Comments Add Comment

सरकारी खाता साढे ५६ अर्ब घाटामा

५ जेठ, काठमाडौं । राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्चवृद्धिका कारण बैङ्किङ कारोबारमा आधारित सरकारको वित्तस्थिति घाटामा गएको छ ।

नेपाल राष्ट्र बैङ्कको चैत मसान्तसम्मको तथ्यांकअनुसार सरकारी खाता ५६ अर्ब २८ करोड घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा यसअवधिमा सरकारी खाता १७ अर्ब २९ करोड बचतमा रहेको थियो ।

आँकडाअनुसार बैङ्किङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकि चेकबाहेक) संघीय सरकारको कुल खर्च ६३८ अर्ब १ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा सरकारी खर्च ५९६ अर्ब ६२ करोड रहेको थियो ।

आम्दानी भने नराम्रोसँग खुम्चिएको छ । यस वर्ष सरकारले नौ महिनामा ५९० अर्ब ७६ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । गत आवको यसै अवधिमा ६०४ अर्ब ६० करोड रुपैयाँ संकलन गरेको थियो ।

खर्च चलाउन ऋणको भर

सरकारले चैत महिनासम्म एक खर्बभन्दा बढी ऋण लिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस अवधिमा सरकारले ५५ अर्ब ४२ लाख आन्तरिक ऋण लिएको छ । ४५ अर्ब ७८ करोड रुपैयाँ भने बाह्य ऋण परिचालन भएको छ ।

चैत मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा सरकारका विभिन्न खातामा एक सय ६२ अर्ब ३१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment