Comments Add Comment

महाकालीपारि अलपत्र नेपालीको गुनासो- सरकारले सौतेनी व्यवहार गर्‍यो

२५ वैशाख, कैलाली । एक साता पहिले बैतडी र दार्चुला नाकाबाट २६ सय नेपालीको उद्धार गरियो । तर, त्यो बेला कैलाली र कञ्चनपुर नाका पारि भारतीय भूमिमा रहेका नेपालीहरुको भने उद्धार भएन ।

स्वदेश फर्किने दिनको पखाईमा ४५ दिनदेखि भारतमा रहेका उनीहरु उद्धारमा चासो नदिएकोमा दुखी छन् ।

संसारभर कोरोनाको त्रास हुँदा उनीहरुलाई भने मलेरिया र डेंगुको त्रास पनि थपिएको छ ।

‘४५ दिनदेखि टनकपुरको क्वारेन्टाइनमा छौँ’ घोडाघोडी नगरपालिका ५ सयौयाका गणेश बोहराले भने, ‘यहा रातभर लामखुट्टे मारेर बस्नुपर्छ ।’

सरकारले उद्धारमा चासो नदिँदा आफूहरुसँगै घर परिवार पनि चिन्तामा परेको उनी बताउँछन् ।

‘खेती गर्ने मौसम सुरु भएको छ । घरमा केटाकेटी र बुढा आमा बुवा छन्’ उनले भने, ‘अझै दुई चार दिन जान नपाए खेती गर्न पाइदैन । त्यसपछि के खाने ?’

घोडाघोडी नगरपालिका १ शीतनगरका केशब बोहरा ४५ दिनसम्म उद्धार नगरेर सरकारले आफूहरुलाई हेँला गरेको बताउँछन् ।

‘बैतडी र दार्चुला नाकापारिका नागरिकको उद्धार गरियो । तर, हामीलाई चासो दिइएन’ उनले भने ‘महाकारीपारि अलपत्र परेकाहरुलाई सरकारले सौतेनी व्यवहार गर्‍यो । ’

उनी उद्धारमा ढिलाई हुँदा डेंगुको संक्रमण फैलन सक्ने बताउँछन् । ‘रात दिन लामखुट्टेले टोक्छन्’ उनी भन्छन्, ‘अरुलाई कोरोना लाग्ला हामीलाई त डेंगु लाग्छ होला । ’

क्वारेन्टाइनमा रहेको ३५ दिनसम्म सामान्य स्वास्थ्य परीक्षण भए पनि त्यसपछि हुन छाडेको उनले बताए ।

‘तपाइहरु सबै ठीक हुनुहुन्छ भनेको छ । ठीक छौँ भन्ने थाहा पाउँदा पनि घर जान पाएका छैनौं, बन्धक भएका छौं’ उनको गुनासो छ ।

टनकपुरको जीजीआईसी स्कुलमा मात्रै ७० जना छन् । उनीहरुले पटक पटक मुख्यमन्त्री र मन्त्रीलाई सम्पर्क गरेर आफूहरुलाई नेपाल फर्काउन दबाब दिइरहेका छन् ।

कञ्चनपुर झलारीका मनोज एसके प्रदेश सरकारकै कारण आफूहरुको उद्धार हुन नसकेको बताउँछन् । ‘हामीले पटक पटक मुख्यमन्त्रीलाई सम्पर्क गर्‍यौँ, मन्त्रीलाई भन्यौँ । उहाँले पनि पहल गरेका छौँ भन्नुहुन्छ । तर, उहाँहरुको पहुँच नभएरै होला हामी डेढ महिनादेखि अलपत्र छौँ’ उनले भने ।

निर्देशन कुर्दै प्रशासन

कैलाली र कञ्चनपुरपारि अहिले ४ सय बढी नेपाली अलपत्र परेका छन् । गत साता बैतडी र दार्चुलाबाट ठूलो संख्यामा नेपालीहरुको उद्धार भए पनि कैलाली र कञ्चनपुरपारिबाट भने एक जनाको पनि उद्धार हुन सकेको छैन ।

उनीहरुको उद्धार गर्न पहल भइरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । कैलालीपारि मात्रै १७५ जना नेपाली रहेको उनी बताउँछन् ।
‘१६५ जना नेपालीलाई ल्याउन हामीले पहल गरिरहेका छौं तर, गृह मन्त्रालयबाट कुनै निर्देशन आएको छैन’ उनी भन्छन्, ‘माथिबाट निर्देशन आएलगत्तै उनीहरुको उद्धार हुन्छ ।’

कञ्चनपुरपारि २५१ जना नेपाली अलपत्र परेको तथ्यांक प्रशासनसँग छ । तर, उनीहरुको पनि उद्धार हुन सकेको छैन ।

कैलालीमा जस्तै कञ्चनपुरमा पनि माथिल्लो निकायबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले बताए । उद्धार गर्नुपर्नेमध्ये केही व्यक्ति फेरि काममा फर्किएको हुन सक्ने उनी बताउँछन् ।

‘कञ्चनपुरपारि २५१ जना रहेको तथ्यांक छ । केही उतै फर्किए । अहिले दुई सय जना होलान्’ पौडेलले भने, ‘उनीहरुलाई ल्याउने विषयमा निर्देशन कुरेर बसेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment