+
+
Shares

अनुवाद कविता : उचाइ

- स्व.अटल बिहारी बाजपेयी - स्व.अटल बिहारी बाजपेयी
२०७६ चैत १ गते १२:४५

अग्ला पहाडहरूमा रूख उमि्रन्नन्
उम्रिन्नन् बुट्यानहरू
न त अग्ला पहाडमा घाँस नै हुन्छ
हुन्छ त केवल जिउ कट्कट्याउने हिउँ
कात्रोजस्तो सेतो हिउँ
मृत्युजस्तो चिसो हिउँ !

हाँस्दै-खेल्दै सुस्केरामा बहने नदीहरू
एक आकार धारण गरेर
थोपाथोपा आँसु बर्साउँछन्
यस्तो उचाइ
जसको छुवाइले मात्र पानी पत्थर बन्छ
जसको स्पर्शले मानिसको आत्मा पापले भरिन्छ

जो सम्मानको भोको छ
ती आरोहीहरूलाई स्वागत छ
तर यी पहाडमा पर्वतारोहीहरू झण्डा गाड्न त सक्छन्
तर सक्दैनन् चराहरू गुँड बसाउन,
न त कुनै थाकेको पैदलयात्री
एक परेली सुस्ताएर थकाइ नै मेट्न सक्छ ।

सबैभन्दा टाढाटाढा
सबैबाट एक्लोएक्लो
अरूभन्दा फरक
परिवेशभन्दा भिन्न
आफ्नैबाट छुट्टएिर बाँचेको
सत्य त यो हो कि
यो पहाडको महानता हैन
विवशता हो ।

सत्य त यो हो कि
उचाइ र गहिराइमा अनन्त फरक छ
आकाश र पातालजत्तिकै फरक
सत्य र असत्यजत्तिकै फरक
पाप र धर्मजत्तिकै फरक

पहाडसँग उचाइ छ
र त ऊ एक्लो छ
ऊ एक्लो छ
र त उचाइमा छ ।

जो जति अग्लो हुन्छ
ऊ त्यति नै एकांकी हुन्छ
एक्लो हुन्छ
पिठ्युँमा बोकेर युगकै गह्रुङ्गो भारी
मुस्कुराउँछ केवल तस्वीरहरूमा !

उचाइ होस् त यस्तो होस् कि
उचाइसँगै बिस्तार पनि होस्
जहाँ मान्छे ठिङ्गि्रङ्ग एक्लो उभिन नपरोस्
उचाइ बाँडोस् गहिराइसँग पनि
कसैसँग घुलोस्, मिलोस्
कसैको साथमा हिँड्न सकोस्

भीडमा हराउनु,
यादमा डुब्नु,
आफैँलाई बिर्सिनु,
आफ्नो हस्ताक्षर हुनुले पो जीवनमा सुनाखरी फुलाउँछ

धर्तीलाई गोडामा बाँस बाँधेको पुड्के चटकेको होइन
उच्च कदको मान्छेको जरूरत छ
यति उचाइ कि
उफ्रिँदा आकाश चुमोस्
धर्तीका नयाँ प्रतिभाका ताराको लागि नक्षत्र बनोस्
तर यति उचाइ पनि होइन कि-
आफ्नै पाइतालाले कुल्चिएको जमिन पनि नदेखोस्
यति उचाइ पनि होइन कि-
पाइतालामा कुनै काँडै नबिझोस्
पाऊमुनि कुल्चिएको फूलै नदेखोस्

न वसन्त न शिशिर
केवल उचाइको भ्रम
केवल एक्लोपनको सन्नाटा
मेरो ईश्वर !
मलाई त्यति उचाइको वरदान पनि नदेऊ
त्यति अग्लो पनि नबनाऊ
कि म पराइलाई अंगालोसम्म हाल्न नसकूँ !

(भारतीय पूर्वप्रधानमन्त्री स्व. वाजपेयीको यो कविता काशीराम बजगाईंले हिन्दीबाट नेपालीमा भावानुवाद गरेका हुन् ।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?