५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेसँगै सरकारले विदेशबाट नेपाल आउने पर्यटकमाथि कडाइ थालेको छ ।
फलस्वरुप काठमाडौं अब विदेशी गन्तब्यबाट क्रमशः अलग भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले नेपालमा दैनिक ६५-७० उडान गर्ने गरी वायुसेवा कम्पनीले उडान अनुमति लिएका छन् ।
तर, १० मार्चबाट सरकारले अनअराइभल भिसा बन्द गरेपछि क्रमशः उडान कटौती शुरु भएको छ । अहिले अन्तराष्ट्रियतर्फ दैनिक आधाभन्दा बढी उडान रद्द तथा कटौती भइसकेका छन् ।
त्यसमाथि नेपालीसहित विदेशी मुलुकका नागरिकलाई विदेशी गन्तव्यमा समेत प्रवेश प्रतिबन्ध लागेसँगै वायुसेवा कम्पनीहरुले धमाधम उडान कटौती गरिरहेका छन् ।
मंगलबार मात्र नेपाल वायुसेवा निगमले मलेसिया उडान स्थगित गरेको छ । मलेसिया उडान नेपालको कारणले नभई मलेसिया सरकारले विदेशी नागरिकलाई लगाएको प्रवेश निषेधका कारण प्रभावित बनेको हो ।
१६ कम्पनीद्वारा २२ गन्तव्यको उडान रद्द
प्राधिकरणको मंगलबार साँझसम्मका तथ्यांकअनुसार कूल १६ वटा कम्पनीले २२ वटा गन्तव्यको उडान झिकिसकेका छन् । यसमध्ये चिनियाँ कम्पनीबाट भइरहेका सबैभन्दा धेरै उडान र गन्तव्य रद्द भएका छन् । यसबाहेक नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेका उडान रद्द गरेको छ ।
नेपालका तीन वटै अन्तराष्ट्रिय वायुसेवा कम्पनी (हिमालय एयरलाइन्स, बुद्ध एयर र नेपाल एयरलाइन्स)को विजनेस कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको छ । बुद्धले बनारस उडान फिर्ता गरिसकेको छ । अतिप्रभावित क्षेत्रबाट हिमालयले सबै उडान फिर्ता गरिसकेको छ । नेपाल एयरलाइन्सले समेत प्रतिकूल क्षेत्रबाट क्रमशः उडान कटौती गरिरहेको छ ।
कुन एयरलाइन्सको उडान कहिलेसम्म रद्द ?
| एयरलाइन्स | गन्तब्य | कहिलेसम्म ? |
|---|---|---|
| एयर चाइना | चेन्दु | २८ मार्चसम्म (बुधबारबाहेक) |
| एयर इण्डिया | दिल्ली | ३० एप्रिलसम्म २ मध्ये एउटा रद्द |
| विमान बंगलादेश | ढाका | २८ मार्चसम्म (१९ र २२ मार्चबाहेक) |
| चाइना इस्टर्न | कुनमिङ | १८, २२, २३ र २७ मार्च |
| चाइना साउदर्न | ग्वाङझाउ | २८ मार्चसम्म |
| क्याथे ड्रागन | हङकङ | २० मार्च-३० अप्रिल |
| जजीरा एयरवेज | कुवेत | १३ मार्चदेखि अनिश्चितकाल |
| कोरियन एयर | सियोल | २८ मार्चसम्म (सोमबारबाहेक) |
| नेपाल एयरलाइन्स
|
दिल्ली | १५ अप्रिलसम्म दैनिक एक उडानमात्र हुने, यसअघि दैनिक दुई उडान |
| हङकङ | मार्च १९ र २६ तथा अप्रिल २ र ९ तारिखको उडान रद्द | |
| बैंङकक, थाइल्याण्ड | मार्च २५, अप्रिल १, ८ र १५ तारिखको उडान रद्द | |
| बैंङलौर | मार्च १९ र ३१ तारिखको उडान रद्द | |
| मुम्बई | २० र २७ मार्च तथा अप्रिल ३ र १० तारिखको उडान रद्द | |
| दोहा | सबै उडान अनिश्चितकालका लागि रद्द | |
| ग्वाङझाउ | अनिश्चितकालका लागि रद्द | |
| क्वालालाम्पुर | अनिश्चितकालसम्म | |
| सिचुवान एयरलाइन्स | ल्हासा | ३० मार्चसम्म |
| कतार एयरवेज | दोहा | २२-३१ मार्चसम्म (३ वटा मध्ये एउटा रद्द) |
| थाई एयरवेज | बैंकक | अक्टोबर २४सम्म हप्तामा ४ रद्द |
| भुटान एयरलाइन्स | पारो | साताको तीन उडान रद्द |
| हिमालय एयरलाइन्स
|
दोहा | ३१ मार्चसम्म |
| ढाका | ३१ मार्चसम्म | |
| क्वालालाम्पुर | १९, २०, २६ र २७ मार्चबाहेक १३ अप्रिलसम्म सबै रद्द | |
| दमाम -साउदी अरेविया) | २८ मार्चसम्म | |
| गुयाङ | २८ मार्चसम्म | |
| छ्याङ्सा | २८ मार्चसम्म | |
| बेइजिङ | २८ मार्चसम्म | |
| बुद्ध एयर | वाराणसी | १५ अप्रिलसम्म |
| तिब्बत एयरलाइन्स | सियान | अनिश्चितकालसम्म |
स्रोत : नेपाल नागरिक उड्डयन प्राधिकरण
प्रतिक्रिया 4