
२२ वैशाख, काठमाडौं । सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरूलाई फसाउन खोजिएको बताएका छन् ।
राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरूले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरूमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् ।
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएपछि उनीहरूले यस्तो बताएका हुन् । आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुटो आरोप लगाएर फसाउन खोजिएको बताए ।
डा. यादव लगायतका सांसदहरूले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रक्रियामा सहभागी हुने चाहना पनि व्यक्त गरेको उनले दाबी गरे । प्रक्रियामा सहभागी हुनुभन्दा पहिले नेकपाका नेताहरूसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको सांसद बस्नेतले बताए ।
अपहरणको आरोप लागेका अर्का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरूसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत अन्य व्यक्तिहरूका विषयमा केही नबोली आफूहरूलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए ।
‘हामीले कल्पना समेत गरेका थिएनौं । पूर्वप्रधानमन्त्री, झन् पिएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर, उहाँले यस्तो गम्भीर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उनले भने ।
पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झठो आरोपले आफू र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए ।
निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुवै उजुरीहरू एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उल्लङ्घन भए/नभएको यकिन गरिने बताए ।
यसअघि आफूलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरू बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याउनुभएको थियो ।
यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए । यद्यपि सोमबार भने सरकारी वकिल कार्यालयले भने डा. यादवको जाहेरी दर्ता गरेको छ ।
प्रतिक्रिया 4