Comments Add Comment

लकडाउन थप्न सजिलो, तर थाम्न ?

भारतीय नाका नियमन गर्न सके नेपाल ‘सुरक्षित’

२९, चैत, काठमाडौं । लकडाउनका विषयमा अहिले नेपालमा जनमत खासै विभाजित छैन । कोरोनाको सम्भावित प्रकोप रोक्न लकडाउन अपरिहार्य थियो र अझै छ भन्नेमा समाजका सबै तहतप्का लगभग सहमत देखिएका छन् । यही जनसमर्थनको आडमा सरकारले दोस्रोपटक लकडाउन एक हप्ता थप्यो र अझै थप्न सक्ने ठानिएको छ ।

नेपालमा कोरोनाको महामारी फैलिएको होइन । यदि सरकारले बेलैमा केही अत्यावश्यक कदम चालेको भए एकाध व्यक्तिमा संक्रमण देखिँदैमा सिङ्गो देशलाई यसरी ठप्प पार्नु आवश्यक पर्ने थिएन कि ?

तर, हामीले झण्डै तीन हप्ताको लकडाउन झेलिसक्यौँ। अझै पनि यही मोडलमा लकडाउन थप्दै जाने हो भने कोरोनाबाट त बचौँला । तर, अभाव र भोकमरीले मर्ने स्थिति नआउला भन्न सकिँदैन ।

समाजको एउटा वर्ग तीनहप्ताकै लकडाउनले आलस-तालस बनिसकेको छ । त्यसर्थ, अब सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने उपाय खोज्नु अत्यावश्यक देखिन्छ ।

नेपालमा पहिलो कोरोना संक्रमण ९ माघमा देखिएको थियो । चीनबाट आएका युवाले कोराना भित्र्याए पनि यो फैलिएन । उनी आफैँ पनि निको भए । त्यसबेला कोरोनाको त्रास देशभित्र खासै थिएन । धेरै नेपालीले त कोरोना भनेको सुनेका पनि थिएनन्। त्यसैले सरकारले पनि यसलाई धेरै ठूलो रुपमा लिएन । तर, जब कोरोनाको महामारी फड्किएर युरोप–अमेरिका हुँदै भारतसम्म आयो, अनि सरकारले एकैपटक लकडाउनको अन्तिम अस्त्र प्रयोग गर्नुपर्‍यो ।

सरकारले तत्कालीन परिस्थितिमा जनताको भावनाअनुसार नै यो कदम चालेको थियो । फ्रान्सबाट फर्किएकी युवतीमा संक्रमण पुष्टि भएपछि जनतामा त्रास फैलिएको थियो र लकडाउन नै गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा बलियो थियो ।

यद्यपि, कतिपय अवस्थामा जनतालेभन्दा सरकारले फरक तरिकाले सोच्नुपर्छ । जस्तो– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जनतालाई सम्बोधन गर्दै स्पष्ट शब्दमा भने कि हामी चीन र इटलीजस्तो देशलाई लकडाउनमा राख्न सक्दैनौँ। हाम्रो देशमा ज्याला मजदुरी गरेर खाने गरिबीको रेखामुनि रहेको जनसंख्या ठूलो छ । लकडाउन गर्दा उनीहरु भोकै पर्छन् ।

स्मरणीय के छ भने पाकिस्तानमा कोरोना संक्रमण नेपालमाभन्दा निकै बढी छ । तर, इमरानले देश लकडाउन नगरी यो रोगसँग लड्न सकिन्छ भन्ने आत्मविश्वास प्रस्तुत गरिरहेका छन् ।

अमेरिकाजस्तो विश्वकै समृद्ध र शक्तिसम्पन्न देशका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत लकडाउन गर्न डराइरहेका छन् । चौतर्फी आलोचना खेपेर पनि उनले देशलाई खुल्ला राखेका छन् । किनकी, उनलाई अर्थतन्त्र भत्किने डर छ ।

कोरोनाको इपिसेन्टरका रुपमा रहेको युरोपका कतिपय देशले लकडाउन छैनन् । यथार्थमा भन्ने हो भने नेपालमा जति कडा लकडाउन विश्वमा अन्यत्र सायदै होला । भारतमै पनि लकडाउनको व्यापक उल्लङ्घन छ ।

चीनको मोडल नेपाललाई भारी ?

कोरोनाको उद्गम देश चीनले लकडाउन अस्त्र प्रयोग गरेर कोरोनालाई परास्त गरेको नजिर स्थापित गर्‍यो । भाइरस फैलन नदिन उसले हुवेई प्रान्तलाई सिलबन्दी गरिदिएको थियो । हुवेईको वुहान सहरको लकडाउन त केही दिनअघि मात्र खुलेको छ ।

चीनको सूत्र सफल भएको ठानेर धेरै देशले यसलाई पछ्याउने कोसिस गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि लकडाउनलाई नै मुख्य अस्त्र मानेको छ । यस अर्थमा नेपालमा गरिएको लकडाउनमाथि खासै प्रश्न उठाइएको छैन ।

तर, चीनको शैली अनुशरण गरिरहँदा नेपालले के बिर्सनुहुँदैन भने चीन र नेपालको धरातलीय यथार्थ नितान्त फरक छ । हामी चीनजस्तो समृद्ध देश होइनौँ । चीन, इटालीजस्ता राष्ट्रले केही दिन होइन, केही महिनाको लकडाउन पनि सजिलै पचाउन सक्छन् । उनीहरुको अर्थतन्त्रसँग त्यो ब्याकअप छ ।

चीनले लकडाउन भनेर जनतालाई घरभित्रै थुनेको मात्र थिएन । अत्यावश्यक चिजहरुको आपूर्ति घरघरमा पुर्‍याएको थियो। नियमित स्वास्थ्य जाँचको व्यवस्था गरेको थियो । यस्तो अभ्यास नेपालले गर्न सकेको छैन र सक्दैन । त्यसका लागि हामीसँग यथेष्ट स्रोत–साधन र जनशक्ति छैन ।

जनतालाई घरबाट बाहिर ननिस्कन उर्दी गरिरहँदा दैनिक काम गरेर गुजारा गर्ने वर्गलाई संरक्षण गर्ने कुनै कार्यक्रम सरकारसँग छैन ।

काठमाडौंमा जीविका चलाउन कठिन भएपछि हिँडेर घरतर्फ जाँदै सुनसरीका मजदुरहरु ।

त्यसो त देशकै वास्तविक अवस्था एउटा ज्यालादारी मजदुरकै जस्तो छ, आजको कमाइले आजै खाने । त्यसो हुँदा प्रत्येक दिनको लकडाउनले नेपालको अर्थतन्त्रलाई अकल्पनीयरुपमा क्षति पुर्‍याइरहेको सहज अनुमान गर्न सकिन्छ ।

सरकारले साढे आठ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो । तर, यो वर्ष आर्थिक वृद्धि धनात्मक मात्रै भयो भने पनि त्यसमा खुसीले नाच्नुपर्ने अवस्था छ । नेपालको अर्थतन्त्रको मुख्य मेरूदण्ड रेमिट्यान्स आप्रवाहमा छ । पर्यटन उद्योग धराशायी बनेको छ । उद्योग व्यवसायहरुको अवस्था डामाडोल छ । देशले आम्दानी गर्ने सबै स्रोतहरु सुकेका छन् ।

अर्थतन्त्र बलियो भएका देशहरु त यो संकटबाट जसरी पनि निस्केलान् । नेपाल चाहिँ कसरी निस्किन्छ ? यो ज्वलन्त प्रश्न हो ।

कोरोना र लकडाउने देशलाई पुर्‍याउने क्षतिको आयतन भूकम्पको बेलाभन्दा ठूलो हुने देखिन्छ । भूकम्पको बेला त नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गरेका थिए । अहिले त कसैसँग सहयोग माग्ने अवस्था पनि छैन । सबै आफ्नै देश सम्हाल्ने ध्याउन्नमा छन् ।

प्रकोप अन्त्य हुनासाथ विदेशबाट ह्वारह्वारी पर्यटक नेपाल आउने छैनन् । केही समय विश्वभरकै पर्यटन उद्योग कोमामा जान सक्छ । किनकी मानिसहरु विदेश यात्रा गर्न अझै केही समय उत्साहित हुने छैनन् ।

यसैगरी वैदेशिक रोजगारको क्षेत्र पनि कोरोनाले अस्तव्यस्त तुल्याएको छ । विभिन्न देशमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएका छन् । अब नेपालको अर्थतन्त्रको मुख्य खम्बाका रुपमा रहेको रेमिट्यान्स आप्रवाहलाई फेरि पुरानो अवस्थामा फर्किन निकै समय लाग्न सक्छ ।

अर्कोतर्फ देशभित्रैको रोजगार क्षेत्रमा पनि संकट आउने पक्का छ । पहिल्यैदेखि कमजोर अवस्थामा रहेका स्वदेशी उद्योगहरु अब झनै जीर्ण बन्नेछन् । आइएलओले विश्वका आधा अर्ब जनसंख्या गरिबीको रेखामुनि जाने प्रक्षेपण गरेको छ।

त्यसैले, नेपालले कोरोना युगपछि देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारसित बलियो रणनीति र योजना हुनुपर्छ । त्यसबेला देशको कृषि उत्पादनको अभिवृद्धि र उद्योगधन्दाको विकासभन्दा सरकारसँग अर्को उपाय हुँदैन ।

अब लकडाउन खोल्ने कि ?

अब सरकारको प्राथमिकता भनेको सकेसम्म छिटो जनजीवनलाई सामान्यतर्फ लैजाने नै हुनुपर्छ । अहिलेसम्म नौ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या नगण्य हो । आगामी दिनमा केही बढ्न पनि सक्ला । तर, समुदायमा कोरोना फैलिनसक्ने खतराबाट हामी लगभग बाहिर निस्किसकेका छौँ ।

नेपालमा २० दिनदेखि अन्तर्राष्ट्रिय उडान भएका छैनन् । त्यसैले तेस्रो मुलुकबाट थप संक्रमण भित्रिने सम्भावना टरेको छ । अबको जोखिम भनेको भारतबाट फर्किनेहरुको हकमा मात्रै हो । यदि भारतमा अनियन्त्रित ढंगले महामारी फैलियो भने नेपाललाई फेरि पनि खतरा हुन्छ । त्यसलाई छुट्टै रणनीति आवश्यक छ, जसबारे तल चर्चा गरिनेछ । तर, अब सिङ्गै देशलाई लकडाउनमा राख्नुपर्ने आवश्यकता र औचित्य देखिँदैन ।

लकडाउन थप्नु सरकारका लागि कुनै गाह्रो काम होइन । मन्त्रिपरिषदको एउटा निर्णयले पुग्छ । तर, एक हप्ता लकडाउन थप्दा त्यसले निम्न आय भएका जनतालाई कस्तो असर पर्छ भन्ने विषय बडो संवेदनशील छ ।

काठमाडौंबाट सुनसरीसम्म पैदल हिँडेर जाने मजदुरहरुका लागि कोरोनाको त्रास तेस्रो प्राथमिकतामा पनि पर्दैन । यो राज्य उनीहरुका लागि हो कि होइन ?

अबका चार दिनमा नाटकीय ढंगले नयाँ परिस्थिति उत्पन्न नभए ३ गतेपछि लकडाउन खोलिनु नै उचित देखिन्छ । एकैपटक नभए चरणवद्ध रूपमा खुला गर्न सकिन्छ । कम जोखिम भएका काठमाडौं लगायतका सुरक्षित स्थानहरुलाई ३ गतेपछि पूर्ण खुल्ला गरेर सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रहरुलाई केही समय नियन्तित्र राख्न सकिन्छ । सार्वजनिक सवारी र भिडभाडका ठाउँहरुमा उच्च सतर्कता अपनाउनुपर्ने छँदैछ ।

अन्तर्राष्ट्रिय उडानहरु भने तत्काल खुला गर्न सकिने अवस्था रहँदैन । खासगरी कोरोनाबाट बढी प्रभावित राष्ट्रहरुसँगको हवाइ सम्बन्ध केही महिनासम्म स्थगित राख्नैपर्ने हुन्छ । भारतीय बोर्डरको कडा नियमन र अन्य देशहरुसँगको हवाइसम्बन्ध केही समय स्थगित राख्ने हो भने हामी अब आन्तरिक लकडाउन नगरिकन पनि कोरोनाबाट जोगिन सक्छौँ।

लकडाउनको पक्षपोषण गर्नेहरुसँग एउटा तर्क छ । यदि कथंकदाचित नेपालमा कोरोना फैलिहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता सरकारसँग छैन । यो बलियो तर्क हो । अमेरिका वा इटलीकै जस्तो अवस्था आयो भने के गर्ने भन्ने सबैलाई लाग्छ ।

तर, यसमा जोखिम मूल्यांकन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । हामीले त्यति नै क्षतिवहन गर्न तयार हुनुपर्छ जति जोखिम छ। नेपालमा पहिलो केस देखिएको झण्डै तीन महिना महिना भयो । यो अवधिमा नौ जना संक्रमित भेटिए । नेपालसँग सीमा जोडिएको देश चीन नै कोरोनाको उद्गम स्थल थियो ।

चीनमा कोरोना उत्कर्षमा रहँदा त उसँग नेपालको हवाई उडानसमेत रोकिएको थिएन । तर, पनि नेपालमा कोरोना फैलिएन । यो सुखद् संयोग हो । के कारणले नेपालमा कोरोना फैलिएन भन्ने जैविक वा प्राविधिक विश्लेषणको विषय हुनसक्छ । तर, सत्य यही हो कि फैलिएन । अब झन फैलिने सम्भावना क्षीण छ । संक्रमितको संख्या केही थपिन सक्ला । त्यसमा आत्तिनुपर्ने केही छैन ।

भारतसँगको सीमा व्यवस्थापन

नेपालको लागि अहिले सबैभन्दा ठूलो टाउको दुखाइको विषय नै नेपाल-भारत बोर्डर बनिरहेको छ । नेपालमा कोरोना प्रवेश गर्न सक्ने सम्भावित खतराको प्वाल यही मात्र हो । यसको व्यवस्थापन जटिल र चुनौतिपूर्ण छ ।

उता, भारतीय मिडियाले नेपालबाट भारतमा महामारी फैलाउने षडयन्त्र भएको भनेर अफवाह फैलाइरहेका छन् । तर, यता वास्तविकतामा नेपाललाई खतरा भनेकै भारतबाट छ। किनकि देशव्यापी लकडाउनका बाबजुद भारतमा कोरोना संक्रमण घटेको छैन । भारतीय सीमा खुल्ला गर्दा नेपालमा सहजै संक्रमण पस्न सक्छ ।

तर, अहिले सीमाक्षेत्रमा हजारौं संख्यामा नेपालीहरु घर फर्किन नपाएर अलपत्र छन् । नेपालले छिर्न नदिएपछि उनी कोही सडकमा सुतिरहेका छन् त केहीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा नाममा खुला चौरमा राखेको छ । उनीहरुमाथि भारतीय प्रहरीले अमानवीय व्यवहार गरिरहेको समाचार आएका छन् ।

विभिन्न प्रयोजनमा भारतमा लाखौं संख्यामा नेपालीहरु छन् । उनीहरुमध्ये ठूलो संख्या कामदारहरुको छ । कोरोनाका कारण उद्योग व्यवसायहरु बन्द भएपछि कैयौले रोजगारी गुमाएका छन् । कति चाहिँ कोरोनाको त्रासले गर्दा स्वदेश फर्किन चाहन्छन् । त्यसैले सीमा नाकामा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किन नपाएर चित्कार गरिरहेका छन् । यो दर्दनाक अवस्था हो ।

लकडाउनअघि भारतबाट नेपाल प्रवेश गर्न गड्डाचौकी नाकामा भेला भएका सर्वसाधारण ।

एउटा नागरिकले आफ्नो देश फर्किन महाकाली नदीमा हाम्फालेको दृश्य राज्यविहीनताको भयानक विम्व हो ।

कारण जेसुकै भए पनि संकटको बेला घर फर्कन खोज्ने कुनै पनि नागरिकका लागि देशले ढोकामा आग्लो लगाउन मिल्दैन। देश गुहार्दै सीमानामा कराइरहेका नेपालीहरुको व्यवस्थापन सरकारले जुनसुकै मूल्य चुकाएर पनि गर्नैपर्छ ।

जसरी संकटको बेला आफ्नो सन्तान परेर घर फर्कन चाहन्छ भने कुनै पनि बाबुआमाले आफ्नो घरको ढोका बन्द गर्न सक्दैनन् । हरेक नागरिकका लागि अन्तिम अभिभावक भनेको राज्य हो । त्यसैले सीमा नाकामा चिच्याइरहेको नागरिकको चित्कार राज्यले नसुन्ने हो भने त्यो राज्यलाई नागरिकले कसरी अभिभावक ठान्न सक्छ ?

सरकार भन्छ, अहिले भावनामा नबगौँ । जथाभावी मानिसहरु प्रवेश गराएर देशव्यापी संक्रमणको जोखिम नमोलौँ। सरकारको आह्वान छ, जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस् । भारतले नै त्यहाँ रहेका नेपालीहरुको संरक्षण गर्ने आशा सरकारले पालेको छ । सरकारको यो आशा भारतको हकमा हास्यास्पद लाग्छ ।

भारतको छाती कति फराकिलो छ भनेर जाँच्न हामीसँग प्रशस्तै दृष्टान्त छैनन् र ? आफ्नो देशमा शरण लिन आएका नेपालीभाषी भुटानीलाई समेत ट्रकमा लोड गरेर नेपाल ल्याएर फ्याँकिदिने देश हो । नेपाल भूकम्पले थिलथिलो बनेका बेला नाकाबन्दी लगाएर घाँटी अँठ्याउने देश हो । त्यही भारतले नेपालीहरुलाई सुरक्षित रूपमा क्वारेन्टाइनमा राखेर भरणपोषण गरिरहेको होला ? अझ, भारत आफैँ कोरोनासँग जुधिरहेको बेला त यो झनै असम्भव कुरा हो । भारतलाई नचिनेको जस्तो नगरौँ । आफ्ना जनतालाई अविश्वासिलो छिमेकीको जिम्मामा नछाडौँ ।

त्यसो भए के गर्ने ? ह्वारह्वार्ती नेपाल प्रवेश गराउने ? त्यो पनि होइन । नियन्त्रित ढंगले छिराउने हो । त्यसका लागि केही दिन लाग्न सक्छ । सीमा नाकामा सुरक्षा र स्वास्थ्य संयन्त्र बलियो बनाउनुपर्छ । दैनिक निश्चित संख्यामा उनीहरुको स्वास्थ्य परीक्षण गरेर छिराउनुपर्छ ।

छिराएपछि सबैभन्दा जटिल काम आउँछ, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने । नेपाल प्रवेश गर्नासाथ समाजमा घुलमिल गराउनु खतरापूर्ण हुन्छ नै । त्यसैले उनीहरुलाई कम्तीमा १४ दिन अनिवार्य आइसोलेसनमा राख्नुपर्छ।

यसका लागि खुल्ला ठाउँ खोजेर क्याम्पहरु निर्माण गर्नुपर्ने हुन्छ । खाली रहेका होटल, विद्यालय, वा अन्य सार्वजनिक भवनहरुलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यस्ता क्वारेन्टाइनमा स्थानीय प्रशासनको कडा नियमत हुनुपर्छ । रासनपानीको आपूर्ति व्यवस्था सरकारले मिलाउनुपर्छ । कोही आशंकित देखिए तुरुन्तै अस्पताल लगेर परीक्षण गराइनुपर्छ ।

यसप्रकारले एक-डेढ महिनासम्म भारतबाट आउनेहरुको व्यवस्थापन गर्न सक्ने नेपालको खतरा टर्छ ।

रोग ठूलो कि भय ?

वास्तवमा भन्नुपर्दा नेपालीलाई कोरोनाले होइन कोरोनाको भयले नै भित्रैबाट हल्लाइदिएको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म त्रासदीपूर्ण गफहरु सुनिन्छन् । प्राय: गफहरु ‘यदि नेपालमा कोरोना फैलियो भने देश सोत्तरै हुने’ निष्कर्षमै टुंगिन्छन् । कोरोना लाग्नासाथ मरिन्छ भन्ने भ्रमित सोचाइले नै भय बढाइरहेको छ र हामीलाई कमजोर बनाइरहेको छ ।

जनतामा रहेको भयले गर्दा देशको स्वास्थ्य प्रणालीसमेत अस्तव्यस्त बनेको छ । यतिबेला लकडाउन खुकुलो पार्नुसँगै जनताको मनबाट अतिरिक्त त्रास झिक्नु पनि उत्तिकै महत्वपूर्ण विषय हो ।

जनताको मनोविज्ञान यस्तो भएको छ कि ख्वाक्क खोकी लाग्नासाथ आत्तिहाल्ने । कोरोनाको परीक्षण नगर्दासम्म ढुक्क हुन नसक्ने । यही अतिरिक्त त्रास स्वास्थ्यकर्मीहरुमा सर्दा ज्वरो आएका र खोकी लागेका बिरामीहरु नजिक पर्नै डराइरहेका छन् । यसले गर्दा कतिपय सामान्य रोगका बिरामीले पनि उपचार पाएका छैनन् ।

जनताको मनोबल बढाउनका लागि कोरोनाका विषयमा सकारात्मक तथ्यहरु प्रवाह यो बेला अत्यन्त महत्वपूर्ण हुन्छ । समयमै पहिचान र उपचार भए कोरोना डरलाग्दो रोग होइन भन्ने जनतालाई आश्वस्त पार्नुपर्छ । योभन्दा खतरनाक रोगहरु धेरै छन् । कोरोनाको औषधि पत्ता नलागेको भए पनि यो बिसेक हुने रोग हो । यसको मृत्युदर अहिले ३ प्रतिशत पनि छैन ।

यसको अर्थ कोरोना लागेका प्रत्येक एक सय जनामध्ये ९७ जना बिसेक भइरहेका छन् । मर्नेहरुमा पनि अन्य कडा रोगबाट पहिल्यैदेखि थलिएकाहरु र वृद्धवृद्धाहरु बढी छन् । थोरै पछाडि फर्केर हेर्ने हो भने यसअघि सन् २०१४–२०१६ मा महामारीका रुपमा फैलिएको इबोलामा ५० प्रतिशत मृत्युदर थियो ।

सन् १९१८ मा महामारीको रुप लिएको इन्फ्लुएञ्जाले संसारकै एक तिहाई जनसंख्यालाई संक्रमित बनाएको थियो । संसारभरका पाँच करोड मान्छे मरेका थिए । सिजनर फ्लुबाट नै विश्वमा वार्षिक तीनदेखि सात लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।

अमेरिका र इटालीमा कोरोनाबाट मरेकाहरुको आँकडा मात्रै नहेरौँ। सन्चो भएकाहरुको आँकडा पनि हेरौँ र फैलाऔँ। यसमा सञ्चार माध्यमले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । हामी आज यति मरे भनेर दैनिक आँकडा पस्किरहेका छौँ। कोरोना लागेका कति बिसेक भए भन्ने कोणबाट सूचना छरौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment