+
+
Shares

दोलखाबाट पाँच दिन हिँडेर काठमाडौं, थानकोटबाट गाडीमा सरर…

गौरव पोखरेल गौरव पोखरेल
२०७७ वैशाख ७ गते ७:१५

६ वैशाख, काठमाडौं । बर्दियाका बुद्धिराम थारु चिउरा, दालमोठ र केही प्याकेट चाउचाउको भरमा परिवारसहित दोलखाको तामाकोसी गाउँपालिका, जफेबाट पैदल हिँडेका थिए ।

‘भोकले मर्नुभन्दा रोगले लगेको जाति…’ भनेर श्रीमती, १७ वर्षका छोरा मिलन र १२ वर्षकी छोरी शिलासहित पैदल निस्किएको उनी सुनाउँछन् ।

लकडाउनको सुरुवाती दिनमा बुद्धिराम मजदुरी गरिरहेकै थिए । तर, बिस्तारै काम रोकियो । ठेकदारसँग सम्पर्क टुट्यो । त्यसपछि उनीहरूलाई दोलखामा टिक्न गाह्रो भयो ।

‘नगरपालिकाले सहयोग गर्ने भनेको सुनेर गयौँ । तर, नागरिकता नहुँदा राहत पनि पाएनौँ’, थारुले मसिनो स्वरमा अनलाइनखबरसँग भने, ‘एक्लै भए जसोतसो काटिन्थ्यो श्रीमती र छोराछोरी पनि थिए । उनीहरूकै पिरले पनि सधैँ पोलिरहृयो ।’

श्रीमती र छोराछोरीले पनि जे पर्लापर्ला हिँडेर भएपनि गाउँ नै जाऔं भन्न थाले । आफू र श्रीमती त हिँडिएला, छोराछोरी कसरी हप्तौंसम्म हिँड्लान् भन्ने चिन्ता थियो । परिवारमा सबैभन्दा कान्छो छोरी शिलाले पनि भनिन्, ‘नखाइ बस्नुभन्दा बरु हिँडौँ ।’

छोरीको कुरा सुनेपछि उनलाई हौसला मिल्यो । गाउँमा आफ्नै खेती थियो । त्यसैले घर पुग्नसके जसरी पनि बाँचिन्छ भन्ने लागेपछि उनीहरूको यात्रा सुरु भयो ।

परिवार लिएर १ वैशाखमा दोलखाबाट हिँडेका उनी मुख्य सडकबाट हिँड्दा प्रहरीले नियन्त्रणमा लिने सक्नेमा जानकार थिए । त्यसैले स्थानीयसँग सोध्दै जंगलको बाटो हिँडे ।

बाटोमा अरु पनि हिँडिरहेका भेटिए । तर, उनीहरूको जस्तो गतिमा थारु परिवार अघि बढ्न सकेन ।

‘बच्चा भएकाले अरुसँगै हिँड्न सक्ने कुरै भएन । बिस्तारै आयौँ’, बुद्धिरामले अत्यासलाग्दो यात्रा वृत्तान्त सुनाए, ‘राति पनि सुत्नलाई केही थिएन । कतै खाली ठाउँ भेट्दा एकछिन ढल्किँदै हिँड्यौँ ।’

रातको समयमा दिउँसोभन्दा बढी हिँडेको अनुभव उनले सुनाए । काठमाडौं आइपुग्दासम्म पाँच दिन लगाएर कुन-कुन ठाउँ पार गरियो भन्ने पनि उनलाई याद छैन । ‘अरु बेला गाडीमा हिँडिन्थ्यो, यसपालि जंगलै जंगल हिँडियो’, उनले सुनाए, ‘काठमाडौं आइपुग्न लागेपछि चाहिँ ठाउँठाउँमा खानेकुरा राखिएका थिए ।’

उनीहरू जति सहर नजिक पस्दै जान्थे, त्यहीँ यात्रा छोटिँदै गएको महसुस गर्थें । शुक्रबार बुद्धिरामको परिवार धुलिखेल हुँदै काठमाडौं प्रवेश गर्‍यो । उनीहरूलाई कलंकी पुगेपछि सवारी साधन भेटिहालिन्छ कि भन्ने झिनो आशा थियो ।

तर, कलंकी हुँदै उकालो लाग्दा प्रहरीले रोक्यो ।

‘अब झन् आपतमा परिने भइयो भन्ने लागेको थियो’, उनले भने, ‘तर, प्रहरीले नगरपालिकाले खाने व्यवस्था गरेको छ, त्यहाँ जानुस् भन्यो ।’ त्यसपछि उनको परिवारले पाँच दिनको भोक र केही थकान त मेट्यो तर, घर जान पाउने नपाउने टुंगो थिएन ।

उनीहरू मात्र होइन, त्रिभुवन पार्कमा पैदल हिँडेर घर जान खोजेका तीन सयभन्दा बढी भइसकेका थिए । उनीहरूलाई यही राख्ने हो भने व्यवस्थापन गर्न नसक्ने अवस्था देखियो र सांसद अञ्जना विशुंखे सहितका जनप्रतिनिधि र स्थानीय युवाले उनीहरूलाई घरसम्म पठाउने निर्णय गरे । चन्द्रागिरि यातायात सहितको आठ वटा गाडी उनीसहित अन्य मजदुरका लागि व्यवस्था गरिएको थियो ।

बुद्धिरामको परिवार पनि गाडी चढे । ‘पाँच दिनसम्म हिँड्दा पनि कसैले एक वचनसम्म सोधेनन् । यहाँ एक्कासी गाडी व्यवस्था हुँदा विश्वास नै गर्न गाह्रो भइरहेको छ’, बसको पछाडिको सिटमा परिवारसहित बसेका उनले खुसी हुँदै भने, ‘हामीलाई उद्दार गरिदिनुभयो, सहयोग गर्ने सबैलाई धन्यवाद ।’

***

काँधमा प्लास्टिकको बोरा । मुखमा सर्जिकल मास्क अनि हातमा चिउराको पोका ।

टोखा नगरपालिका बानियाँटारमा मजदुरी गर्ने हर्कबहादुर सार्की शनिबार दिउँसो घर जान निस्किएका थिए । राजधानीबाट करिब सात सय किलोमिटरको यात्रा गरेर कैलाली पुगुञ्जेलसम्म पुग्ने सामग्रीको जोहो गरेर काँधमा हालेका थिए ।

यो यात्रामा उनी एक्ला भने थिएनन् । सँगै काम गर्ने ६ जना पनि सँगै थिए । ‘हामी कोठामा पनि सँगै बस्छौँ’, सार्कीले सुनाए, ‘हिँडेर जानुपर्छ भनेर ओड्ने ओछ्याउने पनि बोकेका थियौँ ।’ तन्ना चाहिँ साथीले बोकेको उनले सुनाए ।

दुई हप्ता हिँडेर भएपनि घर पुग्ने सोचेर निस्किएका उनीहरूलाई पनि चन्द्रागिरिमा प्रहरीले रोक्यो । ‘सुरुमा जान पाउँदैनौँ भनेपछि के गर्ने गर्ने भयो । तर, ६ जना थियौँ, जसरी पनि हिँड्छौं भन्ने एकमनमा थियो’ उनले सुनाए ।

त्रिभुवन पार्कभित्र राखेपछि आफूहरूलाई राम्रो व्यवहार भएको भन्दै उनले स्थानीयको प्रशंसा गरे ।

उनकाअनुसार ठेकदारले तलब दिन छाडेपछि उनीहरू अप्ठ्यारोमा परेका थिए । त्यहीबेला घरबेटीलाई चार हजार पाँच सय रुपैयाँ कोठा भाडा बुझाउनु पर्‍यो । घरबाट छोराछोरीले बोलाइरहेको सम्झिए । त्यसैले जोखिम मोलेर यात्रामा हिँडेका थिए ।

दुई हप्तासम्म हिँडेर घर पुग्ने सोच बनाएका उनीहरूले गाडीमा जान पाएपछि खुसी हुँदै भने, ‘यहाँबाट गाडीमा चढ्न पाइयो, साह्रै खुसी लागेको छ ।’

***

‘आफ्नो खानको लागि सोचौँ कि कोठा भाडा तिरौँ कि कारखानाको भाडा तिरौँ कि तपाईंहरुलाई खान दिउँ ?’

डल्लुमा काम गरिरहेको गार्मेन्ट उद्योगका सञ्चालकले यसो भनेपछि महोत्तरीको जलेश्वर-३ का मोहमद खुर्सिद अन्सारी नाजवाफ भए । न लकडाउन बढ्दै जाँदा छाक टार्ने विकल्प नै थियो ।

लकडाउन हुने बित्तिकै मास्क बनाउनुपर्छ भनेर नरोकेको भए सायद उनी साथीहरुसँगै घर पुगिसकेका हुन्थे । तर, ८/१० दिनपछि लकडाउन खुल्छ भनेर साहुले रोक्यो ।

लकडाउन दोस्रो हप्तामा प्रवेश गरेपछि उनले साहुसँग पैसा मागे । तर, साहुले व्यापार छैन भनिदिए । उनले पनि थप कुरा गर्न चाहेनन् । ‘छँदै छैन भनेपछि के गर्नु ? केही समय त आशै आशमा बसियो’, अन्सारीेले सुनाए, ‘साहु पनि सम्पर्कविहीन भएपछि हिँड्न बाध्य भइयो ।’

उनीसँगै बस्ने ४ जनासहितलाई वडा कार्यालयले जम्मा आठ किलो चामल, थोरै सब्जी, नुन, तेल राहत दिएको पनि थियो । त्यही राहतले उनीहरूले थप ६ दिन कटाए । त्यसपछि के गर्ने भन्ने थिएन । डल्लु चोकमा निस्किए । प्रहरीले बाटैबाट फर्किनुपर्ने सुनाए । कलंकीमा तरकारीको गाडी पाइन्छ कि भनेर कुरे तर पाएनन् ।

कोठामा फर्किएका उनीहरुसँग खानेकुरा थिएन । अर्को दिन एक जना साथी चिउरा लिएर आए । त्यही चिउरामा खुर्सानी हालेर दुई दिनको छाक टारे । शनिबार बिहान के खाने ? सँगै काम गरेका साथीले साढे दुई दिनमा घर पुगेको र बाटोमा ठाउँठाउँमा खाना दिएको सुनाए । त्यसपछि उनी भोको पेट सडकमा निस्किए ।

‘बाटोमा पानी, चिउरा दिन्छ भनेर साथीले भनेको थियो’, अन्सारीले अनलाइनखबरसँग भने, ‘डल्लुमा बस्नुभन्दा बाटोमै खान पाइन्छ भन्ने लागेर निस्किएँ ।’

फेरि यात्राका क्रममा प्रहरीले ठाउँठाउँबाट गाडी चढाइदिएको पनि उनले थाहा पाएका थिए । त्यसैले उनी पैदल यात्रा छोटिनेमा पनि आशावादी थिए । भने, ‘त्यही भएर चन्द्रागिरिमा प्रहरीले रोक्दा पनि केही न केही सहयोग होला भन्ने सोचेको थिएँ ।’

***

चन्द्रागिरिका युवा श्रीहरि थापाकाअनुसार आठ वटा गाडीमा राखेर करिब तीन सयलाई विभिन्न जिल्लामा पठाइएको छ । बाँके, बर्दिया, दाङ, सर्लाही, नेपालगञ्ज, बारा, पर्सा लगायतका क्षेत्रका मानिसहरूको व्यक्तिगत विवरण राखेर घरतिर पठाइएको हो ।

‘पठाउनु अघि ज्वरो पनि नापेका थियौँ’, थापाले सुनाए, ‘उहाँहरूको घर भएको ठाउँको स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइसकेको छ ।’

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?