Comments Add Comment

एप्पल वाचको पाँच वर्ष : झण्डै फ्लप भएको स्मार्ट घडी कसरी सफल भयो ?

सन् २०१५ को अप्रिल २४ मा एप्पलले आफ्नो पहिलो स्मार्ट घडी, एप्पल वाच सार्वजनिक गर्दा निकै ठूलो चर्चा भयो । तथापि त्यस बेला स्मार्ट घडीलाई बजारमा स्थापित गर्ने कुरा सहज थिएन । त्यस समय बजारमा स्मार्ट ह्याण्डब्याण्डको रुपमा पोलार कम्पनीको स्पोर्टस् वाच, फिटबीट कम्पनीको फिटनेस ब्याण्ड तथा मोटोरोला कम्पनीका स्मार्टवाचहरु थिए ।

मोटोरोला कम्पनीका स्मार्टवाचलाई एन्ड्रोइड फोनको अपरेटिङ सिस्टमसँग आबद्ध गरिएको थियो तथापि स्मार्टवाचको डिजाइन रत्तिभर पनि आकर्षक थिएन ।

बजारमा स्मार्ट घडीहरुले सफलताको स्वाद चाख्न नपाइरहेको बेला लञ्च भएको एप्पल वाचमाथि जसरी पनि सफल बन्नुपर्ने दबाब चौतर्फी थियो । सन् २००७ मा आइफोन र त्यसको ३ वर्षपछि लञ्च भएको आइप्याड पश्चात् एप्पलले ल्याउन थालेको नयाँ प्रडक्ट थियो एप्पल वाच । अर्को महत्वपूर्ण संयोग चाहीँ एप्पल संस्थापक स्टिभ जब्सको निधनपछि एप्पलले ल्याउन लागेको नयाँ विधाको प्रडक्ट थियो त्यो ।

तर जब सन् २०१५ को अपि्रल २४ का दिन एप्पल वाच बजारमा उपलब्ध भयो यसले राम्रै तहल्का मच्चायो । त्यतिबेला विश्वभर जम्मा ६ वटा स्टोरमा मात्रै एप्पल वाच उपलब्ध थियो । त्यसमध्ये जर्मनीको बर्लिनस्थित एप्पल स्टोरमा स्मार्टवाच किन्न चाहनेहरुको लामो लाइन लाग्यो । लञ्च भएको तीन महिनामै ३६ लाख गोटा एप्पल वाच बिकेको थियो ।

एप्पल वाचले सुरुआती समयमा उपभोक्ताको आकर्षण बटुल्न सफल भएता पनि यो घडी किनेका प्रयोगकर्ताहरुले चाहिँ गुनासो गर्न सुरु गरे । खासगरी यसका एपहरु निकै सुस्त गतिमा चल्ने तथा आइफोन सँग जोड्नुपर्ने कुरा झण्झटिलो मानियो ।

स्मार्टवाचका कतिपय अत्याधुनिक फिचरहरु प्रयोगकर्ताले फिटिक्कै मन पराएनन्, जसका कारण ती एपलाई हटाइयो ।

एप्पलले त्यसपछि २० हजार डलर मूल्य पर्ने सुनको एप्पल वाच पनि बजारमा ल्यायो । तर कम्पनीका लागि त्यो सुनको घडीले जादु गर्न सकेन र असफल रह्यो ।

वास्तवमा केही वर्षमै पुरानो हुने स्मार्ट प्रविधियुक्त एप्पलको त्यो महंगो स्मार्ट घडीले रोलेक्स जस्ता स्थापित तथा पुस्तौँसम्म चल्ने घडीसँग प्रतिस्पर्धा गर्न सक्ने कुरै थिएन ।

तथ्यांक अनुसार सन् २०१६ को दोश्रो त्रैमासिकमा १६ लाख थान एप्पल वाच बिक्रि भएको थियो । त्यो संख्या स्मार्टवाचको बजारमा एप्पललाई अग्रस्थानमा उभ्याउन पर्याप्त थियो । तर सुरुवातको त्रैमासिकभन्दा पनि निकै कम बिक्री भएको उक्त संख्याले के बताउँथ्यो भने एप्पल वाच फ्लप भएको छ ।

तन्दुरुस्ती र स्वास्थ्यमा केन्द्रित

स्मार्टवाचको घट्दो लोकप्रियताबाट चिन्तित एप्पलले स्मार्ट घडीमा प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय फिचरहरुका बारेमा समीक्षा गर्यो, जसमा नोटिफिकेसन्स, नेभिगसन र फिटनेस थिए ।

मेसेज तथा इमेलको बारेमा जानकारी गराउने नोटिफिकेसन्स फिचर, म्याप एप प्रयोग गरिरहँदाको नेभिगसन फिचर तथा व्यायाम वा खेलकुदमा प्रयोग हुने मुटुको धड्कन तथा तय गरिएको दूरीको मापन जस्ता फिटनेस फिचरहरु प्रयोगकर्ताका रोजाइमा रहेको तथ्यलाई मध्यनजर गर्दै एप्पलले दोश्रो पुस्ताको एप्पल वाचमा यी फिचरलाई अझै चुस्त बनाउनुका साथै एप्पल वाचमा जिपिएस चिप पनि राखिदियो ।

अझ तेश्रो पुस्ताको एप्पल वाचमा चाहीँ आइफोनको सहयोग बिनै फोनकल गर्न तथा इन्टरनेटमा जवाफ दिन सकिने फिचर उपलब्ध भयो ।

त्यस्तै चौथो पुस्ताको स्मार्टवाच चाहीँ खासगरी प्रयोगकर्ताको तन्दुरुस्ती र स्वास्थ्यमा बढि केन्दि्रत भयो । उक्त एप्पल वाचले मुटुको धड्कनको मापन तथा अनियमितता पत्ता लगाउन सक्नुका साथै सामान्य इसिजी रेकर्ड गर्ने तथा सामान्य खराबी पत्ता लगाउन सक्दथ्यो ।

त्यसबेला देखि नै एप्पल सीईओ टिम कुकले एप्पल वाचका प्रयोगकर्ताले कसरी आपतकालमा एप्पल वाचको सहायताले आफ्नो ज्यान बचाउन सफल भए ? भन्ने उदाहरण तथा समाचारहरु प्रस्तुत गर्न थाले ।

पाँचौ पुस्ताको एप्पल वाचको स्कृन केवल पाखुरा उठाउँदा मात्र उज्यालो हुने नभै धडीजस्तै जतिबेला पनि उज्यालो हुने बनाइएको थियो ।

सोही समयदेखि एप्पलले आफ्ना पूराना मोडेलका एप्पल वाचको मूल्य समेत घटाइदियो ।

स्विस घडी उद्योगभन्दा अगाडि

एप्पलको रणनीतिले विस्तारै काम गर्दै गयो । गत वर्ष सन् २०१९ मा एप्पलले ३ करोड स्मार्टवाच बेच्न सफल भयो । उक्त संख्या स्विजरल्याण्डका विभिन्न घडी कम्पनीहरुले विदेशमा बिक्री गरेका कूल घडीको संख्या भन्दा बढि हो । तर स्वीस कम्पनीका कतिपय घडीका ब्राण्डहरु निकै नै महंगा भएको हुँदा कूल आम्दानीमा चाहिँ एप्पल स्वीस कम्पनीहरु भन्दा निकै पछि नै रह्यो।

स्मार्ट वाचमा नम्बर वान

आइफोन बिक्रीमा खासै उत्साहजनक अवस्था नरहँदा पनि एप्पल कम्पनीका लागि एप्पल वाचले भरथेग गर्न सफल भएको छ । स्मार्टफोनको बजारमा एन्ड्रोइड फोनको आधिपत्य छ । तर स्मार्ट घडीको बजारमा एप्पल वाचले अग्रस्थान कब्जा गर्न सफल भएको छ ।

स्मार्टवाचको बजारमा एप्पलको हिस्सा सबैभन्दा धेरै अर्थात् २९ प्रतिशत रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment