Comments Add Comment

तरकारीको मूल्य : थोकमा सस्तो, उपभोक्ताको भान्सा महँगो

१३ वैशाख, काठमाडौं । लकडाउन सुरु हुनु अघिको तुलनामा अहिले तरकारीको थोक मूल्य निकै घटेको छ । कालीमाटी बजार विकास समितिको मूल्य सूचीअनुसार कुनैकुनै तरकारी त पहिलेभन्दा ८० प्रतिशतसम्म सस्तिएका छन् । तर, उपभोक्ताको मूल्यमा भने कुनै घटबढ देखिएको छैन ।

बजार विकास समितिको रेकर्डमा रहेको ६४ प्रकारका तरकारी तथा फलफूल मूल्यसूचीमध्ये अधिकांशको मूल्य निकै घटेको छ । सबै प्रकारका गोलेभेडा, आलु, प्याज, गाजर, काउली, भण्टा, बोडी लगायतका तरकारीको थोक मूल्य ८० प्रतिशतसम्म सस्तिएको छ ।

लकडाउनको अवधिमा सबैभन्दा धेरै सस्तिएको तरकारी तने बोडी हो । लकडाउन अघि एकसय ३५ रुपैयाँ किलो रहेको तने बोडीको मूल्य अहिले २८ रुपैयाँ किलोमा झरेको छ । चैत १० गते किलोको एक सय ३५ रुपैयाँ पर्ने तिते करेलाको मूल्य अहिले ५६ प्रतिशतले घटेर ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

लकडाउन अघि ९८ रुपैयाँ रहेको घिरौँलाको मूल्य घटेर किलोमा ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

साग, अदुवा, लसुन र कागतीको मूल्य बढ्यो

त्यसो त साग, अदुवा, लसुन र कागतीको मूल्य भने लकडाउन अवधिमा पहिलेभन्दा महँगिएको छ । लकडाउनअघि एक सय ३५ रुपैयाँ किलो पर्ने कागती अहिले ८१ प्रतिशतले महँगिएर प्रतिकिलो दुईसय ४५ रुपैयाँ पुगेको छ ।

यस्तै रायो, पालुंगो र चमसुरका सागको मूल्य ९० प्रतिशतले बढेका छन् । लकडाउन अघि २२ रुपैयाँ किलोमा बिक्री हुने सागहरू अहिले ४२ रुपैयाँ किलो पुगेको छ । फलफूलमा केरा, मेवा र कांक्रोको मूल्य थोरै महँगो भएको छ ।

तोक्न छाडियो खुद्रा मूल्य

कालीमाटी तरकारी तथा फलफूल बजारले काठमाडौं उपत्यकाभर तरकारी आपूर्तिको ठूलो हिस्सा ओगट्छ । कालीमाटी बजारमा तोकिने तरकारीको थोक तथा खुद्रा आधारमूल्यले उपत्यकाभरकै तरकारीको मोटोमोटी मूल्य निर्धारण गर्छ ।

तर, लकडाउनका कारण खुद्रा बजार सञ्चालनमा अन्यौल बढेको भन्दै बजार विकास समितिले खुद्रा मूल्य तोक्न बन्द गरेको छ । कालीमाटी भित्रको खुद्रा पसल बन्द भएपछि खुद्रा मूल्य तोक्न बन्द गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रकुमार पौडेलले बताए ।

काठमाडौंको बजारका सबै तरकारीको मूल्य मानक कालीमाटीको खुद्राको मूल्य नभएको कार्यकारी पौडेलको दाबी छ । खुद्रा मूल्य नतोक्दा व्यापारीले जतिमा पनि तरकारी बिक्री गर्न पाउने छुट हुने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘तरकारी अत्यावश्यक वस्तु भए पनि यसको बजार मूल्य सम्बन्धमा अनुगमन हुनै सकेन जसले गर्दा उपभोक्ता सधैं ठगिए,’ उनले भने ।

धेरै हदसम्म किसानको खेतमै तरकारी कुहिने र बजारसम्म आएको तरकारीमा पनि सरकारी अस्पष्टताले बिचौलिया हाबी भएको उनको आरोप छ ।

तरकारीको आयात आधा घट्यो

विनाकुनै पूर्वतयारी एक्कासी लकडाउन सुरु भएपछि सुरुवाती दिनमा तरकारी बजार निकै प्रभावित भयो । तरकारीको ओसारपसारमा प्रहरीले अवरोध गरेपछि किसानका तरकारी बारीमै कुहिए । लकडाउन उल्लङ्घन गरेको भन्दै व्यापारीहरू पक्राउ पनि परे ।

लकडाउनको सुरुवाती दिनदेखिको बजारको अन्यौल र समस्या अझै हल भएको छैन । अहिले पनि बजार आशिंकरुपमा बन्द छ भने मुख्य चोकहरूबाट तरकारी बिक्री गर्ने योजना तुहिएको छ ।

लकडाउन अघि दैनिक ९ सय टनसम्म तरकारी भित्रिने कालीमाटीमा अहिले साढे तीन सय हाराहारी तरकारी भित्रिने गरेको बजार विकास समितिले जनाएको छ । बजारमा भारतीय गोलभेडा र प्याज आयात भइरहेको पनि बजार विकास समितिले जनाएको छ ।

बजारको तुलनात्मक थोक मूल्य सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment