Comments Add Comment

अति भो, लकडाउन अब नगर

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसदको रोष्टममा उभिएर ६५ वर्ष उमेर काटेकाले राजनीतिलाई पुस्तान्तरण गरांै भन्ने विचार राखे यसै हप्ता । भट्टराईको यो विचारमा असमत हुने ठाउँ छैन, किनकि कोरोना भाइरसको महामारी भोगिरहेको विश्वलाई प्रकृतिले दिएको पहिलो सन्देश पनि यही हो ।

उमेर पुगो, ठाउँ खाली गर

उमेर पुगेकाहरुले थान्कोमा बस्नुपर्छ, नत्र कोरोना भाइरस जस्ताले आफ्नोे खेला देखाउँछन् । पूर्वीय दर्शनमा पनि गृहस्थ आश्रमपछि वानप्रस्थान र सन्यासको व्यवस्था छ । यो व्यवस्था खाली साधु, सन्त र महन्तका लागि मात्र होइन होला । राजनीतिज्ञमा पनि लागु हुन सके नेपालको समृद्धि सहज हुने थियो ।

फेरि, ६५ वर्षपछि हातखुट्टा छोडेर मृत्युलाई कुरेर बस्नुपर्छ भन्ने छैन । अनुभवका आधारमा कैयन सिजनशील काम गर्ने समय यही हो । तर, समुदाय, नागरिक र संगठनको नेतृत्व लिन भने उमेर पाको भएको मानिसले सहज हुँदैन होला ।

बाबुराम भट्टराईले प्रकृतिले संकेत गरेको सन्देश बुझेर राजनीतिमा उमेरको हदबन्दी अगाडि सार्नुभएको हो भने वहाँलाई धन्यवाद दिनुपर्छ । यो नेपालको राजनीतिको सन्दर्भमा साहसी कदम हो ।  यस्तो अभ्यास कैयन देशमा छन् । अहिले त छिमेकमै रहेको भुटानले पनि यही अभ्यास थालनी गरेको छ ।

नेपालको राजनीति वृद्धहरुको जीवन निर्वाह गर्ने र संसदमा गएर समय काट्ने थलोभन्दा माथि उठ्न नसकेको सन्दर्भमा भट्टराईका अभिव्यक्ति मननयोग्य छन् ।

कोरोना भाइरसको महामारीमा मृत्युवरण गरिरहेका अधिकांश मानिस युरोप र अमेरिकामा ६५ वर्ष माथिका छन् । यस अर्थमा डा.भट्टराई यी पाका उमेर समूहप्रति चिन्ता व्यक्त गर्दै यिनको जीवन रक्षा पनि हुने ठान्दछन् होला । अनि, नेपालको राजनीतिमा थुपि्रएका दीर्घरोगी र फोहोरको डुँगुर पनि बढारिने थियो यही उमेर हदबन्दीको एउटै स्ट्रोकबाट । तर, यो हुनेवाला छैन र भट्टराई स्वयम् पनि उदाहरण बनेर अगाडि आउने छन् कि छैनन्, समयले देखाउने छ ।

लकडाउन अति भो !

नेपालमा विसं २०७६ साल चैत ११ गतेवाट एकसाताका लागि लकडाउन शुरु भएको थियो । एकहप्ताका लागि शुरु गरेको लकडाउन  जेठ ५ गतेसम्म पुग्दा झण्डै ५५ दिनको हुनेछ । किन एक साताबाट लकडाउन शुरु गरियो र के कामका लागि त्यसपछि ५ चरण थपियो र ५५ दिन पुग्यो ? बुझिएन ।

शुरुका दुई/तीन चरणको लकडाउनले स्वास्थ क्षेत्रमा तयारी गर्ने र लकडाउनबाट एक्जिट गरेर कसरी आर्थिक गतिविधिका लागि योजना बनाउनेतर्फ सरकारको तयारी होला भनी नागरिकले ठाने । तर, लकडाउनको लामो यात्राले हुनेखानेलाई त्यत्ति सकस भएन तर गरीखानेको कन्तबिजोग नै भएको छ ।

निसन्देहः भारतको लकडाउनलाई पछ्याउँदै नेपालको लकडाउन पनि यहाँसम्म आइपुगेको हुनुपर्छ । भारतले के गर्छ ? प्रत्येक लकडाउनको अन्ततिर केही सरकारी मित्रहरु बढो उत्सुक भएर सोध्छन् मलाई । भारतले लकडाउन थप्नेवित्तिकै सबै नेपाली अब यहाँ पनि थपिन्छ भनी ढुक्क हुन्थे । सरकार त्यही गर्थ्यो ।

जबसम्म कोरोनाको सामान्य चरित्र र त्यसको प्रभाववारे जानकारी थिएन, नेपाल र भारतजस्तो देशमा लकडाउन र सोसल डिस्टान्सिङकोे विकल्प पनि केही थिएन । भारत सरकारले प्रष्टै भन्यो ‘हाम्रो जनसंख्या, भूगोल र स्वास्थ क्षेत्रको पूर्वाधार अवस्थाका कारण’  लकडाउन र सोसल डिस्टान्सिकङ बाहेक विकल्प छैन भनेर ।

नेपालमा आफ्नो कमजोरी प्रधानमन्त्री तहबाट भन्ने अनुमान हामी गर्न सक्तैनौं । त्यो संस्कार नै छैन सिंहदरबारमा बस्नेहरुसँग । त्यसैले सम्भवतः भारतले के गर्छ भनी ताक्नुपरेको हो । भारतले त लकडाउन गरिरहेको छ भनी चित्त बुझाउने मनोदशामा नागरिक पनि पुगे ।

लकडाउनमा तयारी खै ?

भारतले लकडाउन गरेर आफ्नो नागरिकको जीवन रक्षा मात्र गरेको छैन, लकडाउनपछि कसरी अर्थतन्त्रलाई गति दिने र लकडाउनबाट कसरी निस्कने भनी त्यसबारेमा पनि अनेकन् बहस, छलफल र सुझावहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा शुरुदेखि नै गरिरहेको थियो, अझै जारी छ । त्यसैले त लकडाउनपछिको आर्थिक वृद्धिमा भारत र चीनको भूमिका महत्वपूर्ण हुन जाँदैछ भनी अन्तराष्ट्रिय मुद्रा आयोगले भनेको छ ।

भारत, नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तान मध्ये सबैभन्दा कडा लकडाउन नेपालमा भएको छ । अझै छ । यद्यपि नेपालमा एकजना पनि कोरोना महामारीबाट मरेका छैनन् भनी सरकार आफैं भन्छ । अनि किन लकडाउन ? यसको उत्तर पाउन सहज छैन ।

पाकिस्तानमा लकडाउनबाट हुने आर्थिक र सामाजिक क्षतिलाई बुझेर त्यहाँका प्रधानमन्त्रीले ‘हल्का सोसल डिस्टान्सिङ र केही सतर्कता’ अपनाउन जनतालाई भने । पाकिस्तानले जोखिम उठायो । तर, अर्थतन्त्रलाई डाबाडोल हुन दिएन ।

भारत बिस्तारै खुल्दैछ । आर्थिक गतिविधिहरु अगाडि बढ्दैछन् । भारतमा मात्र होइन, पश्चिमी युरोप र अमेरिकामा पनि लकडाउनलाई लामो समय निरन्तरता दिँदा कोरोना भाइरसभन्दा भयावह महामारी, गरिवी र बेरोजगारी आउने त्यहाँ आकलन भयो । जीवन रक्षाको भरपर्दो ठानिएको लकडाउन जनजीविकाको गतिविधि ठप्प हुँदा खान नपाई ठूलो संख्यामा मानिस मृत्युको नजिक पुग्ने देखियो ।

लकडाउन कसैलाई छुट्टी, धेरैलाई भिखारी

विकसित मुलुकमा भन्दा विकासन्मूख देश आर्थिक चपेटामा पर्ने खतरा अगाडि छ । नेपालले आर्थिक गतिविधि र लकडाउन विच सामाञ्जस्य मिलाउन नसकेकै हो । नेपालमा झण्डै ७५० राजनीतिक एकाइमध्ये ७ वटामा भन्दा बढीमा कोरोना केस देखिएको छैन । कोरोना देखिएको ठाउँलाई सिल गरी अन्य ठाउँमा सतर्कताका साथ आर्थिक गतिविधि चालु राख्नुपर्नेमा नेपाल सरकारले सजिलो बाटो छान्यो, सबै लकडाउन ।

जुन दिन नेपालमा पाँचौं पटक लकडाउन विस्तार गर्ने निर्णय गरिँदै थियो, म भारतमा लकडाउनबारे गरिएका दुईवटा सर्वेक्षणको संक्षिप्त अध्ययन गर्दै थिएँ । सर्वेक्षण टेलिफोनबाट गरिएको थियो । पहिलो सर्वेक्षणमा भारतको शहरी क्षेत्रमा बस्ने मध्यम वर्ग, उच्च वर्ग र सरकारसँग पहुँच भएकाहरु समेटिएका थिए । दोस्रो सर्वेक्षणमा सीमान्तकृत गरीव वर्ग बस्ने ग्रामीण क्षेत्र समेटिएका थिए  ।

संगठित क्षेत्रमा काम गर्ने सरकारी कर्मचारी, सुरक्षा निकाय, शिक्षक, कर्पोरेट हाउसमा करारामा काम गर्ने समूह, राजनीतिज्ञ, पेन्सन होल्डर सबै जो महिनावारी तलब पाउँथे, भारतमा लकडाउनको पक्षमा थिए, झण्डै शतप्रतिशत । तिनलाई लकडाउन उत्सव भएर आयो । छुट्टी ।

त्यसको ठीक विपरीत थियो असंगठित क्षेत्रमा जीवन निर्वाहका लागि काम गर्ने ग्रामिण किसान र मजदुरवर्ग ।

नेपाल र भारतमा सत्तामा कुनै पहुँच नभएको युवा, ग्रामिण किसान, असंगठित क्षेत्रमा काम गर्ने मजदुर वर्गलाई लकडाउनले भिखारी नै बनायो । भिखारी पनि यस्तो कि सम्पूर्ण आत्मसम्मान बेचेर घण्टौं सरकारी निगाहमा केही राहतका लागि उभिनुपर्ने । यो पूर्णतः गलत भएको छ । श्रम र आत्मसम्मान दुबै गुमाएको युवाले देशको समृद्धिमा योगदान दिन सक्तैन ।

सरकारले राहत नै दिनु थियो भने पहिलो एकहप्ता वा एक महिनाभित्र ती किसान, गरिव, सीमान्तकृत समूह र वञ्चनामा परेकाको बंैक खाता खोलेर पैसा त्यहाँ पुर्‍याउने व्यवस्था गर्नुपर्थ्यो । अहिले त राहत सामाग्रीमा त्यस्तै भ्रष्टाचार र अनियमितता भयो, जस्तो प्रधानमन्त्री रोजगार र कृषि कार्यक्रमहरुमा भएका थिए । सबै कार्यकर्ताहरुले लुटे ।

राहतपछि रोजगारी सिर्जनाको स्टेज आउँछ । त्यसतर्फ अहिले नै प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाएर अगाडि बढाउन सकिन्छ ।

सूचना आतंक

के हुन्थ्यो होला नेपाल र दक्षिण एशियाको समाज यदि आज इन्टरनेट, टिभी, र मोवाइल नभएको भए । सम्भवतः धेरै थोरैले मात्र कोरोना भाइरस भन्ने नाम जान्दथे । नेपाल र भारतमा लकडाउन हुने थिएन । कोरोना आउँथ्यो र सामान्य रुघाखोकी र ज्वरो भनेर जान्थ्यो । भारतमा फ्लुबाट केहीको मृत्यु भयो भनी पत्रपत्रिकामा स्यानो समाचार बन्थ्यो होला ।

कोरोना नेपालमा कति आयो र आउने अवस्थामा छ थाहा छैन । तर, ‘विद्युतीय कोरोनाको डर’ भने नेपालमा महामारीका रुपमा फैलियो ।

युरोप र अमेरिकाका लागि भाइरसको प्रकोप नयाँ कुरा थिएन, छैन ।  तर, दक्षिण एशियाका लागि कोरोना भाइरसको प्रकोप भन्दा पनि यसबाट सम्पूर्ण समाजलाई सत्तासीनहरुले डरमा राख्ने उपाय बनाए । र, हामी डरायौं ।

आचार्य रजनीशले झण्डै चार दशक अगाडि भारतमा यस्तै महामारी फैलिँदा दिएको एउटा प्रवचन यहाँ स्मरणयोग्य छ ।

रजनीशको प्रवचनमा एउटा श्रद्धालुले सोधे- अहिले भारतमा महामारी छ, यसबाट कसरी बाँच्ने ?

रजनीश प्रश्न सच्याउँदै भन्छन्,- प्रश्न मेरो मनमा मृत्युको डर छ, डरबाट कसरी बाँचु भनी सोध्न खोजिएको होला । महामारीबाट त बाँचिन्छ । तर ‘डर’ को भाइरसबाट बाँच्ने कसरी ? डर सामुहिक पागलपन हो, यो अवस्थामा सत्तासीनहरु नागरिकलाई राख्न चाहन्छन् । डर, आफैसँग भरोसा र विश्वास गुमाउने प्रकृया हो र यहीँनेर दक्षिण एशिया हज्जारौं वर्षदेखि फसेको छ । ट्रयापमा छ ।

रोग त सजिलै निको भयो नि

डरको व्यापार सरकारीतन्त्रको ब्र्रहृमास्त्र हो आफ्नो असक्षमता लुकाउने । आफ्नो सत्ता टिकाउने । हजारौं मजदुर सडकमा निस्किए नेपाल र भारतमा पनि । कुनै महामारी सुनिएको छैन  । नेपालमा युवा नदी तरे देश भित्र छिर्न । नदीको बगरमा बसे । कसैले ज्यान गुमाउनु परेको छैन ।

कोरोना संक्रमित भएकी वाग्लुङकी दीर्घ रोगी ६५ वर्ष नाघेकी महिला तातोपानी खाएर ठिकठाक भएको अन्तरवार्ता दिन्छिन् । तर, पनि काठमाडौंमा कुनै मोहल्लामा एकजना बाहिरबाट आएको वा कोरोना संक्रमितको लक्षण भएका थाह पाए ८ रेक्टरको भूईचालो नै जान्छ ।

नेपालमा भेटिएका कोरोना संक्रमित अपवाद बाहेक भन्न सकिन्छ, ती आफैं ठीक हुनेखालका थिए । कतिलाई भेन्टिलेटरमा राखिएको छ थाह भएन, तर भारतले जारी सूचनामा अहिलेसम्म अत्यन्त न्यून संख्या छ त्यहाँ भेन्डिलेटरमा राख्नुपर्ने । तर, देशको माहौल भारत र नेपालका सबै संक्रमित मर्ने हुन् भनेझै ‘डर’को छ ।

आज भन्दा साढे तीन/चार दशक अगाडि कुनै एउटा अस्थिर दिमागको युवाले एउटा सानो चक्कु लिएर हिँड्छ भन्ने हल्ला चल्दा समसाँझै काठमाडौं सुनसान हुन्थ्यो । डरको काठमाडांैमा पुस्तान्तरण भएको छ अहिले ।

पूर्वप्रधानमन्त्री भट्टराईले उमेरको हदबन्दीसँगै डरको पुस्तान्तरण हटाउने उपाय पनि दिनसक्नुपर्थ्यो । भट्टराईजस्तो व्यक्तिले बोलेको प्रभाव पर्छ नागरिकमा । तर, किन हो, वहाँ चुक्नुभयो ।

युरोप र अमेरिकामा भाइरससँग लड्ने क्षमता ह्रास हुँदै गएको दशकौं अगाडिदेखि हो । झण्डै तीन/चार लाख मानिस त्यहाँ प्रतिवर्ष अनेकन किसिमका भाइरसबाट प्रभावित भएर ज्यान गुमाउँछन भनी त्यहाँको मेडिकल जर्नलमा पढ्न पाइन्छ । स्वास्थ क्षेत्रको अध्ययन र अनुसन्धानमा अमेरिका र युरोपले कम खर्च गर्न थालेकाले पनि यो पटक भाइरसबारे बेलैमा त्यहाँ जानकारी भएन र ठूलो क्षति भयो ।

भाइरसमा राजनीति

चीनको समृद्धि युरोप र अमेरिकालाई पचिरहेको थिएन । चीन महाशक्ति राष्ट्रतर्फ उन्मूख छ । कैयन कमी कमजोरी हुँदाहुँदै पनि कोरोना महामारीमा चीन अहिले सबैको सहयोगी मित्र भएको छ । तर, चीनलाई नै लिएर कोरोनाको राजनीतिकरण भयो ।

अहिले चीनबाट युरोप, अमेरिका र जापानसमेत आफ्नो उद्योग धन्दा र बन्द व्यापार उठाउने तयारी गर्दैछन् । चीनलाई घेराबन्दी गर्ने अनेकन् उपायहरु परास्त भए विगतमा । अहिले कोरोना भाइरस एउटा हतियार भएर आएको छ । यसको नेतृत्व लिन अमेरिकी राष्ट्रपति ट्रम्प तयार छन् । तर, ट्रम्पमाथि अविश्वास छ संसारकै ।

लकडाउन बाहेक केही त गर सरकार

नेपालमा कोरोना नियन्त्रण गर्न अपनाइएको लकडाउनले अर्थतन्त्रमा कति क्षति पुग्यो खासै आकलन भएको देखिँदैन । विश्वमा झण्डै १२ टि्रलियन डलर ह्रास आएको मानिँदै छ । यो भनेको चीनको प्रतिवर्ष ग्राहृस्थ उत्पादनभन्दा केही कम मात्र हो । नेपालमा पनि झण्डै २५ लाख घरपरिवार यसबाट प्रत्यक्ष प्रभावित भएको हुनुपर्छ । यदि त्यस्तो हो भने नेपालमा गरिबीको रेखामुनि झण्डै ३५ प्रतिशत घर अब पुग्नेछन् ।

अहिले झण्डै ६० प्रतिशत नेपालीको घरमा रेमिट्यान्सको पैसा भित्रिन्छ भन्ने अडकल छ । त्यो समाप्तै नभए पनि क्रमशः आधा घट्ने छ । अर्थात चार खर्बको घाटा नेपालको कुल गाहृर्स्थ उत्पादनमा पर्ने छ ।  मध्यपूर्व, मलेसिया लगायत युरोप र अमेरिकाबाट नेपालमा आइरहेको रेमिट्यान्सको मात्रा अब धेरै नै घट्ने छ ।

योबेला चीनबाट बाहिर निस्कन खोजेका उद्योग धन्दा भियतनाम, मलेसिया, थाइल्याड, मेक्सिको, कम्बोडिया र केही भारत सर्दैछन् । नेपाल चर्चामा पनि आएन । नेपालको श्रमबजारमा प्रत्येक वर्ष आउने पाँच लाख युवा र अब विदेशबाट आउने लाखौं युवाहरुका लागि देशमै रोजगारी दिने यो अवसर तब मात्र सम्भव छ, जब देश एक ढिक्का हुनेछ ।

र, देशलाई एक ढिक्का पार्ने काम प्रधानमन्त्रीबाट धेरै पहिले नै अगाडि बढिसक्नुपर्ने थियो । तर, पनि सबै सम्भावना समाप्त भएको छैन । राहतको काम सरकारले गरिरहँदा रोजगारीबारे नसोच्ने हो भने देश टाट पल्टिन्छ । सोचौं अवसर छ ।

के छन् त्यसका आधारहरु ?

नेपालको युवा जनसंख्या त्यसको सबैभन्दा ठूलो आधार छ । त्यस्तै नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता भाइरससँग लड्न सक्ने छ भनी जीवविज्ञान शास्त्रीहरु भन्छन् । यो पूँजी कोरोनाले प्रदान गरेको छ नेपालमा । भाइरसको प्रभाव पश्चिम युरोप र अमेरिकाको चिसो ठाउँमा बढी केन्द्रित छ र यसका लागि खास जलवायुमा यो बढी फैलिएको देखियो भनी ‘राइज एण्ड फल अफ नेशन’का लेखका रुचीर शर्माको लेख टाइम्स अफ इण्डियामा यसै हप्ता पढ्न पाइयो ।

कत्रो अवसर थियो र छ, नेपालले तयारी गरेको भए चीनबाट विस्थापित उद्योगहरुलाई नेपालमा सार्न ।

नेपालका कम्युनिष्टहरु सधैं ‘शोकलाई शक्तिमा बदलौं’ भनेर सत्तामा त पुग्छन् तर ‘शोकलाई समृद्धिमा बदल्ने’  अवसर भने बुझ्ने सामान्य कोशिस नै गर्दैनन् । गर्नुपर्‍यो । नभए सत्ता जान्छ ।

 भाइरस हिजो पनि थियो भोलि पनि आउनेछ

कोरोनाको डरमा सम्पूर्ण नेपाली समाज लकडाउन भएर बस्नुपर्ने होइन । भाइरससँग हाम्रा पूर्वजहरुले लडे र जितेर हामीलाई यहाँसम्म ल्याइपुर्‍याएका हुन् । धेरै शहिद भएका छन् हाम्रा पूर्वजहरु भाइरस र ब्याक्टेरियासँग लडेर, जुधेर ।

यसरी लड्दा र भिड्दा केही भाइरस र धेरै ब्याक्टेरियासँग मानिसको मित्रता पनि गहिरो छ । आज हामी बाँचेका छौं, यसमा हाम्रा पूर्वजले यस्ता भाइरससँग लडेर र मित्रता गरेर हाम्रो खूनमा लड्ने क्षमता दिएका छन् । खराब भाइरसलाई परास्त गर्ने क्षमता ।

निसन्देह कोरोना भाइरसको उत्पतिका पछाडि आर्थिक कारण नै विशिष्ट छ । प्रकृतिलाई श्रोत र साधन मात्र ठान्ने उदार पुँजीवादको गर्भगृहबाट कोरोनाको उत्पत्ति र विस्तार भएकोमा कुनै शंका छैन । आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आयको तिव्र प्रतिस्पर्धामा आधुनिक पुँजीवादले प्रकृतिको इकोसिस्टममाथि नै प्रहार गर्‍यो । भाइरस र ब्याक्टेरियाको पनि पृथ्वी घर हो भन्ने कुरा समृद्धिको नारामा शासकहरुले बिर्सिए । के खाने, कति खाने र कसरी खाने भन्नेसम्म पनि हेक्का भएन ।

जल, जमिन, जंगल, पहाड, खानी, समुद्र, आकाश, सूर्यको किरण सबै समृद्धिका नाममा ‘स्रोत र साधन मात्र’ भए । तर, यी प्रकृतिको ‘इको सिस्टम’लाई तालमेल राख्ने, जंगलमा चर्ने चरा र त्योसँग तालमेल गरेर बस्ने ब्याक्टेरिया भाइरसलाई तथकथित ‘वेट मार्केटमा’  जिवितै राख्ने र खाने हदैसम्मको उपभोगवादी संस्कृतिको उपज कोरोना भाइरस भयो ।

प्रकृतिको सन्देश विभिन्न किसिमले आउँछ । योपटक के खाने र कसरी खाने भन्ने जानकारी गराउन कोरोना भाइरस आउनुपर्‍यो ।

राष्ट्रिय एकता आजको अपरिहार्यता

वैशाख २५ गते पछि ‘लकडाउन’ समाप्त हुन्छ यो सामान्य धारणा नेपालीहरुमा थियो । नेपालमा सरकारले अहिलेसम्म गरेको लकडाउनको यात्राबाट उत्पन्न आर्थिक चुनौति र विश्वमा कोरोना महामारीबाट आइसकेको आर्थिक मन्दी सामान्य छैन । कोरोना महामारीबाट बन्ने नयाँ संसारबारे अहिले नै व्यापक छलफल र अनुमान गरिँदैछ ।

नेपालमा पनि भावी सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक क्षेत्रमा आउने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भनी फुटकर छलफल चलाएको पत्रपत्रिकावाट बुझिन्छ । सरकारभन्दा बाहिर यो छलफल बढी भएको देखिन्छ ।

सरकारी स्तरमा भविश्यको नेपालको जिम्मा लकडाउनलाई दिएर हाइसञ्चो मानेर बस्ने अवस्था छैन । सत्ताको लडाइँमा समय खर्चेको देखिनु ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ जति हुनु/नहुनु भयो । यो रोकिनुपर्छ पूर्णतः ।

सत्ता फेर्नु छ, संसदीय दलको बैठक राख र तुरुन्त फेर । तर, देशलाई गिजोल्नु यो समय खतरनाक परिणाम आउन सक्छ ।

कोरोना भाइरसबाट तत्कालै उन्मुक्ति सम्भव नभएकाले नेपालीहरुले कोरोनासँग भागेर र डराएर होइन, लडेर अगाडि बढ्नुको विकल्प छैन । देशले भावी दिनमा जुन तहको लडाइँ लड्नु छ, त्यसमा सबै नेपालीलाई एक ढिक्का नबनाई युद्ध जित्न सम्भव छैन ।

युद्ध अब कोरोना भाइरससँग छैन । युद्ध गरिवी, बेरोजगारी र आर्थिक असमानताबाट उत्पन्न राजनीतिक र सामाजिक क्षेत्रमा देखिने छ ।

सम्पूर्ण उत्पादनका क्षेत्रहरुलाई सतर्कतापूर्वक खोलौं । सेवा क्षेत्रलाई पनि ‘फिजिकल डिस्टान्सिङ’ कायम गर्दै पूर्णरुपमा खोलौं । स्कुल, कलेज र जमघट हुने ठाउँलाई यो वर्ष खुल्दैन भनेर अहिले नै घोषणा गरौं । स्पानिश फ्लुले ५ देखि १० करोड मानिस मार्नुमा स्कुल प्रमुख कारण थियो । केटाकेटीहरुबाट संक्रमण विस्तारको ‘चेन’ सजिलै बन्छ । घरमा, खेलकुदको मैदानमा, पसल र सडकमा सर्वत्र सबै उमेरका वीच ती पुग्छन् ।

अन्त्यमा, संसार बुझेर र जानेर केही हुँदैन । नेपाल नेपालीले बनाउने हो । नेपालको राष्ट्रिय एकताबाट अहिलेको चुनौतिमा नेपाल बनाउन सकिन्छ । यो विश्वास नेतामा हुनुपर्‍यो ।

प्रशासक केही इमान्दार भए पुग्छ । आम नागरिकले त अनेकन कष्ठ सहेर पनि शासक र प्रशासकलाई सधैं सहयोग गरेकै छन् । शासक र प्रशासकको परीक्षणको घडी यही हो । केही त गर्न उठ , जाग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment