
१० चैत, बुटवल । कोरोना संक्रमणको त्रासका बेला तिलोत्तमा नगरपालिकाले एक महिनाको घर बहाल कर नलिने निर्णय गरेको छ ।
नगरपालिकाका जनप्रतिनिधिसहितको सर्वदलीय वैठकले कोभिड–१९ को असर घरधनीहरुमा समेत परेकाले कर नलिने निर्णय गरेको हो ।
यो निर्णयले भाडामा घर र सटर दिएका घरधनीहरुलाई पनि घर भाडा छुट गर्न नैतिक दवाव पुग्ने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
वैठकले कोभिड १९ को संक्रमण भित्रिन नदिन नगरपालिकाले चैत ११ देखि १७ गतेसम्म नगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान १२ बजेदेखि नगरभित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया/खाजा पसल, हार्डवेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायामशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत सेवा एक हप्ता बन्द हुने छन् ।
अत्यावश्यक सेवामा औषधि, खाद्यान्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत पर्छन् ।
लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने श्रमिक वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्ने निर्णय गरेको छ ।
टोल विकास संस्थासँगको सहकार्यमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको यो अवधिमा दैनिक छाक टार्न समस्या परेमा आवश्यक खाद्यान्नको व्यवस्था नगरपालिकाले गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।
बैठकले दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया 4