Comments Add Comment

अस्पतालले भर्ना लिन नमानेका चौधरीको रिपोर्ट ‘नेगेटिभ’

११ चैत, बुटवल । कोभिड–१९ संक्रमणको आशंकामा अस्पतालले भर्ना नलिँदा रुपन्देहीदेखि चितवन र काठमाडौंसम्मका ७ वटा अस्पतालमा ९ चक्कर लगाएका एक बिरामीको रिपोर्ट अन्ततः ‘नेगेटिभ’ आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चैत ६ गते साँझ भर्ना भएका नवलपरासीको रामग्राम नगरपालिका हकुईका २४ वर्षका दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको हो ।
उनको स्वाब चैत ७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । स्वाब परीक्षणका लागि पठाएको पाँचौं दिनमा मंगलबार दिउँसो चौधरीको नेगेटिभ रिपोर्ट आएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले अनलाइनखबरलाई जानकारी दिए ।

चौधरी तिनै व्यक्ति हुन्, जसले अस्पतालमा भर्ना भई उपचार पाउन तीन दिनसम्म रुपन्देहीबाट चितवन हुँदै काठमाडौंसम्म र काठमाडौंबाट फर्केर फेरि रुपन्देहीसम्म ७ वटा अस्पताल चाहार्नुपरेको थियो ।

यो पनि पढ्नुहोस कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामी घुमेको घुम्यै !

उनीसंगै पठाएको अर्को स्वाबको रिपोर्ट दुई दिनअघि नै आएको तर ट्रकचालक समेत रहेका उनको रिपोर्ट आउन ढिला हुंदा धेरैजनामा संशय थियो । तीन दिनसम्म धेरै ठाउँ चाहारेका र धेरैजनासंग सम्पर्क भएकाले उनको रिपोर्ट के आउँछ भनेर धेरैको चासो थियो ।

चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा चेकजाँच गराएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको आशंकामा अस्पतालले थप उपचारका लागि चैत ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठायो ।

तर चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनलाई चितवनको पुरानो मेडिकल कलेज पुर्‍याइयो । उक्त मेडिकल कलेजले कोरोनाको आशंका गर्दै काठमाडौं टेकू अस्पताल रिफर गर्‍यो ।

तर बिरामीका आफन्तले चौधरीलाई टेकु नलगी अर्कै अस्पतालमा पुर्‍याए । उक्त अस्पताले उपचार नगरेपछि चौधरीलाई चैत ६ गते बिहान रुपन्देहीको क्रिमसन अस्पताल मणिग्राममा ल्याइयो । क्रिमसनले पनि भर्ना नलिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो । तर बेड नभएको भन्दै अस्पतालले चौधरीलाई भर्ना गरेन ।

त्यसपछि उनलाई देवदह मेडिकल कलेजमा पुर्‍याइयो । देवदहले पनि भर्ना नगरेपछि फेरि पृथ्वीचन्द्र अस्पताल परासीमै पुर्‍याइयो । परासीमा आइसोलेसन वार्ड र सुरक्षा सामग्री नभएकाले उपचार सम्भव नभएकाले विरामी त्यही अलपत्र परेर बसे ।

चौधरीलाई सरकारी र निजी अस्पताल तथा मेडिकल कलेजहरुले भर्ना नलिएको र उपचारबाट बञ्चित भएको जानकारी मुख्यमन्त्रीसम्म पुगेपछि बल्ल चैत ६ गते साँझ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भई उपचार पाएका हुन् ।

योसंगै लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड १९ को आशंकामा हालसम्म नमूना परीक्षण गरिएका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोभिड १९ को आशंकामा आइसोलेसन वार्डमा मंगलबारसम्म १३ जना भर्ना भएकामा अब ४ जनाको स्वाब परीक्षणका लागि पठाउन बाँकी रहेको र दुईजनाको रिपोर्ट आउन बांकी रहेको डा. थापाले जानकारी दिए ।

चारजना विरामी मंगलबार मात्रै कोरोना विशेष आइसोलेसन अस्पताल (धागो कारखाना भवन) मा भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment