Comments Add Comment

भ्रमण वर्षबारे सरकार ‘पर्ख र हेर’को रणनीतिमा

२२ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणपछि विदेशमा हुने सबै प्रकारका प्रवर्द्धनात्मक कार्यक्रम बन्द गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको नेपाललाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित पारेको हो । सरकारले भ्रमण वर्षका कार्यक्रम तत्कालका लागि स्थागित गर्ने निर्णय गरेपनि यो अभियान के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, त्यसका आधारमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने छ । ‘अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिएको छ, त्यसबाहेक अन्य निर्णय भएका छैनन्, उनले भने, ‘कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, सोही आधारमा भ्रमण वर्षका सम्बन्धमा थप कदम चाल्नेछौं ।’

आवश्यक भए अन्तर्राष्ट्रिय उडान रोक्न अदालतले दिएको आदेशको सम्बन्धमा सरकारका प्रवक्ता डा. खतिवडाले अदालतको आदेशसँगै अन्तर्राष्ट्रिय सन्धी सम्झौतालाई समेत उत्तिकै सम्मान गर्नुपर्ने उल्लेख गरे । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल अन्तराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको र रोक्नुपर्ने भए विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाउन सरकारलाई सुझाव दिएको थियो ।

सामान्यतया सकंटका समयमा उडान रोक्नुभन्दा बढी सचेतना अपनाएर मुलुकहरुबीचको हवाई सम्पर्क भने कायम राख्नुपर्ने मान्यता रहेको हुन्छ । भ्रमण वर्ष लक्षित अन्तर्राष्ट्रिय प्रवर्द्धन रोक्ने निर्णय गरेपनि भ्रमण वर्ष अभियान, भ्रमण वर्ष सचिवालय, यसका पदाधिकारीका सम्बन्धमा के गर्ने भन्नेबारे भने सरकारले निर्णय गरिसकेको छैन । मन्त्री खतिवडाका अनुसार कोरोनाको सचेतना तथा तयारी प्रदेश र स्थानीय तहसम्म पुर्‍याउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment