Comments Add Comment

विराटनगर डिपोमा अढाइ महिना पुग्ने इन्धन

खाना पकाउने ग्यास पनि पर्याप्त

२० चैत, विराटनगर । इन्धन मौज्दात पर्याप्त रहेकाले आगामी अढाइ महिनासम्म पूर्वीनेपालमा अभाव नहुने विराटनगरस्थित आयल निगम कार्यालयले जनाएको छ ।

निगमको प्रादेशिक कार्यालयका सहायक प्रबन्धक पर्शुराम अधिकारीका अनुसार, विराटनगर डिपोमा ८५ प्रतिशत पेट्रोलियम पदार्थ भण्डारण छ । विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयले साविकको कोशी अञ्चलका १० जिल्लासहित प्रदेश २ का सिराहा र सप्तरीमा समेत इन्धन वितरण गर्दछ ।

‘विराटनगरको डिपोमा पूर्णक्षमतामा इन्धन मौज्दात छ,’ सहायक प्रबन्धक अधिकारीले भने, ‘पूर्ववत् अवस्थामा नफर्किएको र लकडाउनको अवस्था कायम रहेको अवस्थामा अढाइ महिनासम्म त्यसले धान्न सक्छ ।’

अधिकारीका अनुसार, विराटनगर डिपोमा कुल ५ लाख ६० हजार लिटर पेट्रोल र ७१ लाख १० हजार लिटर डिजल भण्डारण क्षमता छ । हाल पेट्रोल २ सय ६२ किलोलिटर र डिजल ६ हजार २५ किलोलिटर मौज्दात रहेको अधिकारीले बताए । अहिले डिपोमा इन्धन मौज्दात पर्याप्त रहेकाले इन्धन भरेका १ सय ट्यांकर तयारी अवस्थामा कार्यालय परिसरमा छन् ।

अधिकारीले लकडाउनको समयमा पनि कार्यालय खोली डिलरहरुबाट इन्धन वितरण कार्य भइरहेकाले इन्धनमा कुनै समस्या नरहेको बताए ।

सहायक प्रबन्धक अधिकारीले अहिलेको अवस्थामा सुरक्षा निकायका गाडी, एम्बुलेन्स र अन्य केही अति आवश्यक सवारीसाधनलाई मात्र तेल चाहिने भएकाले समान्य अवस्थाभन्दा इन्धन खपत निकै कम रहेको जानकारी दिए ।

सहायक प्रबन्धक अधिकारीले लकडाउनको अवस्थामा पेट्रोलभन्दा डिजलको माग बढी रहे पनि मौज्दात पनि डिजलको मात्रा बढी रहेको जानकारी दिए ।

सामान्य अवस्थामा कोशी अञ्चलका १० जिल्ला र २ नम्बर प्रदेशका सिराहा र सप्तरीका गरी कुल १२ जिल्लामा दैनिक पेट्रोल ३ सयदेखि ३ सय ३० किलोलिटर डिजल ८ सयदेखि १२ सय किलोलिटर खपत हुँदै आएको थियो । लकडाउनको अहिलेको अवस्थामा इन्धन खपत करिब १० देखि १२ प्रतिशतमा झरेको प्रादेशिक कार्यालयले जनाएको छ ।

खाना पकाउने ग्यास पनि पर्याप्त

निगमको प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि प्रर्याप्त मात्रामा भइरहेको जनाएको छ ।

सामान्य अवस्थाभन्दा लकडाउनका समयमा थप परिमाणमा एलपी ग्यास आयात गरिएकाले बजारमा खाना पकाउने ग्यासमा पनि कुनै समस्या नरहेको निगमको भनाइ छ ।

निगमले मार्च महिनामा मोरङ, सुनसरीका पाँचवटा ग्यास कम्पनीका लागि ७ हजार १ सय ७५ मेट्रिक टन ग्यास आयात गरेको छ ।

कार्यालयका सहायक प्रबन्धक अधिकारीले सामान्य अवस्थामा मासिक ५ हजार ५ सय मेट्रिकटन ग्यास आयात गर्दै आएकोमा मार्च महिनामा कोटा थप गरी १ हजार ६ सय मेट्रिक टन आयात गरिएको जानकारी दिए । यो अवस्थामा ३ लाख ७४ हजार सिलिण्डरलाई पुग्ने ग्यास उद्योगहरुमा रहेको उनले बताए ।

सबैभन्दा बढी २ सय ४० मेट्रिक टन ग्यास भण्डारण क्षमता भएको कोशी उद्योगमा हाल २ सय ९ मेट्रिक टन ग्यास मौज्दात छ । कोशीको लोड अवस्थामा १७ बुलेट ग्यास सञ्चित कोशी ग्यास उद्योगका म्यानेजर सचित उपाध्यायले बताए ।

त्यसैगरी, १ सय ५० मेट्रिक टन भण्डारण क्षमता रहेको मारुती ग्यास उद्योगमा ८८ मेट्रिक टन ग्यास मौज्दात रहेको र लोड अवस्थामा ६ वटा बुलेट रहेको जनाएको छ । अर्को १ सय मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको रिजाल ग्यास उद्योगमा ४३ मेट्रिक टन ग्यास मौज्दात रहेको र लोड अवस्थामा दुई वटा बुलेट रहेको जनाएको छ ।

१ सय मेट्रिक टन भण्डारण क्षमता रहेको प्रिमा र १ सय २० मेट्रिक टन क्षमताको सुगम ग्यास उद्योगमा पनि अहिलेको अवस्थामा पर्याप्त सञ्चित रहेको उद्योगीहरुले बताएका छन् । लकडाउनको अवस्थामा बजारमा दैनिक १८ हजारदेखि २२ हजार सिलिण्डर खपत रहेको व्यवसायीहरु बताउँछन् ।

चारआली शाखा डिपोमा समस्या

पूर्वी नेपालका मेची अञ्चलका चार जिल्लामा पेट्रोलियम पदार्थ वितरण गर्दै आएको नेपाल आयल निगम शाखा कार्यालय चारआलीले भने १० दिन मात्रै पुग्ने इन्धन मौज्दात रहेको जनाएको छ ।

इन्धन भण्डारण नरहेको चारआली शाखामा ट्यांकरमै भरेर इन्धन राख्नुपर्ने बाध्यता छ । ट्यांकरमा भरेर ६४ किलोलिटर डिजल र १२ किलोलिटर पेट्रोल मौज्दात रहेको कार्यालयले जनाएको छ ।

‘निगमको चारआली शाखा कार्यालयमा इन्धन सञ्चितिका लागि डिपो छैन,’ चारआली डिपो प्रमुख विपिन श्रेष्ठले भने, ‘जसका कारण लकडाउन लम्बियो भने समस्या हुने गरेको छ ।’

पश्चिम बंगालमा पनि कोरोनाको संक्रमण बढेपछि अहिले ट्यांकर चालकहरु इन्धन लिन जान नमानेका कारण पनि समस्या भएको उनले बताए ।

लकडाउनको पहिलो दिन १० चैतमा मेची अञ्चलका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम र झापाका डिलरलाई ४ सय ४ किलो लिटर डिजल र १ सय ६४ किलोलिटर पेट्रोल वितरण गरिएको थियो । चारआलीले सिलीगुढी डिपोबाट इन्धन आयात गर्दै आएको छ ।
चारआली शाखा कार्यालयमा इन्धनको संकट भएको अवस्थामा विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयबाट ल्याउने गरिन्छ । साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । अहिले लकडाउनका कारण यो क्रम झरेर १० प्रतिशत हाराहारी मात्र रहेको शाखा कार्यालयले जनाएको छ ।

निगमको चारआली शाखा कार्यालयले लकडाउनको अवस्था रहेपनि खाना पकाउने ग्यासमा भने समस्या नरहेको जनाएको छ । सामान्य अवस्थाभन्दा लकडाउनको बेला थप १३ बुलेट ग्यास आयात गरिएकाले समस्या नरहेको जनाएको छ ।

‘नियमित प्रतिमहिना कोटामा ६५ बुलेट ग्यास आयात हुँदै आएको थियो,’ श्रेष्ठले भने, ‘कोरोनाको महामारीका कारण पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै मार्च महिनामा नियमित कोटालाई थप गरी ७८ बुलेट ग्यास आयात गरिएको छ । त्यसैले तत्काल खाना पकाउने ग्यासको अभाव हुने सम्भावना देखिन्न ।’

मेचीमा चारवटा ग्यास उद्योगहरु छन् । ती उद्योगलाई आवश्यक ग्यास आपूर्तिको अनुमति निगमको चारआली शाखा कार्यालयले दिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment