+
+

पूर्वगृहमन्त्रीका गार्डको संक्रमण स्रोत भेटिएन, सशस्त्रका दुई संक्रमित बने धन्यवादका पात्र !

गौरव पोखरेल गौरव पोखरेल
२०७७ जेठ १ गते २२:३०

१ जेठ, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला (२५) भक्तपुरकी हुन् ।

अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (अप्स) तथा नेपाल प्रहरी जुटेको छ । भक्तपुरको दुवाकोटमा बसेका २७ वर्षीय उनमा संक्रमण देखिएपछि उपत्यकाभित्र पनि समुदाय स्तरमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

त्यसैले सर्वसाधारणको व्यापक रुपमा परीक्षण थालिनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । उनको कन्ट्याक ट्रेसिङमा संलग्नहरुले भने उनी बसेको घरबाटै संक्रमण फैलिएको हुनसक्ने शंका गरेका छन् ।

काठमाडौंका दुवै संक्रमित सशस्त्र प्रहरीसँग जोडिएका व्यक्ति हुन् । एक जना संक्रमित महिला अवकाश प्राप्त सशस्त्र प्रहरी जवान हुन् । उनका श्रीमान सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छन् । अर्का संक्रमित पुरुष पनि सशस्त्र प्रहरीकै जवान हुन् ।

सात स्वाबको नतिजाबाट स्रोत खुल्ने आश

दुवाकोटका सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएलगत्तै महानगरीय प्रहरी परिसर, भक्तपुरको समन्वयमा ७ जनाको स्वाब संकलन गरिएको थियो । जसमा उनकी श्रीमती, दुई जना बच्चा, हजाम, सब्जी मण्डीका सदस्य, भाडामा बस्ने व्यक्ति र मिस्त्री छन् ।

कन्ट्याक ट्रेसिङमा खटिएका एक अधिकृत भन्छन्, ‘उहाँले बाहिर कतै नगएको भन्नु भएको छ, त्यसैले कोबाट स¥यो भन्ने विषय खोज्न जटिल देखिएको छ ।’ यद्यपि, यसको उत्तर ७ जनाको स्वाबको रिपोर्टले दिनसक्ने अधिकृतहरुको विश्वास छ ।

‘घरमै भएका व्यक्ति र तरकारी पसल दुई मध्ये एकबाट सरेको हुनसक्छ’, एक अधिकृत भन्छन् । उनीहरु कसैको पनि पोजेटिभ नआए, स्रोत पत्ता लगाउने कार्य थप जटिल बन्न सक्ने अधिकृतहरु बताउँछन् ।

भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधान भने कन्ट्रयाक ट्रेसिङ लगायतका कार्य द्रुत गतिमा भइरहेको बताउँछन् ।

भक्तपुरकी संक्रमित २५ वर्षीय युवती सुनसरीको रामधुनी नगरपालिकाबाट २९ वैशाखमा काठमाडौं आएकी थिइन् । काकाको गाडीमा चढेर काठमाडौं आएकी उनको सम्पर्कमा आएकाको पनि खोजी भइरहेको छ ।

स्रोतका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्ससँग ‘रुम शेयर’ गरेर उनी बसेकी थिइन् । त्यसैले उनको स्वाब पनि परीक्षणका लागि प्रहरीले पठाएको छ । उनी कार्यरत अस्पताल पनि शिल गरिएको प्रहरीको भनाइ छ ।

उनको डेरा भएको घर र आसपासका क्षत्रेलाई पनि सिल गरिएको स्रोत बताउँछन् । उनले ड्यूटी सुरु गर्नुअघि कोरोना परीक्षण गर्र्न चाहेकी थिइन् । त्यही अनुसार आरोग्य फाउन्डेसनको एम्बुलेन्समा चढेर स्वाब परीक्षणका लागि टेकु गएकी थिइन् । त्यसयता उनी पाटन अस्पतालको आइसोलेसनमा थिइन् ।

त्यसैले एम्बुलेन्सका चालकसहित सहयोगीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइसकिएको स्रोतले बतायो । उनीसँग सम्पर्कमा आएका तेस्रो लेयरका व्यक्तिको पनि निगरानी भइरहेको ट्रेसिङमा संलग्न अधिकृतहरु बताउँछन् ।

काठमाडौं आउने क्रममा उनले सिन्धुलीमा खाजा पनि खाएको पाइएको छ । त्यसैले पसलका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिसकिएको छ ।

सशस्त्र प्रहरीका दुई जवानलाई मेयरको धन्यवाद !

सशस्त्र प्रहरीकी अवकाश प्राप्त र वहालवाला जवान भने एउटै गाडीमा काठमाडौं आएको खुलेको छ । वहालवाला जवान सशस्त्र प्रहरी अस्पतालका मेडिकल स्टाफ हुन् ।

उनीहरु सवार गाडीमा ८ जना थिए । ती सबैको परीक्षणका लागि स्वाब टेकु अस्पतालमा पठाइएको थियो, तीमध्ये दुई जनाको मात्र नतिजा पोजेटिभ आएको हो ।

संक्रमित जवान पुगेर फर्किएको नेपालगञ्जमा पनि जिल्ला प्रहरी कार्यालय, बाँके र जनस्वास्थ्य कार्यालयले ट्रेसिङको काम थालिसकेको छ । दुवै जना काठमाडौं आइपुगेर सेल्फ आइसोलेसनमा बसेका थिए र परीक्षणका लागि स्वाब दिएका थिए ।

‘उहाँहरुको सावधानीले रोग अन्यत्र फैलिन पाएन भन्ने हाम्रो आशंका छ’, एक अधिकृत भन्छन्, ‘चन्द्रागिरिका मेयर घनश्याम गिरि र महानगरीय प्रहरी वृत्त, चन्द्रागिरिका प्रमुखले पनि उहाँहरुलाई धन्यवाद दिनुभएको छ ।’ यो घटनाबाट विभिन्न जिल्लाबाट आएका अन्य व्यक्तिले पनि पाठ सिके कोरोना भाइरसको नियन्त्रणमा सरकारलाई सहयोग पुग्ने अधिकारीहरु बताउँछन् ।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदामा गएका कर्मचारीको कोभिड–१९ परीक्षणपछि मात्र ब्यारेकमा राख्ने गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?