Comments Add Comment

काठमाडौं प्रवेश गर्न भनसुन ! पास भिरेर आएकामा भेटियो संक्रमण

रमेश खरेल भन्छन् - कानून अनुसार चल्नुपर्ने प्रहरी, व्यक्तिको आदेशमा चल्न थाल्यो

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको व्रतबन्धका लागि घर गएकी थिइन् ।

फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनको मंगलबार राति कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार उनी जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जारी गरेको सवारी पास भएको गाडीमा नागढुंगासम्म आएकी थिइन् ।

भक्तपुरकी २५ वर्षीया कोरोना संक्रमित युवती पनि सोमबारै सुनसरीको रामधुनी नगरपालिका, झुम्काबाट फर्किएको खुलेको छ। सवारी पास भएको काकाको गाडीमा भक्तपुर आइपुगेकी थिइन् ।

दुवै प्रतिनिधिमूलक घटना हुन् र यसले के देखाउँछ भने लकडाउनको समयमा पास बनाएर वा लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गरेका अरूमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ ।

प्रहरीको तथ्यांकअनुसार मंगलबार मात्र उपत्यका प्रवेश गर्ने नाका नागढुंगाबाट ५८ वटा सवारीसाधन फर्काइए । तीमध्ये ५ वटा ट्रक र ५ वटा ट्यांकर पनि थिए ।

सोमबार फर्काएका ६६ सवारीसाधनमध्ये १९ वटा ट्याकंर, ट्रक र बस थिए । ‘ट्यांकर र खाद्यान्न, निर्माण सेवालगायतका ट्रकले पनि मान्छे बोकेपछि फर्काएका हौं’, महानगरीय प्रहरी वृत्त, नागढुंगाका प्रमुख डीएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘पास नहुनेसहित दैनिक ५०/६० वटा गाडी फर्काइरहेका हुन्छौं ।’

खतराको घण्टी

मंगलबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा ‘काठमाडौंमा पनि लकडाउन छ र ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बल्ल सुरक्षा निकाय तातेको छ ।

मंगलबार नै गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेललगायतले नागढुंगा नाकाको निरीक्षण पनि गरे । तर, त्यही दिन थानकोट, फर्पिङ र जगाती नाकाबाट मात्र पाँच हजार बढी सर्वसाधारण उपत्यका भित्रिएको रिपोर्ट गृह मन्त्रालयसम्म पुगेको छ ।

नागढुंगा नाकाको निरीक्षणमा निस्किएको टोली ।

अघिल्लो बुधबारदेखि अहिलेसम्म एक साताको अवधिमा नागढुंगा नाकाबाट मात्रै ४ हजार ३९५ मालवाहक र छ हजार ५ सय ४९ यात्रुवाहक सवारीसाधन उपत्यका भित्रिएको सरकारी तथ्यांक छ ।

यही अवधिमा २३ हजार पाँच सय ७२ जना सर्वसाधारण उपत्यका छिरेका छन् भने चार हजार छ सय १४ मालवाहक र पाँच हजार तीन सय १२ यात्रुवाहक सवारीसाधनमा १४ हजार नौ सय ३१ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।

भक्तपुरको जगाती नाकाबाट अवस्था पनि उस्तै छ ।

परिस्थिति एकदमै जटिल बनिसकेको छ, समाधान सजिलो छैन – डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

पछिल्लो एक साताको अवधिमा पाँच सय ४६ वटा मालवाहक गाडी र दुई हजार सात सय २७ वटा यात्रुवाहक गाडी काठमाडौं भित्रिएका छन् । जसमा छ हजार चार सय एक जना यात्रु सवार थिए । यही अवधिमा ५ सय ७४ मालवाहक र दुई हजार तीन सय ४९ यात्रुवाहक गाडीमा पाँच हजार सात सय ५२ सर्वसाधारण उपत्यकाबाट बाहिरिएको तथ्यांक छ ।

यसरी आवतजावत हुनुले खतराको संकेत देखाएको जनस्वास्थ्यविज्ञहरू बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘अब अत्यावश्यकको पनि अत्यावश्यक प्रशासनले छान्नुपर्छ । कोही नआई नहुने भए निगरानीका लागि संयन्त्र चुस्त बनाउनुपर्छ ।’

विभिन्न जिल्लाबाट भित्रिएका व्यक्तिको तथ्यांक लिएर फलोअपलाई राख्नुपर्ने उनी बताउँछन् । ‘थुप्रै मान्छे उपत्यका भित्रिसकेको सन्दर्भमा बाहिरबाट आउने मात्र होइन, यहीँका सर्वसाधारणको पनि पीसीआर टेस्ट गर्नुपर्छ’, सुवेदीले भने, ‘अहिले परिस्थिति एकदमै जटिल बनिसकेको छ, समाधान सजिलो छैन ।’

दार्चुलाबाट नागढुंगा आउँदासम्म जाँच भएन

जिल्ला प्रशासन कार्यालयहरूले वितरण गरेको पास बोकेर हिँडेका व्यक्तिमा पनि कोरोना संक्रमण पाइएपछि गृह मन्त्रालय झस्किएको छ ।

मंगलबार गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्न नपाउने व्यवस्था लागू गरेको छ । उपत्यकाको हकमा अत्यावश्यक अवस्थामा पास लिनु परेपनि गृहसँग समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, गृहले निर्णय गरेको भोलिपल्टै बुधबार दार्चुलाबाट ११ जना मजदुर काठमाडौं आइपुगेका छन् । धादिङको खत्रीपौवामा प्रहरीको चेकजाँच हुने थाहा पाएका उनीहरू केही वरै ओर्लिए । दार्चुलादेखि आएको गाडी त्यहीँबाट फर्कियो ।

‘मजदुरहरू चाहिँ चोर बाटोबाट लुखुरलुखुर उपत्यका छिरेछन्’, एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘नागढुंगा छेउमा भेटेर सोधपुछ गर्दा दार्चुलाको व्यास गाउँपालिकाले बनाएको पास लिएर आएको पाइयो ।’ रामेछापस्थित घर जाने गरी दुवै स्थानीय तहको समन्वयमा दार्चुलाबाट हिँडेको उनीहरूको भनाइ थियो ।

यद्यपि, सरकारले प्रशासनले जारी गरेको पास समेत खारेज गरिसकेको अवस्थामा उनीहरू नागढुंगामा भेटिएका थिए । एक सुरक्षा अधिकृतका अनुसार दार्चुलाबाट आइसकेको अवस्थामा फर्काउँदा उनीहरू झन् अप्ठ्यारोमा पर्ने अवस्था थियो । रामेछाप जान दिन पनि अवस्था अनुकूल थिएन ।

‘अन्तिममा धादिङसम्म लिएर आएको गाडी चितवन पुगेको रहेछ, त्यसलाई फर्काएर रामेछापसम्मै लगिदिन भन्यौं’, एक अधिकृत भन्छन् । प्रदेशका प्रहरी प्रमुखहरू भने सर्वसाधारणको आवतजावतलाई पूर्णतः रोक लगाइएको दाबी गर्छन् ।

गण्डकी प्रदेशका प्रमुख डीआईजी घनश्याम अर्यालले अनलाइनखबरसँग भने, ‘अहिले सर्वसाधारण हिँड्ने क्रम ठप्पै छ । अब लुकेर छिपेर गइरहेका छन् भने त्यो थाहा हुने कुरा भएन ।’ उनले आफू अहिले पनि बुटवलको सीमा क्षेत्रमा रहेको बताउँदै गृहको निर्देशनलाई कडाइका साथ लागू गरिएको बताए ।

वागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामा पनि गृहको निर्देशनअनुसार चेकजाँचमा अत्यन्त कडाइ गरिएको दाबी गर्छन् । तर, उद्योग, कलकारखाना, खाद्यान्न लगायतका अत्यावश्यक क्षेत्रमा हिँडडुल खुला गरिएकाले संख्या बढी देखिएको हुनसक्ने उनी बताउँछन् ।

दबाबमा छिराइन्छन् गाडी

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले २४ वैशाखमा भिडियो कन्फ्रेन्स गरेर सात वटै प्रदेश प्रमुखसँग ब्रिफिङ लिए । त्यसक्रममा केही प्रदेश प्रमुखले एउटा प्रदेश कटेर गाडी आउने गरेकाले रोक्न समस्या हुने गरेको बताएका थिए ।

‘जुन प्रदेशबाट हिँडेको हो, त्यहीँ चेकजाँच कडा भएर रोकिए समस्या हुने थिएन’, एक प्रदेश प्रमुखले भनेका थिए, ‘दुई वटासम्म प्रदेश पार गरिसकेपछि रोक्न पनि व्यवहारिक रुपमा समस्या हुने गरेको छ ।’ त्यसपछि ज्ञवालीले सम्बन्धित प्रदेशमै सवारीसाधन रोक्न निर्देशन दिएका थिए ।

प्रदेश र संघीय सरकारका मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकृत र माथिल्लो तहका सरकारी कर्मचारीले पासविनाका सवारीसाधन छाडिदिन दबाब दिने गरेको छन् ।

यद्यपि, हालसम्म सवारीसाधनको आवतजावत रोकिएको छैन । प्रहरी अधिकृतहरूका अनुसार आईजीपी ज्ञवालीले सम्बन्धित जिल्लाका प्रशासन वा गृह मन्त्रालयको स्वीकृत भए, सवारीसाधनलाई हिँड्न दिनू भन्ने आदेश दिएका थिए ।

तर, प्रदेश र संघीय सरकारका मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकृत र माथिल्लो तहका सरकारी कर्मचारीले सवारीसाधन छाडिदिन दबाब दिने गरेको अधिकृतहरू बताउँछन् । उपत्यका छिर्ने एक नाकामा बसेका अधिकृत भन्छन्, ‘हामीले कडाइ गरेर मात्र के गर्नु, पहुँच हुनेहरू माथिको सोर्स लगाएर छाड्न बाध्य बनाइहाल्छन् ।’

यसले लकडाउनको कडाइको नीति सर्वसाधारणका लागि मात्र भएको जस्तो देखाउने बताउँछन्। नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि सुरक्षा निकाय कानुनअनुसार चल्नुपर्नेमा व्यक्तिको आदेशमा चल्न थालेकोप्रति असन्तुष्टि व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘माथिका नेताले पनि त्यस्तै रुचाइरहेका छन्, प्रहरीका हाकिमले पनि त्यही रुचाइरहेका छन् । यसले फिल्डमा खटिएका कर्मचारीको मनोबल गिरेको छ । उनीहरू हाकिमले जे भन्यो, त्यही टेर्न बाध्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment