Comments Add Comment

प्रदेश १ मा तेस्रो देशको जोखिम टर्‍यो, भारतबाट खतरा

धर्का तानेर प्रवेश गरेका डेढलाख कहाँ छन् ?

विराटनगरको कोशी अस्पतालमा कोरोना परीक्षण गरिँदै ।

३० चैत, विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १२ जना संक्रमित भेटिँदा प्रदेश १ सुरक्षित रह्यो । २० दिनदेखि सिंगो देश लकडाउनमा रहेका बेला तेस्रो देशबाट हुनसक्ने सम्भावित जोखिम पनि लगभग अन्त्य भएको छ ।

‘हाम्रो प्रदेशमा तेस्रो देशबाट हुनसक्ने सम्भावित जोखिम अब लगभग रहेन’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भन्छन् । त्यसमा सहमति जनाउँदै सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता भन्छन्, ‘कतैकतै लुकेर बसेको केस छ भने जोखिम हो, तर हामी खोजिरहेका छौं ।’

तर भारतसँग खुला सीमा छ, त्यही मुलुकमा अहिले कोरोनाको संक्रमण फैलिरहेकाले जोखिम भने टरेको छैन ।

‘खुला सीमा भएका कारण रातिराति नेपाल प्रवेश गर्नसक्छन् भन्ने त्रास छ’ मुख्यमन्त्री राई भन्छन्, ‘तर जनता सचेत छन्, कहीँ कतै नयाँ मान्छे देखे जानकारी आउँछन् ।’

धर्का तानेर प्रवेश गरेका डेढलाख कहाँ छन् ?

संघीय सरकारले भारतसँगको सीमा नाकाबाट आवतजावत चैत १० गते १० बजेबाट नै बन्द गरेको हो ।

प्रदेश सरकारले २४ फागुनदेखि ११ चैतसम्म विराटनगरको सीमावर्ती क्षेत्र रानीमा कोरोना हेल्थ डेस्क राखेको थियो । र यो अवधिमा एक लाख एक भन्दा बढी मानिस रानी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । काकडभिट्टा नाकाबाट करिब ५० हजार मानिस स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गरेको तथ्याङ्क छ ।

१० गते नाका बन्द भएपनि चैत १५ गतेसम्म जागवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।

नाकामा राखिएको हाजिरी खातामा धर्का तानेर नेपाल प्रवेश गरेका मध्ये केहीको तथ्याङ्क स्थानीय सरकारहरुसँग छ । तर बहुसंख्यक कहाँ र कुन अवस्थामा छ भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग छैन । र, उनीहरु प्रदेश र स्थानीय सरकारको सम्पर्कमा पनि नहुँदा जोखिम बढेको सरोकारवालाहरु बताउँछन् ।

नाकामा सशत्र र प्रहरीको थप टोली

भारतबाट संक्रमित छिर्ने आशंका बढेपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङ सुनसरी र झापाको सीमावर्ती क्षेत्रमा थप टोली परिचालन गरेको छ । नाकाको निगरानीका लागि सशत्र प्रहरी बलले एक नम्बर प्रदेशमा १५१ वटा अस्थायी शसत्र कोरोना सीमा सुरक्षा क्याम्प स्थापना गरेको छ ।

भारतमा संक्रमण बढेसँगै नेपालमा प्रवेश गर्नेहरुलाई रोक्नका लागि सीमामा २४ सै घण्टे निगरानी राखिएको प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिना बताउँछन् । ‘नाकाबाट प्रवेश गर्ने सम्भावना छैन’ उनी भन्छन्, ‘सबै टोल बस्तीका भित्री बाटोमा प्रहरी टोली खटिएको छ ।’

प्रदेश २ सँगको सीमा भाण्टाबारीको कोशी पुल र चतराको पुलमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको छ । तिम्सिनाकाअनुसार खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल भित्रिने सम्भावना बढेपछि झापामा १ सय ३५ मोरङमा ८० र सुनसरीमा १ सय १२ जना प्रहरी जनशक्ति थप गरिएको छ ।

५९२ जना क्वारेन्टाइनमा, १० आइसोलेसनमा

प्रदेश १ मुख्यमन्त्री कार्यालयकाअनुसार आइतबार साँझसम्म प्रदेश १ का २६१ स्थानमा ४ हजार २०९ जनालाई राख्न मिल्ने क्वारेन्टाइन निर्माण गरिएको छ । जहाँ ५९ महिलासहित ५९२ जना छन् । क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट सुरु भएको छ ।

यस्तै १० जना आइसोलेसनमा छन् । प्रदेशभर गरी ४८ स्थानमा ४३२ आइसोलेसन बेड तयार गरिएको छ । कोरोना परीक्षणका लागि विराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment