Comments Add Comment

धनगढीकी कोरोना संक्रमित महिला भन्छिन् –रिपोर्ट किन पोजेटिभ आइरहेको छ, अचम्म लागेको छ

२३ वैशाख कैलाली । धनगढी उपमहानगरपालिका ५ कि ३४ बर्षकी महिला विगत ३२ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन् ।

चैत २२ गते संक्रमण पुष्टि भएदेखि उनमा कोरोना संक्रमणको लक्षण र कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

‘मलाई ३२ दिनसम्म पनि केही भएको छैन’ उनी भन्छिन्, ‘अहिले त कोरोना लागेकै छैन कि जस्तो लाग्छ ।’

महिलाको ६ पटकसम्म स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ नै आइरहेको छ ।

दुबईबाट आएका संक्रमित युवकको परिवारका सदस्य यी महिला नेपालको पहिलो स्थानीय संक्रमित महिला हुन् । युवकको परिवारमा रहेका ९ जनाको परीक्षण गर्दा उनमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘मलाई त्यो बेलानै विश्वास लागेको थिएन’ उनले भनिन्, ‘घनिष्ट रहेकाहरुलाई संक्रमण नभएर मलाई कसरी भयो अचम्म लाग्यो । ’

घरका साना बालबच्चा र ६२ बर्षकी आमालाई संक्रमण नहुँदा खुशी भएकी उनी आफूमा संक्रमण पुष्टि हुँदा भने अचम्ममा परिन् ।

चैत ११ गते अस्पताल भर्ना भएका उनका आफन्त युवकमा १४ गते कोरोना पुष्टि भएको थियो । उनी पनि २८ दिनपछि निको भएर घर फर्किसकेका छन् ।

‘उहाँलाई सामान्य स्वास्थ्य समस्या थियो । २८ दिनमा निको भएर घर जानुभयो, मलाई केही भएको छैन । म ३२ दिनदेखि अस्पताल बसिरहेको छु’ उनी भन्छिन् ।

चिकित्सकले रोगसँग लड्ने क्षमतामा कमी आएका कारण पटक पटक पोजेटिभ रिपोर्ट आएको उनले बताइन् । तर, चिकित्सकको भनाइमा पनि उनले चित्त बुझाउन सकेकी छैनन् ।

‘६०/६५ बर्षकी आमा पनि निको भएर जानुभयो । उहाँलाई दम, खोकी र सुगर पनि थियो । मलाइ त केही छैन’ उनले भनिन्, ‘उहाँ ठीक हुँदा म किन भइन भन्ने लागेको छ ।’

कोरोनाको संक्रमण पुष्टि भए पनि आफूमा कुनै समस्या नभएकाले छिटै घर जान पाउनेमा उनी विश्वस्त छिन् ।

‘म ठीक हुन्छु भन्नेमा ढुक्क छु’ उनी भन्छिन्, ‘तर,६ पटकसम्म कसरी ठीक (कोरोना संक्रमण नेगेटिभ) भएन भन्ने चाहिँ अचम्म लागेको छ । ’

उनी अस्पतालमा विहानैदेखि योग अभ्यास गर्छिन् । खानपानमा पनि विशेष ध्यान दिएको बताउँछिन् ।

‘रोगसँग लड्ने क्षमतामा कमी आएको भनेका छन्,’ उनले भनिन् ‘अहिले त्यो क्षमता बढाउन दैनिक व्यायाम, योग र कसरत गर्ने गरिरहेको छु । ’

सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य सबै निको भएर घर फर्किसकेका छन् । उनीहरुमा पनि स्वास्थ्यमा खासै समस्या देखिएको थिएन ।

यी महिलामा संक्रमण पुष्टि भए पनि कुनै लक्षण र समस्या नदेखिएको उपचारमा खटिएका चिकित्सकहरु बताउँछन् ।

‘पहिलो संक्रमितलाई सामान्य समस्या देखिएको थियो । त्यसपछि कसैलाई पनि लक्षण र समस्या केही देखिएन’ सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने,‘ धनगढीकी महिलामा एक महिनादेखि कुनै समस्या देखिएकोछैन ।

६ पटकसम्म रिपोर्ट पोजेटिभ आए पनि अब भने नेगेटिभ आउन सक्ने उनी बताउँछन् ।

‘३०/४० दिनमा निको भएको पाइएको छ’ उनले भने, ‘अब उहाँलाई पनि नेगेटिभ आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment