+
+
Shares

खर्बुजा बारीमै खेर जाने किसानको चिन्ता

रासस रासस
२०७७ वैशाख २१ गते १४:१४

२१ वैशाख, बर्दिया । जिल्लाको गुलरिया नगरपालिका भएर बग्ने बबई नदी किनारामा बालुवाले भरिएको जग्गामा फलेका खर्बुजा बोटमै कुहिएर खेर जाने चिन्ता किसानलाई परेको छ । बबई किनारमा गुलरिया नगरपालिका–४, बगहीका किसानले फलाएको खर्बुजा लकडाउनका कारण बजारसम्म पुर्याउन नपाउँदा खेर जाने स्थिति आएको हो । यसबाट किसानहरू चिन्तित बनेका छन ।

मेहनत गरी लगाइएको खर्बुजा फलेर अहिले पाक्न सुरु भए पनि बिक्रीस्थल हाटबजार बन्द छ । खर्बुजा बिक्री गर्नका लागि गाउँगाउँ र बजार हिँड्ने गरेकामा लकडाउनका कारण रोकिएको स्थानीय किसान लौटन थारूले बताए ।

खर्बुजा रोपिएको बारी छेउबाटै बाटो गएको छ । विगत वर्षमा बाटो छेउमै बसेर बटुवालाई बिक्री गरेर पनि राम्रै आम्दानी हुने गरेको थियो । यस वर्ष भने लकडाउनका कारण मानिस घरमै बसेका छन् । बाटामा हिँड्ने कोही छैन । बाटो सुनसान प्रायः छ।

पहिलेका वर्षमा थोरै किसानले थोरै क्षेत्रफलमा खेती गर्दै आएका थिए । यस वर्ष बबईको १० बिघा जति बगरमा स्थानीय बगहीका ५५ किसानले नगदे बालीका रूपमा पाँचदेखि १० कट्ठा जग्गामा खर्बुजा खेती गरेका छन् । नदीको पानीले बनाएको बगरमा स्थानीय किसानले आ–आफ्नो लगानी क्षमताअनुसार, भाग लगाएर बगरको बालुवामा खर्बुजा लगाउँदै आएका हुन् ।

बालुवामा खेती गर्नु त्यति सहज हुँदैन । परम्परागत रूपमा विशेष तरिकाले गोबर र रसायनिक मल मिलाएर खनिएको खाल्डामा मलका रूपमा प्रयोग गरेर खर्बुजा खेती गरिन्छ । यसरी खेती गर्दा प्रतिकट्ठा रु. पाँच हजारसम्म लाग्ने गरेको किसान लौटनले बताए ।

विगत वर्षमा १० कट्ठा बगरको बालुवामा रु ६० हजार लगानी लगाएर उत्पादन गरिएको खेतीबाट रु एक लाखसम्म आम्दानी भएको स्थानीय किसान क्षेत्रबहादुर थारुले बताए । यस वर्ष उत्पादन राम्रै भए पनि बिक्री नै गर्न नपाई बारीमै कुहिएर जाने हो कि भन्ने चिन्ता उनमा छ ।

गत वर्ष पहिलोपटक तीन कट्ठा बगरमा रु तीन हजार लगानी गरेर खर्बुजा खेती गरी रु २० हजार कमाउन सफल ३० वर्षीया वसन्ती थारूले यस वर्ष पाँच कट्ठामा खेती गरेकी छन् । आफूसँग लगानी गर्ने पैसा नभएपछि उनले गाउँकै समूहबाट रु १० हजार ऋण निकालेर खेती गरेकी हुन् । उत्पादन राम्रै भएकामा वसन्ती उत्साहित भए पनि लकडाउनका कारण साप्ताहिक हाटबजार बन्द रहेको र गाउँगाउँ गएर बिक्री गर्न हिँड्न नपाउँदा ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको वसन्ती बताउँछिन् ।

स्थानीय प्रशासनले अत्यावश्यक वस्तु खरिदबिक्री गर्न सर्वसाधारणलाई सहजताका लागि हरेक दिन बिहान ११ देखि अपराह्न २ बजेसम्म खुकुलो बनाएर खाद्य वस्तु र तरकारी बिक्री गर्ने पसल खुला गर्न दिएको छ । प्रशासनले हरेक दिन खाद्य वस्तु खरीदबिक्री गर्न दिएका समयमा मात्र किसानले उत्पादन गरेको खर्बुजा बिक्री गर्न सम्भव छैन ।

लकडाउनको कारण सबै सार्वजनिक क्षेत्र बन्द हुँदा मीठो मानेर खाई गर्मी भगाउन मानिस बाहिर आउन अवस्था नभएपछि ऋण निकालेर मेहनत गरी उत्पादन गरिएको खर्बुजा बगरमै कुहिएर जाने हो कि भन्ने चिन्ता बढेको किसान बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?