Comments Add Comment

प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी, दुरी कायम गराउन समस्या

३० वैशाख, विराटनगर । प्रदेश नं. १ को वर्षे अधिवेशन (बजेट अधिवेशन) आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरूसँग छलफल चलाएका छन् । उनीहरूको रायअनुसार वर्षे अधिवेशन आगामी जेठ १३ गते बस्नेगरी आवश्यक तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिए ।

‘आगामी जेठ १६ गतेभित्र बजेटको पूर्वछलफल सक्नुपर्ने बाध्यतामा हामी रहेका छौं,’ सभामुख भण्डारीले भने, ‘त्यसका लागि आवश्यक समय र तयारीका लागि १३ जेठमा अधिवेशन आह्वान गर्ने निष्कर्षसहित आवश्यक तयारी थालेका छौं।’

असार एक गतेसम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैले १५ देखि २५ जेठसम्म बजेटमाथि प्रदेश सभामा छलफल गर्ने कार्यसूची छ ।

बैठक कक्षको समस्या

कोरोना संक्रमणको जोखिम रहेकाले प्रदेश सभाको बैठक बसाल्दा सांसदहरूबीच दुरी कायम गराउनु पर्नेछ । तर, हालको बैठक कक्ष साँघुरो भएकाले कसरी बैठक सञ्चालन गर्ने समस्या देखिएको छ ।

अन्यत्र बैठक गर्दा पनि प्रदेशसभा सचिवालयको प्रशासनिक संयन्त्र, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रमुख विपक्षी दलको नेतालगायतको कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो गर्दा खर्चिलो र समय पनि धेरै लाग्ने हुन्छ ।

अहिलेकै हल प्रयोग गर्ने बाध्यतामा प्रदेशसभा सचिवालय छ। ‘सत्तापक्ष र प्रतिपक्षका माननीयहरूले पनि अहिलेको प्रदेशसभा हललाई नै आवश्यक तयारी गरी बैठक चलाउन राय सुझाव दिनु भएको छ,’ सभामुख भण्डारीले भने, ‘केही साँघुरो भए पनि यही हलमा व्यवस्था गर्ने तयारी छ ।’

हालको बैठक कक्षमा रहेको दर्शकदीर्घा तथा सञ्चारकर्मी बस्ने कुर्सी हटाएर आधा सांसदहरूलाई बस्ने व्यवस्था गरिने र आधालाई सचिवालयको माथिल्लो तलाको हलमा डिजिटल क्रिन राखेर सहभागी गराई बैठक सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रदेश १ मा ९३ जना सांसद छन् ।

प्रदेशसभा साबिकको जिल्ला विकास समिति मोरङको हलमा सञ्चालित छ । त्यहाँ सांसदको लागि ९२ कुर्सी छन् । दर्शकदीर्घामा ३० र पत्रकारहरूको लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको छ ।

कोरोना भाइरस संक्रणको जोखिमका कारण प्रदेश १ को हिउँदे अधिवेशन छोटो समय मात्रै सञ्चालन भएर स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment