Comments Add Comment
कोरोना हटस्पट कपिलवस्तु :

भारतबाट ९ सय आइसके, २१ सय बढी दशगजामा छन्

२९ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा सोमबार बिहानसम्म १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । जिल्लामा भारतबाट आएका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ तर रिपोर्ट आउन बाँकी छ ।

कोभिड–१९ को संक्रमण पुष्टि भएका सबै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

भारतले लकडाउन खुकुलो बनाएसँगै रोजगारीका लागि भारतमा रहेका नेपालीहरू स्वदेश आउने क्रम जारी छ । एक साताअघि भारतबाट आएका नौ सय ४३ जनालाई जिल्लाका १० वटा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकामध्ये चार सय ४३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये दुई सय ४४ जनाको रिर्पोट आउँदा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब एक सय ९९ जनाको रिर्पोट आउन बाँकी छ ।

यस्तै, अहिले पनि कपिलवस्तु र भारतको सीमा क्षेत्रमा २१ सय बढी नेपाली रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार १३५५ जना जम्मा भएका थिए । सोमबार बिहानसम्म यो संख्या बढेर दुई हजार एक सय ३७ पुगेका छन् । अहिले कृष्णनगरमा चार सय ३०, भील्मी–कुशहवामा चार सय ८९, हरदौना तीन सय ८, मर्यादपुर चार सय ९३, चाकरचौडमा दुई सय १९, हथिहवामा एक सय ६, विजयनगर ९२ जना दशगजामा छन् ।

उनीहरूलाई स्थानीय तहले सीमा नाकामै खानपिनको व्यवस्था गरेको छ तर नेपाल आउन दिइएको छ ।

घुसपैठ नियन्त्रण बाहिर

नेपालले १० चैतदेखि नै अन्तर्राष्ट्रिय सीमा नाकामा आवात–जावत बन्द गरेको छ । जिल्लाको ९७ किमी लामो सीमामा सशस्त्र प्रहरीको ६५ र नेपाल प्रहरीको १९ वटा चेकपोस्ट छ । त्यहाँ सशस्त्र प्रहरीका १२ सय र नेपाल प्रहरीले ४ सय जना खटाएको छ । तर, दैनिक दुई सयबढी नेपाली लुकिछिपी आउने गरेका छन् ।

यसरी आएकाहरू न क्वारेन्टाइनमा बस्छन्, न स्वास्थ्य जाँच नै गराउने गरेका छन् । लुकिछिपी आउँदा भेटिएकाहरूलाई भने क्वारेन्टाइनमा राख्ने गरिएको छ । वैशाख २३ गते सामूहिक रुपमा चोरबाटो नेपाल छिरेका एक सय ५५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइन राखेको थियो । उनीमध्ये ५ जनामा कोरोना संक्रमण देखियो ।

यो पनि पढ्नुहोस लकडाउनका बेला भारतबाट आएका थिए कपिलवस्तुका १० संक्रमित

अब अहिले सीमामा नेपाल प्रवेश गर्नेहरूको चाप बढेसँगै थप समस्या सिर्जना भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्ल भन्छन्, ‘दुई हजार मान्छे सिमानामा छन् । उनीहरूको निगरानी गर्ने कि चोरबाटोमा आउनेलाई रोक्ने ? जनशक्ति अभाव भयो ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने गृह मन्त्रालयको निर्देशन नआएसम्म दशगजा क्षेत्रमा जम्मा भएकाहरूलाई केही गर्न नसकिने बताए ।

भारतबाट मानिस ल्याउन जनप्रतिनिधिको होड

केही दिनअघिसम्म राहतका नाममा चर्चामा रहेका जनप्रतिनिधि अहिले सिमानामा आइपुगेका नागरिकलाई आफ्नो मतदाता भन्दै नेपाल ल्याउन कस्सिएका छन् । केही सफल पनि भएका छन् । विनास्वास्थ्य जाँच यसरी ल्याइएकाहरूलाई क्वारेन्टाइनमा राखिन्छ । तर, पहुँच भएका २४ घण्टामै घर जान्छन् भने नभएकाहरू १४ दिन बस्छन् । क्वारेन्टाइन पनि व्यवस्थित छैन । एउटा कोठामा २० जनासम्म छन् । क्वारेन्टाइन बस्ने सबै एक आपसमा घुलिएर बस्छन् ।

कोरोना संक्रमण देखिएका ५ जना मायादेवी पकडीको क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि हुनुअघिसम्म उनीहरूले क्वारेन्टाइनमा बसेका अधिकांशसँग घुलमिल गरेका थिए । तर, उनीहरूको स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । खाना खुवाउनेदेखि सुरक्षाकर्मीहरूसमेत संक्रमित हुने खतरा बढेको छ ।

प्रभावित क्षेत्र अझै सिल गरिएन

सोमबार थपिएका ८ जना संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाको एउटै गाउँका हुन् ।

एक साताअघि भारतको मुम्बईबाट आएका उनीहरूमध्ये केही घरबाट क्वारेन्टाइन आएका थिए भने केही सिधै आएका थिए । मायादेवीमा भेटिएका चार जना पनि एउटै गाउँका हुन् । उनीहरूमध्ये पनि केही गाउँ आएपछि मात्र क्वारेन्टाइन पठाइएको स्थानीयवासीहरू बताउछन् । तर, सिङ्गो गाउँलाई सिल गरेर सम्पर्कमा आएकाहरूको खोजी र परीक्षण गर्ने काम भने निकै सुस्त देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment