Comments Add Comment

पहिले मनुष्य, अनि नारी !

नारीले संसारको सबै स्थानमा समानरुपले मनुष्यको दर्जा पाउनु चुनौतीपूर्ण बनेको छ । अध्यात्मिक दृष्टिकोणमा यो विश्व ब्रह्माण्डको सिर्जना प्रकृति र पुरुषको संयोजनवाट भएको मानिन्छ, जसमा अहंकार प्रधान पुरुष शक्ति र भाव प्रधान नारी शक्तिको संयोजन, सहकार्य र सहअस्तित्ववाट सृष्टिको सिर्जना, लय र विलय हुन्छ ।

प्रकृतिमा सिर्जना गर्न सक्ने शक्ति भएकाले यसलाई नारी शक्तिको रुपमा लिइन्छ । जब दुबै विश्व ब्रह्माण्डको अपरिहार्य तत्व हुन भने हरेक कुरामा नारी र पुरुष भनेर किन लिगं छुट्याइरहनुप¥यो ? नारी सत्ता वा पुरुष सत्ता कुन शक्तिशाली वा राम्रो भनेर किन तौलेर तर्क वितर्क गरिरहनुप¥यो ?

देवीशुक्तको तेस्रो श्लोकमा म शक्ति हूँ, विश्वब्रम्हाण्ड की रानी हूँ, म शिव सँगै हुन्छु, भनिएको छ । आदि परा दिब्यशक्तिमा महाकाली समयकी देवी, महासरस्वती ज्ञानकी देवी र महालक्ष्मी समृद्धिकी देवीलाई पूजा आराधना गरी सनातनदेखि शक्ति आह्वान गरिँदै आएको पाइन्छ ।

गार्गी र मैत्रैयी वैद्धिककालका महान विद्धान नारी थिए । मैत्रेयी ऋषि याज्ञवल्क्यकी पत्नि थिइन्, जसले ऋग्वेदका १० वटा श्लोकको रचना गरेकी थिइन् । ईशाकाल भन्दा सात सय वर्ष पूर्व राजा जनकको दरबारमा शास्त्रमा वादविवाद गर्न निम्तो पाएकी गार्गीले विद्धान ऋषि याज्ञवल्क्यको ज्ञान परीक्षण गर्ने उत्कृष्ठ प्रश्न गरेकी थिइन् । त्यो समयको जस्तै नारीको स्थान, गरिमा र श्रद्धा पुनः प्राप्त गर्नु र विश्वको हरेक कुनामा नारीलाई मनुष्यका रुपमा स्वीकार गरी सहअस्तित्व कायम गर्नु साँच्चै नै चुनौतीपूर्ण बनेको छ ।

वैद्धिककालमा गार्गीको प्रश्नले राजर्षि जनकको सभा हल्लियो ? अहिले किन मञ्चमा स्थान पाउन गारो छ ! महिला उद्यमी भेलामा मञ्चमा अगाडि स्थान ओगट्ने पुरुष महानुभावले महिला उद्यमीका प्रतिनिधित्व गर्दैनन् । लैगिंक सशक्तीकरण र मूल प्रवाहीकरणका कार्यक्रममा प्रायः महिलाहरु आफैं बोल्छन, आक्रोस पोख्छन, आफै सुन्छन । तर, त्यहाँ सुन्नु र सुनाउनुपर्ने वर्ग वा पदाधिकारी कोही हुँदैनन् ।

नेपालमा राजनीतिक पक्षबाट हेर्दा नारीको प्रतिनिधित्व उल्लेखनीय छ । जनताको आवाज मुखरित गर्ने ठाउँमा अहिलेसम्म कुनै नारी प्रतिनिधिले सभा हल्लाउने गरी प्रश्न गरेको सुनिएको छैन । सहानुभूतिपूर्वक कसैले मञ्चमा स्थान त देला तर श्रोता वा दर्शकको मनै हल्लिने गरी, सत्ताको कुर्सी डग्मगाउने गरी ओजपूर्ण अभिव्यक्ति दिन सकिएको छ ? अवसर र मौकामा सहानुभूतिको आवश्यकता पर्छ, जो सम्मानजनक हुने गर्छ ।

विगत तीन दशकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको यात्रासम्म आइपुग्दा नेपालमा अधिकारमुखी चेतनासहित नारी सशक्तीकरणका सूचक बढेका छन् । नेपालले लैगिंक विकासमा उल्लेखनीय सफलता पाएको भनेर अन्तर्राष्ट्रिय पुरस्कारसमेत पायो । देशका राष्ट्रप्रमुख, व्यवस्थापिका प्रमुख, न्यायपालिका प्रमुख र प्रदेश प्रमुखका रुपमा नेपाली नारीशक्ति उच्च स्थानमा पुगेको हामीले देख्यौं, यो गौरव र खुसीको विषय हो ।

अवसर लिने बेलामा म पहिला अनि जिम्मेवारी लिने बेलामा म महिला, भन्ने दुरासयबाट माथि उठी समय सान्दर्भिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा, राष्ट्रिय अन्तराष्ट्रिय मुद्दाहरुमा, विश्वपरिघटनामा चासो राख्नु जरुरी छ ।

नारीप्रति समाज अलि खुला र उदार भएर उनको क्षमता प्रस्फुटन हुने अवसरमा सहयोग गरेमा दैनिक चासो चियो चर्चामा बहुमूल्य समय बित्दैन थियो । समसामयिक वियषमा चासो राख्नु, उद्यमशील क्रियाकलाप गर्नु, सामाजिक र आध्यात्मिक क्रियाकलापमा संलग्न रहनु, त्यसैमा चिन्तनमनन गर्नु साँच्चैको सशक्तीकरणतर्फको बाटोमा लाग्नु हो । नारीले आफूलाई चिन्नु कयौं गुणा श्रेयस्कर छ ।

आधा आकासको कुराले पुग्दैन, आधा धर्तीको कुरा गरौं न ! हो धर्तिलाई आकासले आड दिएको छ । नारीलाई कमजोर र कम बुद्धियुक्त प्राणीका रुपमा यही धर्तीका अँध्यारा कुनाहरुमा अहिले पनि भेदभाव र शोषण गरिएको छ । अर्कोतिर कुनै उज्यालो सभ्य समाजमा नारीले परम स्वतन्त्रता र उच्च सम्मानको उपभोग र अनुभूति गरिरहेकी छिन् ।

सभ्य र विकसित समाजका नारी शक्तिले परिवार, देश, समाजका हरेक क्षेत्रमा देखिने गरी योगदान पु¥याएका छन् । नर र नारीको सहअस्तित्व र सहकार्यवाट प्राप्त सभ्यताको सुखभोग राष्ट्रका सबै नागरिकले गर्न पाउँछन् । आकासको हृदय अनन्त विशाल छ । आकासले कुनै भेदभाव गरेको छैन, नर–नारी दुबैलाई हामी सबैले एक–अर्काको पर्याय जसरी आकासले गरेको जस्तै व्यवहार गर्न हृदय फराकिलो बनाउँ ।

न्यूनस्तरको चेतना भएको समाज र त्यहाका संस्थाहरुमा नारीप्रतिको धारणा र सोचमा हेयपना हुनु नौलो कुरो होइन । तर, अन्य राजनीतिक परिवर्तन, सामाजिक संरचनामा सुधार, सूचना प्रविधिको विकास र उपभोगका प्राप्त स्वतन्त्रताको अवस्थामा आइपुग्दा पनि नारीमाथिको श्रद्धा जाग्न नसक्नु र नियन्त्रण गर्न खोज्नु विकासको दृष्टिले दुर्भाग्यको विषय हो ।

समृद्धिको उडान भर्न महिला र पुरुषरुपी चराका पखेटा उत्तिकै फट्फटाउनु जरुरी छ । आर्थिक सशक्तीकरणको अभ्यासका परिणाम ५१ प्रतिशत नेपाली महिला धर्ती ओगटेका छन् । तीमध्ये एक तिहाई महिलाको जमीनमा अधिकार छ । त्यो पनि जमीनको स्वामित्व हस्तान्तरण गर्ने ठाँउमा पुगेपछि ल्याप्चे लगाउँदासम्म अधिकांश नेपाली नारीलाई थाहा हुँदैन कि जमिन बेचेको हो कि किनेको हो भनेर ।

नारीको आफ्नो क्षमता उजागर भएन र स्थान पाएन भने ती सपना योजना पूरा गराउन पति वा सन्तानलाई दबाव दिने गर्छन् । अपेक्षा, आशा र दबावमा आधारित सम्बन्धमा खुसी कम औपचारिकता ज्यादा हुन्छ । सम्बन्ध यान्त्रिक बन्छ । नारीले आफ्नो क्षमता र सम्भावना प्रस्फुटन गर्न स्वयं प्रयास गर्नु र यसमा अरुले मद्दत गर्न ढिला गर्नु भनेको सभ्य समुन्नत समाजबाट बञ्चित हुनु हो ।

भय र लोभ त्यागेमा परम स्वतन्त्रताको उपभोग गर्न पाउँछौ नारी । सफल ठानिएका महिलाका सफलताका कथा सुन्दा लाग्छ महिलाको सफलताको अगाडि नारीलाई डो¥याउने हिरो र असफलताको पछाडि खुट्टा तान्ने भिलेन हुनैपर्छ ।

नारी आफ्नो एक्लो ईच्छाशक्तिले केही गर्नै सक्दिनन् । पुरुषको काँधमा टेकेर सफल भएको त देखिन्छ । एक दिन टेक्ने काँध पाइँदैन, अनि सफल ठानिएकी नारीको रुवाबासी, दोष–दोषारोपण छताछुल्ल भएको हामीले देखेका छौं । नारीको आफ्नो क्षमता र मेहनतमा आधारित सशक्तीकरण भएन भने जीवनमा धेरै हिरो र भिलेनहरुको जरुरत पर्छ । र, ती दुईको लडाइँमा नारीले पिल्सिरहनुपर्छ ।

यसरी हिंसा र दुखः पीडाको पृष्ठभूमिबाट आएर सफलता हासिल गरेका नारीमा बदलाको भावना र आक्रोश पाइन्छ । नारीले पिता, पति र पुत्रको आय वा सम्पत्तिको आश नगर्ने, भरमा नपर्ने र नलोभिने हो भने अस्तित्वको बोधसहितको संघर्ष शक्ति उजागर गर्न सक्ने छिन् ।

अन्याय, नियन्त्रण र थिचोमिचो सहनु पाप हो ! सहनशील हुनु, असल हुनु राम्रो हो भने यति राम्रो कुरो नारीमा मात्रै किन हुनुपर्ने ? हामी सबै यस्तै–यस्तै सद्गुणी भए परिवार र समाज असल संस्कारयुक्त हुन्छ । पुरुष चै समाजका विकृति र विसंगतिमा रमाउने ! नारीले सबै सम्हाल्दिनुपर्ने ? अवगुणमा पुरुषको एकाधिकार गुणहरुमा नारीको एकाधिकार हो र ?

नेपालमा लैंगिक हिंसाका घटना विश्लेषण गर्दा नारीमाथिको अन्याय र अत्याचारले जंगली बर्बर युगको झल्को दिन्छ । जब नारीको अस्तित्वमै प्रश्नचिन्ह खडा हुन्छ, तब पनि अन्याय सहेर सहनशील बन्नु भनेको सद्गुण होइन, दुर्गुण हो ।

विश्वको आधा मूल शक्ति चेतनशील मनुष्यमाथि यस्तो राक्षसी, क्रुर व्यवहार हुनु देशकै दुर्गुण र दुर्भाग्य हो । भारतीय संविधानविद् महान समाज सुधारक बाबासाहेव अम्बेडकर भन्नुहुन्छ, अन्याय सहनु भनेको अन्याय गर्नुभन्दा पनि बढी अपराध हो । किनभने, अन्याय सहँदा परिवार र समाजमा यस्तो विश्वास स्थापित हुन्छ कि यही नै सही तरिका हो, यसै गर्नुपर्छ ।

नारी आफ्नो चेतना जागृत गर । स्त्री शक्तिलाई माथि उठाउन ढिला भइसक्यो, पर्खेर नबस । अमेरिकी विश्वविद्यालयका एक वैज्ञानिकले गरेको अनुसन्धानको नतिजा अनुसार महिलाको मष्तिष्क उनको उमेरसँगैको पुरुषको तुलनामा तीन बर्ष तरुनो हुन्छ, त्यसैले महिलाको दिमाग लामो समयसम्म पनि तेजिलो हुन्छ ।

महिलाहरुमा कुनै पनि शारीरिक, मानसिक योग्यताको कमी हुँदैन । केही तथ्यांकको सहारा लिँदा विश्वका सबैभन्दा शक्तिशाली लोकप्रिय आध्यात्मिक व्यक्तित्वहरु मध्ये १५ जनामा ५ जना महिला छन् । विश्वकै सबैभन्दा धेरै धनराशी भएको, सबैभन्दा प्रतिष्ठित र सम्मानित नोवेल पुरस्कार पाउने महिलाहरु सन् २०१८ सम्मा ५१ जना छन् ।

सन् २०१९ मा एकजना महिला अर्थशास्त्रीले नोवेल पुरस्कार पाएकी छन् । साहित्य र शान्ति क्षेत्रमा अधिकांशले पुरस्कार पाए । विश्वका शक्तिशाली मानिसहरुको सूचिमा ७५ जना ब्यक्तिमा ५ जना महिला छन । विश्वमा सन् २०१९ मा अर्बपतिको संख्या २१५३ मध्ये २३९ जना महिला छन् । विश्वमा राष्ट्र प्रमुख र सरकार प्रमुखमा २७ वटा देशमा महिला छन् । र, सन् १०५० देखि २०१९ जुलाई सम्ममा ७४ देशमा १४८ पटकसम्म नारीशक्ति राष्ट्र प्रमुख र सरकार प्रमुख भैसकेका छन् ।

यस पृथ्वीमा सिर्जना भएका सर्वोपरी पदमा नारी शक्तिले जिम्मेवारी बहन गरिसकेका छन् ।

अब पनि नारीले आफ्नो क्षमतामा आशंका गरेर बस्ने समय छैन, नारीले आफू स्त्रीशक्ति भएर जन्मिएकोमा धन्यभावले भरिनुपर्छ । आफूलाई शरीरको माध्यमबाट मात्र पहिचान खोज्नु भन्दा त्यो भन्दा माथि उठेर प्रकृतिको उत्पत्तिको मूल उद्देश्य अनुरुप नारीको अस्थित्व स्थापित गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment