Comments Add Comment

प्रदेश १ का जिल्ला अस्पतालमै छैन ज्वरो नाप्ने थर्मल गन

५ वैशाख, विराटनगर । उदयपुरको जिल्ला अस्पतालमा एक महिनायता सञ्चालित ज्वरो क्लिनिकमा स्वास्थ्यकर्मीले सामान्य थर्मोमिटरबाटै ज्वरो नाप्छन् ।

सम्भावित कोरोना संक्रमित बिरामीलाई नछोइकन ज्वरो नाप्न स्वास्थ्यकर्मीसँग उपाय छैन । ‘फिबर क्लिनिकमा ज्वरो नाप्नुपर्ने बिरामीको चाप थेगिनसक्नु छ,’ अस्पतालका प्रमुख डा. जीवन मण्डलले भने, ‘अहिलेसम्म ज्वरो नाप्ने थर्मल गन छैन ।’

डा. मण्डलले सुरक्षित भएर बिरामीको ज्वरो नाप्न थर्मल गन उपलब्ध गराउन प्रदेश सरकारलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे । यहाँ दैनिक ३० जनासम्म मानिस ज्वरो क्लिनिकमा आउँछन् ।

लकडाउनपछि काठमाडौंलगायतका सहरबाट फर्किएका मानिसलाई ज्वरो नापेर मात्र घर पठाउने योजना अनुसार गएको एक हप्तादेखि जिल्ला अस्पतालमा सञ्चालित फिबर क्लिनिकमा मानिसको चाप बढेको उनले बताए ।

ओखलढुंगा जिल्ला अस्पतालका प्रमुख डा. सन्तोष देवले पनि थर्मल गन नहुँदा ज्वरो नाप्न स्वास्थ्यकर्मीलाई डर भएको बताउँछन्। कतिपय मानिसहरु कोरोना संक्रमणको मिल्दोजुल्दो खालको लक्षण लिएर अस्पताल आएकाले ज्वरो स्वास्थ्यकर्मी डराउने गरेका छन् ।

धनकुटा जिल्ला अस्पतालको प्रमुख डा. पुजन विश्वकर्माले थर्मल गनको अभाव रहेको बताए । ‘अस्पतालसँग सामान्य अवस्थामा प्रयोग गरिने गरेको थर्मोमिटरको सहायतका अहिले पनि ज्वरो नापेर बस्नुपर्ने अवस्था छ,’ उनले भने ।

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री र अन्य उपकरणको पनि अभाव रहेको उनले बताए ।

ताप्लेजुङ, सोलुखुम्बु, खोटाङलगायतका केही जिल्ला अस्पतालमा भने प्रदेश सरकारले पछिल्लो समय थर्मल गन उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मीले आधारभूत स्वास्थ्य सामग्री माग गरे पनि प्रदेश सरकारले भने हल्का रूपमा लिने गरेको गुनासो गरेका छन् ।

प्रदेशमन्त्री भन्छन् – हामी पनि माग्दैछौँ

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुलाई ज्वरो नाप्ने थर्मल गन दिने बताउँछन् ।

‘सबै जिल्ला अस्पतालमा सामान्य अवस्था ज्वारो नाप्न प्रयोग गर्ने गरेको डिजिटल थर्मोमिटरको प्रयोगको चाँडो अन्त्य हुनेछ,’ मन्त्री घिमिरेले भने, ‘केही अस्पतालमा यसअघि नै थर्मल गन पठाइसकिएको छ, बाँकीलाई पनि यथाशक्य व्यवस्थापन गर्न प्रदेश सरकार लागेको छ ।’

उनले अघि भने, ‘प्रदेश सरकारसँग स्वास्थ्य सामग्री छैन, हामीले पनि केन्द्रसँग मागेका छौँ, अब केन्द्र सरकारले पठाउनेबित्तिकै अस्पतालहरुलाई थर्मल गनसहितको स्वास्थ्य सामग्री पठाउनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment