Comments Add Comment

सावधानी अपनाउँदैनन् सांसद, संसद सचिवालयले गर्‍यो ताकेता

२९ वैशाख, काठमाडौं । वजेट अधिवेशन सुरु हुनुअघि संसद सचिवालयले सबै सांसद र कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्‍यो । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएपछि स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर बैठक सञ्चालन भइरहेको छ ।

संसद बैठकमा सहभागी हुने सांसदका लागि संसद सचिवालयले चिकित्सकहरुको सुझावका आधारमा आचारसंहिता बनाएको छ । तर सांसदहरुले पालना नगरेको पाइएको छ ।

हाल दैनिकजसो संसद बैठक बसिरहेको छ । बैठक हल नयाँवानेश्वर आउँदा सांसदहरु समूहमा आएका छैनन् । माक्स प्रयोग गरेकै छन् । हात धुने र ज्वरो नाप्ने पनि गरेका छन् । बैठक कक्षमा सामाजिक दुरी कामय गरेर राखिएका र तोकिएका कुर्सीमा बसेका छन् । आपसमा कुराकानी भएको पनि कमै पाइएको छ । प्रवेश गर्दा र बाहिर निस्कदा फरक फरक ढोका प्रयोग गर्नुपर्ने आचारसंहिताको पालना भएकै छ ।

तर, घरमा गएर एकान्तबास बस्नुपर्ने आचारसंहिताको पालना गर्नमा भने सांसदहरु चुकेका छन् । सचिवालयले आचारसंहितामा भनेको छ, ‘बैठकपछि घरमा गई स्वयं एकान्तबासको नियमहरुको पालना गर्नुहुन ।’

पीसीआर टेस्ट गराएका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई काठमाडौं बाहिर नजान पनि आग्रह गरिएको छ ।

एकान्तबासमा बस्न ताकेता

संसदहरुले एकान्तबासको नियम पालना नगरेको पाइएको भन्दै संसद सचिवालयले ताकेता गरेको छ ।

‘कतिपय सांसदज्यूहरुले कार्यकर्ता भेटघाट गर्ने, पत्रकारसँग भेटघाट गरिरहेको भन्ने छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनलाइनखबरसँग भने, ‘एकान्तबासको पालना नभएपछि पुनः स्मरण गराएका छौं । एकान्तबास मात्रै नभएर सब नियमहरु के के छन् भनेर ताकेता गरेका हौं ।’

मिनी संसदमा छैन सावधानी

संसदीय विषयत समितिहरु दिनहुँजसो बसिरहेका छन् । बैठककक्षमा सामाजिक दुरी कायम गरेरै बसेका छन् ।

तर, मिनी संसदमा सहभागी हुनु अघि साबुनपानीले हात धुनुपर्ने नियम पालना भएको छैन । साबुन पानीको व्यवस्था कुनै पनि समितिमा नभएका कारण यो नियम पालना नभएको हो ।

कतिपय समितिको ढोकामा स्यानिटाइजर राखिएको छ । कतिपयमा स्यानिटाइजर समेत राखिएको छैन ।

सांसदहरु समिति बैठकमा सहभागी हुँदा सामाजिक दुरी कायम गरेर राखिएका कुर्सीमा बस्छन् । तर, कुराकानी गर्नेलगायतका कार्यमा भने सामाजिक दुरीको पालना पटक्कै भएको छैन ।

ट्वाइलेट सबैका लागि एउटै प्रयोग भइरहेको छ ।

संसद सचिवालयका प्रवक्ता पाण्डे भन्छन्, ‘मिनी संसदमा सर्तकतामा केही कमी भएको छ । हामी यसबारे छलफल गरिरहेका छौं ।’

३१५ सांसदको कोरोना परीक्षण

हालसम्म ३१५ सांसदले कोरोना परीक्षण गरेका छन् । उनीहरु सबैको रिपोर्ट नेगेटिभ छ ।
संघीय संसद सचिवालयका सुविधा शाखा प्रमुख रामहरि थापाका अनुसार राष्ट्रियसभाका ५६ जना सदस्यको कोरोना परीक्षण भएको छ । अब दुई जना बाँकी छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक जना राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।

प्रतिनिधि सभातर्फ २६३ जना सांसदको कोरोना परीक्षण भएको छ । १२ जना बाँकी छन् । मंगलबार पनि ३/४ जना परीक्षणका लागि टेकु गएको तर, रिपोर्ट आउन बाँकी रहेको संसद सचिवालय सुविधा शाखा प्रमुख थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment