+
फिफा विश्वकप २०२६ :

सुपर सब रामोसको गोलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

२०८३ असार  १९ गते ७:०१ २०८३ असार १९ गते ७:०१

क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसको गोलमा पुनरागमन जित निकाल्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।

१९ असार, काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।

पोर्चुगलले अब अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

टोरन्टोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा गोल. पेनाल्टी कमब्याक सबै सम्भव भयो ।

इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए ।

त्यसपछि पोर्चुगल बराबरी गोल फर्काउने प्रयासमा रह्यो । ५८औं मिनेटमा राफेल लिआओको प्रहार बारमा लागेर फर्कँदा पोर्चुगलले बराबरी गर्ने मौका गुमायो ।

तर कप्तान क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए । क्रोएसियाका भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए ।

जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे ।

यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो । यसअघि उनले समूह चरणमा उज्वेकिस्तान विरुद्धको खेलमा दुई गोल गरेका थिए ।

विश्वकपमा रोनाल्डोको यो ११औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा नवौँ स्थानमा छन् ।

रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेका छन् ।

रोनाल्डोको गोलपछि खेलमा पुनरागमन गरेको पोर्चुगलले त्यसपछि क्रोएसियामाथि लगातार दबाब बनाएको थियो ।

निर्धारित समयमा १-१ को बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेड मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसपछि क्रोएसियाले इन्जुरी टाइममा फेरि बराबरी गोल फर्काएपनि भिएआरले मान्यता दिएन र पोर्चुगल विजयी भयो ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय