Comments Add Comment

नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

केही दिनअघि आफूलाई भेट्न पुगेका केही मन्त्रीसँग नेकपा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए– पार्टी एकता लामो समयसम्म जान्छ भन्ने विश्वास त अब मलाई छैन । तर, पनि  पार्टी फुट्न नदिन पटक–पटक धोका पाए पनि यसपटक फेरि केपी ओलीलाई साथ दिएको हुँ । प्रधानमन्त्री बनाउँछन् भन्ने त मलाई छैन ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण भएको आज दुई वर्ष पुगेको छ । तर, यो एकता परसम्म जान्छ भन्ने नेकपाका नेताहरुलाई नै विश्वास छैन ।

२०७५ जेठ ३ गते स्वर्गीय मदन भण्डारीको शालिक अगाडि उभिएर केपी ओली र प्रचण्डले गरेका अधिकांश प्रतिवद्धताहरु यसबीचमा उनीहरुबाटै खण्डित भइसकेका छन् । त्यसैले पार्टी एकताको निरन्तरताप्रति शीर्षनेतामै अविश्वास छ ।

कमिटी प्रणालीबाट चल्ने कम्युनिस्ट पार्टी केही शीर्षनेताको लाभहानीमा केन्द्रित भएर चलाउन खोजेपछि विधि, पद्दति र लेनिनवादी संगठनात्मक संरचना समाप्त भएको टिप्प्णी नेकपाका नेताहरुले खुलेआम गरिरहेकै छन् ।

विगत २ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टी केपी ओली र प्रचण्डको वरिपरि घुमिरहेको छ । यी दुई मिल्दा अरु पेलिने र अरुलाई लिएर एकले अर्कोलाई पेल्ने दाउपेचमै कम्युनिस्ट पार्टीको २ वर्ष खेर गएको  छ ।

तीन महिनाभित्र पार्टी एकताका सबै काम टुंग्याउने भनिएकोमा ३ वर्षसम्म पनि एकीकरण प्रक्रिया टुंगिने छाँटकाँट देखिएको छैन । एकीकृत भएका भनिएका कमिटी र भातृ संगठनहरुको अस्थित्व पनि कतै देखिन्न ।

केन्द्रीय आयोगहरु र सल्लाहकार परिषदले पूर्णता पाएको छैन । ३३ वटा विभाग र प्रतिष्ठानहरुको एकीकरण भएको छैन । कतिपय भातृ संगठनको एकतानै भइसकेको छैन । भएका ठाउँमा पनि एक अर्को एउटै ठाउँमा बस्नै नसक्ने तहका विवाद छन् । एकीकरण नै सम्पन्न नहुँदा हजारौं कार्यकर्ता जिम्मेवारीविहीन र निराश छन् ।

जब कि कम्युनिस्ट पार्टीको सदस्य कुनै न कुनै कमिटीमा आवद्ध हुनैपर्ने अन्तर्राष्ट्रिय प्रचलन हो । तर, नेपाल कम्युनिस्ट पार्टीका हजारौं पार्टी सदस्य आज कतै संगठित हुन नपाएपछि सामाजिक सञ्जालका ‘साइबर वारियर’ बनेका छन् ।

तीन–तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पार्टी एकतापछि मुस्किलले दुई पटक बसेका छन् । केन्द्रीय कमिटी बैठक त कामको हिसाबले जम्मा एकपटक बस्यो । कम्युनिस्ट पार्टीमा नेतृत्वले बैठकहरु निरन्तर बोलाएर छलफल गर्नुपर्नेमा बैठक बोलाउनका लागि सदस्यहरुले लिखित निवेदन दिँदा पनि बस्न नसकेको विडम्वना नेकपामा छ ।

पछिल्लो केन्द्रीय कमिटी बैठकले २०७७ चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने र आगामी भदौदेखि स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु गर्ने निर्णय भएको थियो । सोही बैठकका निर्णयअनुसार प्रदेशस्तरीय भेलाहरु चलिरहेका बेला कोरोना भाइरसको महामारी फैलियो र नेकपाका सबै गतिविधि स्थगित भएका छन् । निर्धारित मितिमा अधिवेशन र महाधिवेशनहरु नहुने अब निश्चित छ ।

हुन त यसबीचमा पार्टीमा निकै ठूलो विवाद बढेका बेला केपी ओलीले माधव नेपालसँग मिल्नका लागि अग्रिम महाधिवेशनको प्रस्ताव समेत राखेका थिए । तर नेपालले ठाडै अश्वीकार गरेको ‘अर्ली महाधिवेशन’ सम्भव थियो त ? नेकपाका नेताहरुका अनुसार ‘अर्ली महाधिवेशन होइन, लेट महाधिवेशन’ पनि सम्भव छैन । पहिलो कुरा त पार्टी एकतै भइसकेको छैन, दोस्रो सदस्यताकै टुंगो छैन ।

तत्कालीन एमालेका संगठित सदस्यहरुको विवरण विद्युतीय प्रणालीमा रहेकाले उनीहरुको तीनपुस्ते विवरण निकाल्न कुनै अप्ठेरो छैन । तर, तत्कालीन माओवादीको पार्टी सदस्य संख्या नै कति हो भन्ने मौखिक कुरा बाहेक कागजात कुनै पेश गरिएका छैनन् । सदस्य संख्या नै नभई अधिवेशन हुने कुरै रहेन । बामदेव गौतम नेतृत्वको संगठन विभागमा सदस्यको विवरण नै अद्यावधिक छैन ।

सदस्य संख्या र पार्टी संरचनाका बारेमा नेकपा एकीकरण अघि एउटा कार्यदलमा भएको छलफल नेकपा पंक्तिमा अहिले पनि चर्चित छ । कार्यदलको बैठकमा तत्कालीन एमालेका सुरेन्द्र पाण्डेले माओवादी पक्षका नेतालाई ‘तपाईहरुको पार्टी सदस्यता लगायतका विवरणहरु के छन् हेरौं न त’ भन्दा कृष्णवहादुर महराले विवरण खोज्न थाल्नुभयो भने पार्टी एकता नै हुँदैन भनेका थिए रे ।

पाण्डेहरुसँग महराले ‘हाम्रो पार्टी त प्रचण्डले छ भनेको दिनसम्म रहन्छ, विघटन भयो भनेका दिन रहँदैन’ भनेको त्यसबेला चर्चित संवाद थियो । वास्तवमा पार्टी एकताकै बेला पाण्डेले भनेका थिए, संगठनात्मक संरचना र पार्टी कमिटी सन्चालनका सन्दर्भमा हामी तत्कालीन माओवादीको बाटोमा गयौं भने सर्वनाश हुन्छौं ।

पार्टी एकताका बेला विश्लेषकहरुले भनेजस्तै तत्कालीन एमालेको रहरलाग्दो र संरचनागत संगठन प्रणालीलाई नेकपाले अँगालेर निरन्तरता दिएको भए आजको जस्तो शून्यताको अवस्था आउने थिएन । एमाले बाँचेकै प्रणालीगत संगठनात्मक संरचनाका कारण थियो । तर, अहिले पार्टी एकताअघि चार हजार बढीको केन्द्रीय कमिटी र तल्ला कमिटीहरु भंगको अवस्थामा रहेको माओवादीको हालतमा आजको नेकपा पुगेको छ ।

विगत २ वर्षदेखि नेकपाको संगठन संरचना इतिहासकै सबैभन्दा भद्रगोल र लथालिंग अवस्थामा पुगेको छ । पार्टीमा कमिटीगत प्रणाली नरहेपछि अनुशासनहीनता र अराजकताले दुनियाँलाई रमिता मिलेको छ । नेकपाका शीर्ष तहका नेताहरु सामाजिक सन्जालबाट एकले अर्कोविरुद्ध कुनै मर्यादा र सीमाहरु नराखी आरोप प्रत्यारोप गरिरहेका छन् ।

पार्टीका मुख्य नेताहरुले नै विधि, पद्दति र अनुशासन पालना नगरेपछि अरुले के गरे भनेर अनुगमन गर्नुको औचित्य नहुने अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा बताउँछन् । नेकपामा अनुशासनहीनता र अराजकताको मूल स्रोत नै सचिवालय हो भन्ने बोहोराको ठम्याई छ ।

सचिवालयभित्र पनि दुई अध्यक्ष र दुई अध्यक्षमध्ये पनि प्रधानमन्त्रीसमेत रहेका पहिलो अध्यक्षबाटै विधि पालनाको शुरुवात भएमात्र अरुलाई अनुशासनमा राख्न नैतिक आधार हुने उनको भनाइको सुनुवाई हुँदैन । त्यसैले त सचिवालय बैठकले गत भदौमा पार्टीको नीति र नेतृत्वविरुद्ध सार्वजनिक रुपमा बोल्न नपाइने भनि गरेको निर्णय एउटा मजाकका रुपमा अश्वीकृत भयो ।

संगठनमा सुरेन्द्र पाण्डेले भनेजस्तै सर्वनाशको बाटोमा रहेको नेपाल कम्युनिस्ट पार्टी विचारमा वर्णसंकर बनेको छ । कम्युनिस्ट पार्टी बन्ने र विघटन हुने भनेकै विचारको बहसले हो । निश्चित विचारका आधारमा कम्युनिस्ट पार्टीमा मान्छेहरु संगठित हुन्छन् । तर, आजको नेकपाको बिचार के हो ? टालटुल पारेर बनाइएको राजनीतिक दस्तावेजको न कुनै ब्याख्या भएको  न त बहस नै ।

अविश्वास र अस्थिरताको परिचय बोकेका नेताहरुको गठजोडले न त सरकार बलियो हुन्छ, न त नेपाल कम्युनिस्ट पार्टी नै । जनमतको कदर नगर्दा र जनआकांक्षा पूरा नगर्दा कम्युनिस्ट पार्टी कसरी समाप्त हुन्छन् भन्ने दृष्टान्त खोज्न धेरै टाढा जानुपर्दैन, भारतको पश्चिम बंगाल नै काफी छ

मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त भनेको नेकपाले अन्तरिम विचारका रुपमा ‘जनताको जनवाद’ भनेको छ । तत्कालीन एमालेले २०४९ देखि अँगाल्दै आएको जनताको वहुदलीय जनवाद र तत्कालीन माओवादीले भनेको एक्काइशौं शताब्दीमा जनवादको अभ्यास अहिले स्थगनमा छन् ।

एमालेले जबजलाई विचार वा कार्यक्रमभन्दा माथि मार्गदर्शक सिद्धान्त बनाएको थियो । अहिले नेकपाले आफ्नो तत्कालीन कार्यक्रम अर्थात विचार जनताको जनवाद भने पनि त्यसको कुनै व्याख्या छैन । जबजका आधारभूत मान्यतालाई ‘कपी पेष्ट’ गरेर नाम जनताको जनवाद राखिएको छ ।

त्यो पार्टी एकताको बेलाको राजनीतिक दस्तावेजमात्र होइन, कुनै कार्यक्रम वा बिचार होइन । बर्णसंकर बिचारले कम्युनिस्ट पार्टीको गन्तव्य तय हुँदैन । जबज र एक्काइसौं शताव्दीको जनवादको कार्यक्रमबाट तानतुन पारेर बनाइएको सम्झौताको राजनीतिक प्रतिवेदन कम्युनिस्ट पार्टीको विचार हुन नसक्ने नेताहरु नै स्वीकार गर्छन् ।

अहिले नेकपामा विचारको बहस खुला भइसकेको छैन । महाधिवेशनमा विचारको बहस खुला भएपछि पूर्वएमालेतर्फबाट जनताको बहुदलीय जनवादको च्याप्टर पुनः खुल्ने निश्चित छ । अहिले नदीको दुई किनारा जस्ता भएका केपी ओली, माधव नेपाल र वामदेव गौतमलाई जबजले एकै ठाउँमा ल्याउने दाबी ती नेताहरुको छ ।

पूर्वमाओवादीबाट जबजको विकल्पमा अर्को विचार आउँछ वा सत्ता राजनीतिमा पूर्वएमालेभित्र अहिले खेलेजस्तै प्रचण्डले विचारको बहसमा पनि पूर्वएमालेलाई दुई धारमा बिभाजित गरेर आफू हाबी हुन्छन् ? अहिले नै भन्न सकिन्न । किनकि जबजसँग ओली, नेपाल र गौतमको गहिरो नाता छ ।

नेकपाका एक सचिवालय सदस्यले केही दिनअघि पार्टी फुट्ने अवस्थाको पूर्वसंकेत गर्दै यस पंक्तिकारसँग भनेका थिए, ‘यसपटक केपी ओली जोगिए, अहिलेको लडाइ व्यक्तिको व्यवस्थापनको हो । अब महाधिवेशनको बहस शुरु भएपछि विचारका आधारमा नेताहरुको कित्ताकाट हुन्छ । त्योबेला सचिवालयमा रहेका पूर्वएमालेमध्ये झलनाथबाहेक सबैलाई जबजले एकै ठाउँमा ल्याउँछ ।

उनको विश्लेषण अनुसार नेकपामा विचारको बहस हुनासाथ सचिवालयका नेताहरुको अहिलेको समीकरण भंग हुन्छ । अहिलेको समस्याचाहिँ केपी र प्रचण्डको इगो तथा अविश्वासकै हो । केपी र प्रचण्ड एकले अर्कोलाई जित्न पनि नसक्ने र हार्न पनि नमान्ने अवस्थामा रहेका कारण नेकपा अकर्मन्य अवस्थामा पुगेको हो ।

ती नेताले भन्छन्– दुई अध्यक्षबीच अविश्वास यति चरम भएको छ कि कुनै पनि कुरामा विश्वास नै छैन । अझ प्रष्ट भन्ने हो भने अहिलेको अवस्थामा उनीहरुले चाहेर पार्टी अलग गर्न पनि सक्दैनन् र सँगै जान सक्ने अवस्थामा पनि छैन । उनीहरु जुन शक्तिमाथि उभिएका छन्, त्यो विभाजनको पक्षमा छैन ।

पार्टी एकताको बितेका दुई वर्षका बीचमा नेकपाको उर्जा पार्टी र राष्ट्रको उन्नतिको पक्षमा प्रयोग गर्न नेकपा नेतृत्व सर्वथा चुकेकै हो । आफ्नो आन्तरिक जीवन र एकता बलियो बनाउन नसक्ने पार्टीले देशको एकता र जनजीवन बलियो बनाउन कति भूमिका खेल्न सक्छ ? यो प्रश्नले ओली र प्रचण्डलाई लखेटिरहने छ ।

८ लाख भन्दा बढी जुझारु संगठित कार्यकर्ता, दशौं लाख समर्थक, शुभेच्छुक पंक्ति र करीव दुईतिहाई जनताको मतको शक्तिप्राप्त कम्युनिस्ट पार्टी यति लाचार हुनसक्छ ? आज नेकपा सरकारको अलोकप्रियता र जनतामा सरकारप्रति निराशाको मूल जड पनि पार्टी एकता भावनात्मक रुपमा नहुनु र संगठन प्रणाली समाप्त हुनु नै हो ।

नेकपाको अहिलेको अवस्था भनेको एमाले र माओवादीको अस्थित्व समाप्त भएको, तर नेपाल कम्युनिस्ट पार्टीले जनतामा अस्थित्व स्थापित गर्न नसकेको संक्रमणकाल हो । पार्टी एकताको अगुवाइ गर्ने ओली र प्रचण्डले एक अर्को विरुद्ध दाउपेचमा अधिकांश समय खर्चिएका कारण नेकपाको शक्ति खेर गयो । त्यसको असर सरकारका काम र अन्ततः मुलुकको अग्रगतिमा पर्ने नै भयो ।

सरकारलाई जनआकांक्षा अनुसार रफ्तारमा अघि बढाउनुपर्ने बेला प्रधानमन्त्री हरेक दिन पार्टीभित्रका समीकरण बनाउन र भत्काउन केन्द्रित हुनुपर्ने अवस्था दुई तिहाई हाराहारी जनमतको अपमान हो । यसबीचमा प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रसमेत विश्वास जित्न नसक्दा उनले भन्ने गरेको समृद्धिको यात्रा गन्तव्यमा नपुग्दै टुंगिने त होइन ?

पहिलो बरियताको अध्यक्ष र प्रधानमन्त्रीको मुख्य सिटमा रहेकाले यो प्रश्नको समाधान खोज्न केपी ओली नै अग्रसर हुनुपर्छ । कि त उनले पार्टी एकताको अर्को हस्ताक्षरकर्ता भएकाले प्रचण्डलाई विश्वासमा लिन सक्नुपर्छ । होइन भने पूर्वएमालेको झगडामा प्रचण्डलाई खेल्न नदिई कम्तिमा माधव नेपाललाई विश्वासमा लिन सक्नुपर्छ ।

होइन, बहुमत प्राप्त पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन आफ्नै सांसदको हस्ताक्षर संकलन गर्नुपर्ने अवस्था आइरहन्छ र त्यो दीर्घकालीन समाधान होइन । सचिवालयका नेताहरु स्वार्थ समूह बनेका कारण नेकपाको संगठनात्मक पद्दति र वैचारिक दिशा धराशायी हुँदै गएको छ ।

अविश्वास र अस्थिरताको परिचय बोकेका नेताहरुको गठजोडले न त सरकार बलियो हुन्छ, न त नेपाल कम्युनिस्ट पार्टी नै । जनमतको कदर नगर्दा र जनआकांक्षा पूरा नगर्दा कम्युनिस्ट पार्टी कसरी समाप्त हुन्छन् भन्ने दृष्टान्त खोज्न धेरै टाढा जानुपर्दैन, भारतको पश्चिम बंगाल नै काफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment