
सडक किनारमा रोपिएका विरुवा निमोठ्दै हिँड्छौं । दुबो चोर्छौं । पशुपतिनाथमा सजाइएको फूल थुतेर हिँड्छौं । अनि हामी आफै भन्छौं, ‘यहाँ केही हुँदैन ।’
संकटमा मास्कको कालोबजारी गर्छौं । सेनिटाइजरको मूल्य बढाउँछौं । खाना पकाउने ग्यास लुकाउँछौं । खानेकुराको कृतिम अभाव सिर्जना गर्छौं । अनि हामी आफै भन्छौं, ‘यहाँ गरिखाने वातावरण छैन ।’
सार्वजनिक ठाउँमा उभिएर चुरोटको धुँवा उडाउँछौं । सुन्तला खाएर बोक्रा जथाभावी मिल्काउँछौं । सार्वजनिक सौचालयको भित्तामा पान चपाएर पिच्च थुकिदिन्छौं । सडक अनुशासन मिचेर गाडी कुदाउँछौं । अनि विरक्तिदै आफै भन्छौं, ‘यहाँ बस्नै सकिदैन ।’
सार्वजनिक यातायातमा ठेलमठेल गर्दै चढ्छौं । अस्पतालमा अरुको पालो मिचेर आफ्नो बिरामीको भर्ना गर्न तँछाड–मछाड गर्छौं । सरकारी अड्डामा भनसुन गराएर नाजायज काम गराउँछौं । अनि हामी आफै भन्छौं, ‘यहाँ सबै खत्तम छ ।’
सीप र श्रम छाडेर नेताको पछाडि लाग्छौं । आफ्नो पदोन्नतीका लागि चाकडी–चाप्लुसी गर्छौं । मौका पाएसम्म भ्रंष्टचार गर्छौं । अनि हामी आफै भन्छौं, ‘हाम्रो देशको सिस्टम नै भएन ।’
अरुको आङको जुम्रा
उखान नै छ, ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ।’ हाम्रो अहिलेको प्रवृत्ति ठ्याक्कै यस्तै छ । हामी अक्सर अरुलाई गाली गर्छौं । यो भएन, त्यो भएन भनेर गुनासो गर्छौं । यसो हुनुपथ्र्यो, यस्तो गर्नुपथ्र्यो भनेर उपदेश पनि दिन्छौं । तर, यसका लागि मैले के गर्नुपर्छ भनेर सोच्दैनौं ।
चिया गफमा, कार्यलयमा, जमघटमा हामी एउटै वाक्य दोहो¥याइरहेका हुन्छौं, ‘यो देशमा केही हुँदैन ।’
यो देशमा केही भएन । किन ? के यो प्रश्नको उत्तर हामीले आफैंभित्र पनि खोज्नुपर्ने होइन ?
हामी बेलामौकामा बखान गर्छौं, विदेशमा यति चिल्ला र व्यवस्थित सडक हुन्छ । चुस्त यातायात व्यवस्था हुन्छ । बजार यति सहज हुन्छ । खाद्यन्न यति सस्तो र ताजा हुन्छ । सरकारी काम यति छरितो हुन्छ । मान्छेहरु यति सभ्य हुन्छन् ।
विदेश घुमघाम गरेर आएपछि हामीलाई आफ्नै देशको हालतप्रति खिन्नता लाग्छ । देशमै भएकाहरुलाई यहाँको व्यवस्था उकुसमुकुस लाग्छ । सबैकुरा अव्यवस्थित, अपारदर्शी, असहज । यसो हुनुमा सबै हामी आफै पनि दोषी छैनौं ?
हाम्रो प्रवृत्ति र व्यवहार
दृृष्टिविहिन वा शारीरिक अपाङ्गता भएकाहरु सडक पार गर्न खोजिरहेका हुन्छन्, गाडी÷मोटरसाइकल रेसमा दौडिए झै हुँइकिन्छन् । बाटोमा बुढाबुढी, गर्भवती, रोगी हिँडिरहेका हुन्छन्, अघिल्तिर तन्नेरीहरु चुरोटको धुँवा उडाउँदै हिँड्छन् ।
हामी समाजमा यसरी बाँचिरहेका छौं कि, मानौं यहाँ अरुको अस्तित्व छैन । त्यसैले त हामी आफ्नो कारणले अरुलाई कुनै असहज होला कि ? समस्या पर्ला कि ? कष्ट होला कि भनेर सोच्दैनौं ।
हामी आफ्नो लाचारी, कमजोरी ढाकछोप गरेर अरुलाई दोषी देखाउँछौं । हामी आफैं चाहि कस्तो हुनुपर्ने ? चिन्तन गर्दैनौं । अरुको दोष केलाउनमै समय खर्चिरहेका हुन्छौं ।
कस्तो समाज निर्माण गर्ने ?
हामी कल्पना गर्छौं, सभ्य समाज, सुसंस्कृत व्यवस्था, चुस्त राज्य प्रणाली, कर्तव्यनिष्ठ कर्मचारी, सेवामुखी सार्वजनिक सुविधा । हाम्रो समाज यस्तो भए हुने । राज्य–व्यवस्था यस्तो भए हुने । मान्छेहरु यस्तो व्यवहार गरिदिए हुने । कर्मचारीले यसरी काम गरिदिए हुने । तर, यो परिवर्तन कुनै जादुगरले झै चमत्कार गरेर हुने होइन ।
राज्य प्रणाली एवं संयन्त्र चुस्त, गतिशिल, पारदर्शी बनाउनका लागि नेता वा सरकारको मुख ताकेर हुँदैन । यसका लागि हामी आफ्नै पहल, प्रयास र परिवर्तनको खाँचो हुन्छ ।
यो कुनै कानुनले बाँधिएर वा कसैको निर्देशनले मात्र पनि संभव हुँदैन । कस्तो समाज निर्माण गर्ने ? कस्तो वातावरणमा बाँच्ने ? कस्तो सेवा–सुविधाहरु उपभोग गर्ने ? यसका लागि हामी आफैले पहल गर्नुपर्छ । र, यसका लागि अरु धेरै केही गर्न पर्दैन । सार्वजनिक व्यवहार अनुशासित बनाए पुग्छ । तपाईं हामीले गर्ने सामन्य व्यवहार समाजमैत्री भए पुग्छ ।
प्रतिक्रिया 4