिकारी बनेर अघि बढ्न उत्प्रेरणा दिने क्रम जारी राखेका थिए ।

यस्तै उत्प्रेरणा पहिले उहाँ (रवीन्द्र)ले दिनुहुन्थ्यो । सोचेँ यही ठाउँमा रविन्द्र हुनुभएको भए ? उहाँले कति हौसला दिनुहुन्थ्योहोला ? एकाएक उहाँका आवाजहरु कानमा गुन्जिन थाले । आँखाले आँशुको धारा बगाउन थाल्यो । अन्तिममा भारी मनले उम्मेदवार बन्ने निर्णय गरेँ ।

त्यतिबेलासम्म पार्टीले पनि सर्वसम्मत मलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको रहेछ । चुनाव भयो म त्यसमा भारी मतले विजयी पनि भएँ । दुःखद् क्षणलाई सधैंभरी मनले सम्झिएर सधैं आफैंलाई कमजोर बनाउनु हुँदैन भन्ने सम्झिएर सक्रिय रुपमा राजनीतिमा लाग्न थालेकी हुँ ।

मैले यो दौरानमा परिवार र साथीभाइहरुबाट एकदमै धेरै साथ र सहयोग पाउँदै आएकी छु । उहाँले पूरा गर्न नसकेका योजनाहरुले मलाई राम्रोसँग सुत्न दिने गरेका छैनन् । बेलाबेला कमजोर महसुस गर्छु । फेरि उहाँले दिएको हौसला सम्झन्छु ।

अब त्यस्तो हौसला उहाँको मुखबाट सुन्न पाउने छैन । यही सम्झिएर कहिलेकाहीँ त भक्कानो फुट्छ । फेरि सम्हालिन्छु । आँशुले पीडा बगाएपछि मन चंगा हुन्छ । अनि फेरि आफ्नो जिम्मेवारी तिर लाग्छु । मैले आफू विक्षिप्त हुँदाहुँदै पनि परिवार र साथीभाइहरुको यो हौसलाका कारण नै यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

संसदमा पनि रवीन्द्रकै छाया

म एउटा प्राज्ञिक क्षेत्रको मानिस संसदमा पुग्ने बित्तिकै सभामुख नियुक्ति प्रक्रिया लगायतका झमेलाहरुमा परेँ । संसदीय निर्वाचनको पहिलो अनुभवपछि मेरो संसदभित्रका सुरुवाती केही दिनहरु त्यस्तै झमेला देखेरै बित्यो ।

यो मेरो नयाँ अनुभव भएकाले मलाई धेरै कुरा सिकेर अघि बढ्नुपर्ने चुनौतीहरु पनि छन् । अझ मुख्य चुनौतीको कुरा भनेको त मैले रवीन्द्रकै अपुरा योजनाहरुलाई समेत संसदमा राख्नुपर्छ । यही योजनाको भारी बोकेर संसद जाँदा संसदमै समेत रवीन्द्रको छायाले सताउने गरेको छ ।

म संसदीय अभ्यासमा नयाँ पनि हुँ । संसदीय अभ्यासमा नयाँ भएकाले मैले अग्रजहरुसँग धेरै सिक्नुपर्ने छ र अनुभवीहरुसँग सिक्नुपर्नेछ र सिक्दै पनि छु । यतिबेला सबैलाई एकै हिसाबको व्यवहार गरेर अघि जानुपर्ने जिम्मेवारी ममाथि आइपुगेको छ । मैले समाजमा फरकफरक हिसाबले फरक जिम्मेवारीसहित हिँड्नुपर्छ भन्ने सधैंभरी बोध गरेँ ।

यसैबीचमा मेरो जीवनमा अपत्यारिलो परिघटनाले घेर्‍यो । म विवश भएँ । तर पनि म सम्हालिँदै आएकी छु । उहाँको निधनपछि आजसम्मको यो कालखण्डमा कैयौं विचारहरु आए, ती विचारहरुलाई जनमतले पराजित गर्‍यो  । यो उहाँप्रतिको सम्मान, उहाँले गरेको योगदानको कदर, पार्टीप्रतिको विश्वास र म प्रतिको भरोसाको परिणाम हो भन्ने मेरो बुझाइ छ ।

स्वाभाविक रुपमा एकल भइसकेपछि आफ्ना मनमा पनि कतिपय विचारहरु आउँछन् । समाजबाट मैले त्यस्तो धेरै ठूलो अप्ठ्यारो अहिलेसम्म ब्यहोरिसकेको छैन । अहिलेसम्म अग्रजहरुले पनि एउटा कुशल अभिभावकत्व प्रस्तुत गरिरहनुभएको छ । यहाँका स्थानीय तहका प्रमुखदेखि केन्द्रीय संसदका सदस्यहरुले समेत सौहार्दपूर्ण व्यवहार गर्नुहुन्छ ।

उहाँहरुको साथ र सहयोगबाट नै म अघि बढेकी छु । केन्द्रीय एवं प्रदेशका मन्त्रीहरुले पनि धेरै सहयोग गर्दै आउनुभएको छ । यो नै मलाई उर्जा दिने स्रोहरु हुन् ।

मुलुकले एउटा सम्भावना बोकेको नेता गुमाए पनि उहाँका एजेण्डाहरु कहिलै मर्ने छैनन् । पूरा नभएसम्म उहाँका सपनाहरु कहिलै तुहिने छैनन् । यी एजेण्डाहरुलाई सबै नेताहरुले सधैंभरी महत्वका साथ हेरिदिनुहुन्छ भन्ने विश्वास छ ।

(रवीन्द्र पत्नी विद्या अधिकारी भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment