
३ चैत, काठमाडौं । बिहान नौ बजे नै विद्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाइ हुने निजी विद्यालय सञ्चालकले बताएका छन् । ट्राफिक जामको समस्या समाधानका लागि भन्दै सरकारले नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९-४ बजे तोक्ने तयारी गरेको छ ।
तर, यो निर्णय कार्यान्वयनमा प्राविधिक कठिनाइ हुने प्याब्सन अध्यक्ष टिकाराम पुरी बताउँछन् । साना बालबालिकालाई नौ बजेभित्रै विद्यालय पुर्याउन र उनीहरुलाई दिउँसोको खाजा खुवाउन गाह्रो हुने पुरीको भनाइ छ ।
‘साना बालबालिका कति बजे उठ्ने, कति बजे खाने, कतिबेला तयार भएर स्कुल जाने ?’ उनले अनलाइनखबरसँग भने, ‘नौ बजेभित्रै स्कुल पुग्ने ती बालबालिकालाई दिवा खाजा कसले खुवाउने ?’ कतिपय अभिभावक दिवा खाजाको खर्च व्यहोर्न सक्षम रहे पनि कतिपयले खर्च गर्न नसक्ने उनको भनाइ छ ।
‘हामीले बालबालिकालाई कसरी सजिलो हुन्छ भनेर सोच्ने हो कि आफूलाई सजिलो बनाउन बालबालिकालाई दुःख दिने हो ?’ प्याब्सन अध्यक्ष पुरीले प्रश्न गरे ।
प्याब्सन अध्यक्ष पुरीले विद्यालयहरु नौ बजेबाटै सुरु गर्नुभन्दा बरु सरकारी र निजी कार्यालयहरु आठ बजेबाट सञ्चालन गर्न उपयुक्त हुने बताए । ‘साना नानीहरुलाई किन दुःख दिने ? बरु हामीले दुःख गरौं, आठै बजे कार्यालय खोलौं न,’ उनले भने ।
निर्णय कार्यान्वयनको क्रममा आउने व्यवहारिक कठिनाइ भने समाधान गर्नुपर्ने पुरीले बताए ।
हामीसँग परामर्श नै गरिएन : अभिभावक संघ
अभिभावक संघले पनि विद्यालय समय ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने भनेर सरकारले एकतर्फी निर्णय गरेको जनाएको छ । ‘यो निर्णय गर्नुअघि हामीसँग एक पटक पनि परामर्श गरिएन’ अभिभावक संघका अध्यक्ष केशव पुरीले भने, ‘हामीले सरकारलाई असहयोग त गर्ने थिएनौं होला ।’
ट्राफिक जामको समस्या कम गराउने उद्देश्यले गरिएको निर्णयलाई भने सकारात्मक रुपमा लिनुपर्ने उनले बताए ।
शिक्षा मन्त्रालयले विद्यालय सन्चालनको नयाँ समय लागू गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ । यसमा आवश्यक सुझाव दिन शिक्षा शाखा प्रमुख कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।
समितिमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु छन् ।
प्रतिक्रिया 4