Comments Add Comment

कोरोना भाइरस नियन्त्रणमा ताइवानबाट सिक्नुपर्ने पाठ

२६ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट सबैभन्दा जोखिममा रहेको देश हो ताइवान । ८ लाख ५० हजारभन्दा बढी ताइवानीले चीनमा काम गरिरहेका छन् । तर, ताइवानले आफूलाई अहिलेसम्म निकै हदसम्म सुरक्षित राखेको छ ।

ताइवानमा ४५ जनामा मात्र यो भाइरसको संक्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ । जबकी चीनमा यो भाइरसको संक्रमण ८० हजारभन्दा बढी मानिसमा देखिइसकेको छ भने ३१०० भन्दा बढीको ज्यान गइसकेको छ ।

यति मात्र होइन, दक्षिण कोरिया, जापान, इरान र इटालीजस्ता मुलुकलाई पनि यो भाइरसले आक्रान्त पारिसकेको छ । सन् २०१९ को अन्तिममा चीनमा देखिएको यो भाइरस चिनियाँ नयाँ वर्ष लुनारदेखि फैलिन थालेको हो ।

ताइवानले अहिलेसम्म भाइरस रोक्नमा पाएको सफलताको रहस्य उसले बेलैमा शुरु गरेको कदम हो । यो भाइरसको विषयमा अझै पूर्ण जानकारी आउन सकेको छैन भने यसको सर्ने दर कति छ भन्ने कुरा पनि स्पष्ट हुन सकेको छैन ।

ओरेगन स्टेट यूनिभर्सिटीमा सार्वजनिक स्वास्थ्य र मानव विज्ञान पढाइरहेका प्राध्यापक चुन्हुई चीले ताइवानले यसअघि फैलिएको सार्स भाइरसबाट राम्रो पाठ सिकेको र यसले उसलाई तयारी अवस्थामा रहन सुझाव दिएको बताए । ताइवानले सार्स भाइरसको प्रकोपपछि सेन्ट्रल कमाण्ड सेन्टर फर एपिडेमिक्स स्थापना गरेको थियो । यसले उसलाई कोरोना भाइरस रोक्ने कदम चाल्ने मामिलामा अन्य एसियाली मुलुकभन्दा अगाडि राख्यो ।

यो कमाण्ड सेन्टरले मेडिकलका निकायहरुलाई तथ्यांक संकलन, स्रोत साधनको परिचालन, सम्भावित मामिलाको अनुसन्धान र उनीहरुको सम्पर्कको इतिहासको जानकारी पाउन सजिलो भयो । यसको सहयोगमा उनीहरुले कुनै पनि बिरामीलाई छिटै नै आइसोलेट गरे ।

यसले ताइवानमा भाइरस फैलिनबाट रोक्यो । सार्स भाइरसको प्रकोपबाट सिकेको ताइवानले चीनको वुहानमा देखिएको यो भाइरस रोक्न जनवरीको शुरुदेखि नै वुहानबाट आएका यात्रुमा स्वास्थ्य परीक्षण शुरु गर्‍यो । यो काम उसले कोभिड–१९ मानिसबाट अर्को मानिसमा सर्छ भन्ने पत्ता लाग्नुभन्दा पहिला नै शुरु गरिएको थियो ।

‘सुपर अलर्ट’

फेब्रुअरीको पहिलो सातासम्म ताइवानले सर्जिकल मास्क वितरण गर्नेदेखि चीन भ्रमणमा गएका मानिसलाई मुलुकमा प्रवेश निषेधको काम शुरु गरिसकेको थियो । जबकी मकाउ र हङकङमा भने यस्ता मानिसलाई १४ दिन क्यारेन्टाइनमा राख्ने व्यवस्था छ ।

ताइवानको रोग नियन्त्रण केन्द्र तथा अन्य निकायले दैनिक रुपमा मोबाइलमा यो भाइरसको सचेतनासम्बन्धी जानकारी पठाउने गरेको छ । स्ट्यानफोर्ड युनिभर्सिटीको नीति, परिणाम तथा रोकथामका निर्देशक जासोन वाङले ताइवानले यो मुद्दा ठूलो हुनुभन्दा पहिला नै धेरै काम गरिसकेको कारण भाइरसले महामारीको रुप लिन नसकेको बताउँछन् ।

विज्ञहरु ताइवान भाइरस रोक्ने मामिलामा सिंगापुरभन्दा पनि अगाडि देखिएको बताउँछन् । अहिले सिंगापुरमा पनि कोरोना भाइरसका १०० भन्दा धेरै संक्रमित छन् । तर, ताइवान भने चीन र हङकङसँग हुने उल्लेख्य व्यापारिक सम्बन्धमा बाबजुद आफ्नो मुलुकमा भाइरसको प्रकोपलाई रोक्न सफल देखिएको छ ।

सिंगापुरले पनि भाइरसको प्रकोप आउनुभन्दा पहिला नै यसको रोकथामको प्रयास भने शुरु गरेको थियो । अन्यथा यो मुलुकमा पनि व्यापक मात्रामा भाइरस फैलिसकेको हुने विज्ञहरुको भनाइ छ ।

ताइवान र सिंगापुर दुवैले आर्थिक रुपमा कोरोना भाइरसबाट परेको क्षतिको लागि आर्थिक सहायता कोष सार्वजनिक पनि गरिसकेका छन् ।

अन्य मुलुकको सुस्तता

ताइवान र सिंगापुर भाइरस रोक्ने मामिलामा अगाडि देखिएका भए पनि अन्य भाइरसको चपेटामा परेका मुलुकले यसबारे चालेको कदम भने निकै सुस्त पाइएको छ । विज्ञहरुले ताइवान र सिंगापुरले गरेको कामको प्रशंसा पनि गरेका छन् । तर, अमेरिकाले पनि यस मामिलामा चालेको कदम सुस्त भएको उनीहरुको भनाइ छ ।

ताइवानले भाइरसविरुद्ध चालेको कदम चीनले भन्दा पनि अघि हो । चीनले पनि यो भाइरस फैलिसकेपछि मात्र यसको विरुद्धमा कदम शुरु गरेको थियो । भाइरसविरुद्ध कदम शुरु गर्ने मामिलामा उदासीन देखिएको भन्दै जापान, दक्षिण कोरियाले पनि आलोचनाको सामना गर्दै आएका छन् । यी दुवै मुलुकमा संक्रमितको संख्या १ हजार र ७ हजार नाघिसकेको छ ।

फैलिँदै भाइरस

जापानी प्रधानमन्त्री सिन्जो आबे दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इनले पनि सही समयमा यो भाइरसविरुद्ध कदम चाल्न नसकेको आरोप खेप्दै आएका छन् । यो भाइरसको कारण यी दुवै मुलुकले आफ्नो महत्वपूर्ण कार्यक्रम रोकिसकेका छन् । इरान पनि यो भाइरस रोक्न निकै सुस्त देखिएको मुलुक हो । यो मुलुकमा पनि भाइरसको कारण अहिले १९४ जनाको ज्यान गइसकेको छ ।

अहिले भाइरसको प्रकोप यूरोपमा पनि फैलिँदो क्रममा छ । यूरोपको सबैभन्दा प्रभावित मुलुक इटाली हो । यो मुलुकमा अहिलेसम्म २३३ जनाको ज्यान गइसकेको छ । मुलुकमा फैलिँदो प्रकोप रोक्न यसले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिसकेको छ ।

यसले ईयूको स्वास्थ्य अधिकारीलाई पनि चुनौती दिएको छ । ईयूमा स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने व्यवस्था भएकाले पनि यो भाइरस फैलिने खतरा बढेको हो । अमेरिका र ईयूले भने यो भाइरसको विषयमा निकै पछि मात्र आफ्नो कदम चाले ।

त्यसैले यूरोप र अमेरिकामा यो भाइरस अहिले उल्लेख्य मात्रामा फैलिएको छ । ताइवान र सिंगापुरले आफ्नै समुदायमा फैलिएको भाइरसलाई पनि रोक्न सफल भए तर अमेरिका र ईयूले पर्याप्त समय पाउँदा पनि यसलाई रोक्न सकेनन् । अहिले यो भाइरस यूरोप र अमेरिकाको एक समस्या बन्न पुगिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment